Author Details

  • रामकुमार पाँडे Total Record 16

    नेपाली हास्यव्यङ्ग्य निबन्ध लेखनमा समर्पित रामकुमार पाँडेको जन्म वि.सं. २००३ साल असार २५ गते ललितपुरस्थित जाउलाखेलमा भएको हो । उनको न्वारनको नाम चाहि“ चिरन्जीवी वीर विक्रम पाँडे भएता पनि ‘रा.कु.पा.’, ‘टप्परटुइया“’, ‘काजी’, ‘कुरापा’, ‘औतार’, ‘काका’, ‘धतुखानजी’, ‘रा.कु. जेठो’ ‘ज्वाईं’, ‘घन्टाउके’, ‘लाटीको पोइ’, ‘लवारपाँडे’ आदि पचासौं नामले दर्जनौं हास्यव्यङ्ग्य कृति जन्माइसकेका पाँडे स्वयम पाँडेपुराणका प्रणेता मानिन्छन् । भूगोल विषयमा स्नातकोत्तर उपाधी ग्रहण गरेका पाँडेको पहिलो हास्यव्यङ्ग्य निबन्ध ‘म आग्लो भए“’ २०१८ सालमा प्रकाशित भएको थियो । प्राध्यापनलाई पेशाको रुपमा स्वीकारी हालसम्म प्राध्यापनरत पाँडेको पहिलो हास्यव्यङ्ग्य कृति भने ‘ख्यालख्याल’ (२०२३) हो । त्यसपछि क्रमशः ‘सञ्चै छ ?’ (२०२५) ‘खप्पर’ (२०३६), ‘रसरङ्गी’ (२०४२), ‘तालबेताल’ (२०४९) र ‘१०१ हास्यव्यङ्ग्य’ (२०५०) प्रकाशित भएका छन् ।
    “शास्वत सत्य अर्थात् सार्वभौमिक विसङ्गति नै हास्यव्यङ्ग्यको बिन्दु विषय हो । लेखकीय इमान्दारी बिनाको हास्यव्यङ्ग्य सिस्नुको घारी वा लाटीको सारी हो । गहिरो अन्तदृष्टि, निर्भीक अभिव्यक्ति, बौद्धिक प्रखरता र भाषाशैलीय विशिष्टताको कारण हास्यव्यङ्ग्य श्रेष्ठ साहित्यिक भएको छ । ...हास्यको हलुवा व्यङ्ग्यको वारुदयुक्त व्यङ्ग्य विनोदको सन्तुलित साहित्य नै हास्यव्यङ्ग्य हो । (रामकुमार पाँडे, १०१ हास्यव्यङ्ग्य, रत्न पुस्तक भण्डार) । भन्ने कुरा बताउने पाँडेको मूलकर्मभूमि हास्यव्यङ्ग्य निबन्ध नै हो । गुप्तक तथा कवितामा पनि हास्यव्यङ्ग्य सिर्जना गर्न रुचाउने पाँडेको सफला भने एकदमै अन्तरनिहित देखिन्छ । ...उनका प्रकाशित व्यङ्ग्य निबन्धहरूलाई कालक्रमिक रुपबाट हेर्दा, उनको निबन्धकलामा व्यङ्ग्य चेतना क्रमशः तिखारिंदै आएको, अभिव्यक्ति शिल्प माझिदै र कथ्य वा विषयवस्तु सापेक्षिक रुपमा टड्कारिंदै आइरहेको प्रतीत छन् । ‘ख्यालख्याल’ (२०२३) ‘बाबुको बिहे’ (२०३०) जस्ता हास्यव्यङ्ग्यहरूमा समाजका रुढिवादी, कुसंस्कार कुप्रथा, तिनबाट जन्मेका विकृति विडम्बनाहरूमाथि व्यङ्ग्य गर्ने प्रवृत्ति देखापर्छ भने ‘बाह्र मज्जा’ (२०३०) जस्ता बीचका निबन्धहरूमा राजनीतिक व्यङ्ग्य पनि मिसिएको छ । आत्मपरक, वस्तुपरक र कथात्मक शैली समेत अवलम्बन गरिएकोले पाँडेमा शैलीगत विविधता पाइन्छ । (राजेन्द्र सुवेदी÷हीरामणि शर्मा, पूर्ववत्, पृ. १०२ ।) उनका निबन्धमा सामाजिक र राजनैतिक र वैयक्तिक तिनैथरी व्यङ्ग्य छ । सामाजिक व्यङ्ग्य भएका निबन्धहरूमा जनमानसमा जमेका रुढिगत मान्यता र संस्कार छर्लङ्गिएका छन् भने राजनीतिक प्रशासनिक विसङ्गतितर्फ लक्षित व्यङ्ग्यले प्रथभ्रष्ट नेताका द्ुराचार र भ्रष्टाचारको रहस्योद्घाटन गरेका छन् । आफ्नै ओरिपरिको सामाजिक परिवेशबाट कुनै एक विषय छान्नु र त्यसको पुष्ट्याईंका लागि आदरमय दृष्टान्तहरू दिएर निबन्धको बिटमार्नु निबन्धकार रामकुमार पाँडेको निजी विशेषता हो । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा, पूर्ववत्, पृ. १०३ ।) सङ्ख्यात्मक र गुणात्मक दुवै हिसावले हास्यव्यङ्ग्य सिर्जनामा तल्लिन पाँडेले हास्यव्यङ्ग्य सिर्जनामै झण्डै चार दशक बिताइसकेका छन् र अझै क्रियाशील छन् । उनको यो क्रियाशीलता र लामो समयदेखिको निरन्तरताले नेपाली हास्यव्यङ्ग्यको आधुनिक काललाई समृद्ध बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।
    ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८) बाट जस्ताको तस्तै