Author Details

  • विमल निभा Total Record 164

    आधुनिक कालको नेपाली हास्यव्यङ्ग्य निबन्ध र व्यङ्ग्य कविताका क्षेत्रमा सुपरिचत विमल निभाको जन्म २००९ सालमा नेपालगन्जमा भएको हो । २०२५ सालदेखि साहित्यिक लेखनमा कलम चलाउन आरम्भ गरेका निभा व्यङ्ग्य निबन्धकारका रुपमा आफ्नो मौलिक छवि कायम राख्न सफल छन् । स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका निभाको साहित्यिक संलग्नता व्यङ्ग्य निबन्धका अतिरिक्त व्यङ्ग्य कवितामा पनि उतिकै प्रभावकारी देखिन्छ । उनी समकालीन नेपाली कविता परम्परामा व्यङ्ग्य विद्रोहका कवि मानिन्छन् । २०३५ देखि २०४० को अवधिमा सिर्जना भएका तीसवटा गद्यकविताहरुको सङ्ग्रह ‘आगोनेर उभिएको मानिस’ (२०४०) मा समकालीन युग जीवनका सामाजिक आर्थिक विडम्बना र राजनैतिक विद्रोह र सामाजिक चेतनाको उद्बोधन निभाका व्यङ्ग्यधर्मी कविताहरुको मूलभूत प्रवृत्ति मानिन्छ । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा– नेपाली हास्यव्यङ्ग्य निबन्ध, साझा प्रकाशन, दो.सं.२०५१, पुल्चोक ललितपुर।)
    साहित्यिक सिर्जनाका दृष्टिले व्यङ्ग्य निबन्ध र व्यङ्ग्य कवितामा मात्र सक्रिय विमल निभाको व्यङ््ग्य निबन्धकृतिका रुपमा ‘चौथो कालम’ (२०४६) प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा सैयौंको सङ्ख्यामा फुटकर रचनाहरु छरिएर रहेका छन् । लघु आकारमा रहेका उनका निबन्धहरु समसामयिक राजनीतिक विसङ्गतिलाई उधिन्दै तीव्र व्यङ्ग्य प्रक्षेपणमा केन्द्रित रहेका छन् । ‘चौथो कालम’ निबन्ध सङ्ग्रह र यसपछिका उनका फुटकर व्यङ्ग्य निबन्धहरुमा चोरी, तस्करी भ्रष्टाचार जस्ता राष्ट्रिय दुष्कर्म र दुराचारहरु छर्लङ्गिनुका साथै राजनीतिलाई ठगीखाने भाँडो बनाउनेहरुका छद्मव्यक्तित्वको मुखुण्डो पनि उघ्रेको छ । उनका व्यङ्ग्य रचनाहरुले देशको राजनीति, अर्थतन्त्र व्यापार, साहित्य, कला संस्कृति, दर्शनजस्ता विविध विषयवस्तुलाई समेटेका छन् र तिनमा विकृतिग्रस्त समकालीन जीवनको त्रासद स्थिति उदाङ्गिएको छ । व्यक्तिका स्वाभावगत क्षूद्रता, क्रूरता र चारित्रिक कमजोरीदेखि लिएर राष्ट्रिय दुष्कर्म र दुराचारमाथि व्यङ्ग्यपूर्ण उपहास उडाउन व्यङ्ग्य निबन्धकार विमल निभा प्रयत्नशील देखिन्छन् । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा, पूर्ववत्, पृ.१२४ ।)
    वर्तमान स्थितिमा विभिन्न साप्ताहिक तथा दैनिक अखवारहरुका व्यङ्ग्यस्तम्भ मार्फत् निरन्तर व्यङ्ग्य रचना लेखिरहेका विमल निभाको पछिल्लो चरणको लेखनमा प्रवाहमय तीव्रता केही खस्केको महसूस हुन्छ । अखवारी लेखन र साप्ताहिकी घटना–प्रस्तुतिको प्रभावले यस्तो असर पारेको हुनसक्छ । यद्यपि निभाका व्यङ्ग्य निबन्धहरु आकारमा छोटा हुन्छन्, वाक्यरचना सरल भएकाले तिनको कथ्य सहज सम्पे्रषणीय हुन्छ, तिनमा हलुका खालको विनोदप्रियता वा हास्यतत्व र व्यङ्ग्यचेत प्रखर हुन्छ । छोटा भइकन पनि सारगर्भित कथ्य प्रस्तुत गरी भित्री तहसम्म छिचोलेर लक्षभेदन गर्नु विमल निभाका व्यङ्ग्य रचनाको खुवी हो । तर्कपूर्ण अभिव्यक्ति, वस्तुपरक व्यङ्ग्य, सरल वाक्य रचना, सार्थक कथ्य, विश्वसनीय प्रस्तुति, सहज सम्प्रेषणीयता र रमरम विनोदप्रियता जस्ता विशेषताहरु पनि विमल निभाका व्यङ्ग्य रचनाहरुमा पाइन्छन् । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा, पूर्ववत्, पृ.१२५ ।) २०५७ को साहित्यसन्ध्या पुरस्कारद्वारा सम्मानित निभा हास्यव्यङ्ग्य लेखनमा उर्जाशील भएर निरन्तर लागिरहेका छन् । निभालाई २०६९ को भैरव पुरस्कारबाट सम्मानित गरिएको छ ।
    (नेपाली हास्यव्यङ्ग्य– २०५८ बाटं)