Author Details

  • चूडामणि रेग्मी Total Record 254

    ‘व्यङ्ग्य ऋषि’, ‘म’, ‘गफाडी’, ‘आकाश’, ‘ज्ञानी’, ‘चमेरे’, ‘कुरौटे’, ‘चुमरे’ आदि उपनामद्वारा २०१२ सालदेखि नै हास्यव्यङ्ग्य शैलीमा अवतरित चूडामणि रेग्मीको जन्म वि.सं. १९९३ साल चैत २ गते भएको हो । पिता पीताम्बरा रेग्मी र माता सितोश्वरी रेग्मीका सुपुत्र चूडामणि लामो समय प्राध्यापन पेशामा संलग्न रही अहिले सेवानिवृत्त रहेका छन् । अङ्ग्रेजीमा स्नातक र साहित्यमा आचार्यसम्मको औपचारिक शिक्षा ग्रहण गरेका रेग्मी देवकोटा, भैरव अर्याल र केशवराज पिंडालीलाई मन पराउँछन् । २००८ सालमा राहुल सांकृत्यायन र महाकवि देवकोटालाई देवपतनमा भएको एक कविगोष्ठीमा भेटेपछि साहित्य सिर्जनातर्फ आफू प्रेरित भएको बताउँछन् रेग्मी । (हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, पूर्ववत्, पृ.१३ ।) पुरानो पत्रकारको रुपमा समेत सुपरिचित चूडामणिको डुलफिर गर्ने, साहित्यिक पत्रपत्रिका सङ्कलन गर्ने, राम्रा कलम र राम्रा कपीहरू देखेपछि किनिहाल्ने शोख रहेको छ । रेग्मी महानन्द पुरस्कार २०४८, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, भैरव पुरस्कार २०५२ द्वारा सम्मानित भइसकेका छन् ।
    नेपाली साहित्यको इतिहासमा स्थापित इतिहास झर्रोवादी आन्दोलनका अनुयायी रेग्मीको झापा चन्द्रगढीस्थित आफ्नो निवासलाई नै झर्रो निवास नामाकरण गरेका छन् । गद्य र पद्य दुवैमा समान रुपले कलम चलाउने रेग्मीका धेरै हास्यव्यङ्ग्य रचना पत्रपत्रिकामा छरिएर रहेका छन् । गद्यमा लेखिएका उनका हास्यव्यङ्य रचनाहरूको सङ्कलन कृतिका रुपमा नदेखिए पनि ‘गजवाष्टक १०८’ (२०५१) पद्य कृति प्रकाशित भएको छ । झर्रो अभिव्यक्तिलाई रुचाउने रेग्मी पद्यमा पनि लौकिक छन्दप्रति बढी आकृष्ट छन् । ‘गजबाष्टक’ मा सङ्कलित १०८ वटा भने सवाइको १६ अक्षरे पङ्क्ति र ८/८ श्लोकमा अटाएका छन् । ‘युगज्ञान’ मा २०२९ सालदेखि २०४८ सालसम्म प्रकाशित अनगिन्ती टुक्राहरूमध्ये १०८ वटालाई मात्र छनौट गरी यसमा सङ्कलन गरिएको छ ।
    ‘गजवाष्टक’ का कविताहरूमा समसामयिकता छ र मूलतः पञ्चायतकालीन विविध क्षेत्रका विकृत रूपलाई पर्दाफास गरिएको छ । चूडामणि रेग्मीले सामाजिक जीवनमा प्रचलित खिसीट्यौरी गर्ने पद्धति, घतलाग्दा उखानटुक्काको प्रयोग गर्दै फट्याइँ गर्ने, उल्लु बनाउनेहरूलाई, पाजी लठुवा, शोषक, पिराहा, जाली, ठालू हुन खोज्ने, हुलहुज्जत गर्ने, लीला गर्ने, पोको बोक्ने, भोज मोज गर्ने आदि उपेक्षाबोधक शब्दले विशेषित गर्दै उछितो गर्नु मात्र होइन त्यस्ता बुझेर बुझ पचाउने लबस्तराहरूलाई समाजका सामु खिल्ली उडाएका छन् । (द्रोणकुमार उपाध्याय, भूमिका टिप्पणी, गजवाष्टक १०८, पृ. १२० ।)
    सरलताका पक्षपाती रेग्मी आफ्ना रचनामा विम्ब र प्रतीकहरूको प्रयोग गर्दा पनि सर्वसाधारणले सजिलै बुझ्न सक्ने किसिमले प्रयोग गर्दछन् । जनजिव्रोका उखानटुक्का र थेगो समेतलाई सरलता र कुशलतापूर्वक कवितामा ओरालेर विकृतिका नायकहरूलाई स्वादिलोसँग चड्कन हान्नु चूडामणिका पद्यमय व्यङ्ग्यको मूलभूत विशेषता हो । गम्भीर आलोचना हुँदाहुँदै पनि प्रस्तुतिको तिख्खरता र जनपक्षीयको आवेग भुल्भुलिँदा भुल्भुलिँदै पनि हलुका लयात्मकता र झ¥याईं मिश्रित भाषिकताको सिलोक कथाइ र बाह्य आवरणमा स्वच्छन्द बग्न पायो यसले, ठटाउन पायो ढन्डेसो खुस्कुन्जेल रुढिवादलाई यसले र दगल्च्याउन, लत्याउन र लछार्न पायो बेस्मारी प्राधिकारीवादलाई यसले, प्रतिगामीतालाई यसले, पञ्चमाङ्गितालाई यसले । (तारानाथ शर्मा, भूमिका, गजवाष्टक १०८, पूर्ववत्, पृ. १२३ ।) यस्तै विशेषता र वैशिष्ट्यिले पूर्ण चूडामणि रेग्मी हास्यव्यङ्ग्य शैलीमा रचना सिर्जना गरी हास्यव्यङ्ग्यको श्रीबृद्धिमा अहिले पनि सिर्जनशील र सक्रिय छन् ।
    (‘नेपाली हास्यव्यङ्ग्य’– २०५८ बाट जस्ताको तस्तै)