Author Details

  • मनोज लामिछाने Total Record 24

    प्रश्न :

    मनोज भाइ,

    मलाई फुटबलको तर्कुल्ले फु त के, बिल्कान्ने फ सम्म पनि आउँदैन । हेर्ने लेठो लिएको पनि छैन । तै पनि सहकर्मीहरूले ‘तेरो कुन टिम’ भनेको बेला काम लाग्छ भनेर कुनै एउटा टिमलाई समर्थन गरेको थिएँ । आज त आफ्नै टिमको नामै पो बिर्सेछु । साँची, तिम्रो चाहिँ कुन टिम पर्यो होला कोन्नि । यसो नाम पाए सापट चलाउन मिल्थ्यो कि भनेर... ।

    उही तिम्रो भलो चाहने,
    पुरानो गुरु

     

    उत्तर :

    गुरु, नमस्कार !
    सात–आठ किलाँस पास भएदेखिन् तपाईंसँग भेट भएको छैन । आज सम्झनुभएछ, औधी खुशी लाग्यो । इस्कुले बुद्धिका मेरा कयौं गुइँठे प्रश्नका जवाफ तपाईंले एक्कै फाँको खैनीको भरमा दिने गर्नुहुन्थ्यो । तर आज तपाईंको एउटै प्रश्नले मेरो त कपाल नै पो चिलाएर आयो । कन्याउँदै उत्तर दिन्छु । मिस्टेक फेला परेमा सच्याएर पढी दिनुहोला ।

    उत्तर के भने गुरु, फुटबल खेल्न त मलाई पनि फुट्टी आउँदैन, हेरेको चाहिँ अलिअलि बुझ्दछु । हजुरले मलाई पढाएको हाम्रो गाउँको सर्खारी इस्कुलमा फुटबल भन्ने जिनिस् थिएन । अलि बलिया–बाङ्गा साथीहरू भलिबल खेल्थे । कुनै सरको नाता परेको छ भने लुतेलाङ्ग्रेले पनि यदाकदा चानस् पाउँथे । तर मसँग कहिल्यै पनि माथिको दुबै योग्यता पुगेन । प्रायः अन्तिम पिरेटमा शारीरिक सिछ्या पढाइ हुन्थ्यो, र सोही पिरेट्मा हप्ताको एक पटक तातो आलु खेलाइन्थ्यो । तातो आलु खेल्ने भनेपछि हामीहरू फुरुङ्ग भएर गोलाकार बस्थेम् । घचेटमराई गर्थेम्, पिसाप फेर्न पनि बिर्सन्थेम् । आधा घण्टा जति उभिँदा ३–४ पटक सम्म भकुण्डो छुने सुअवसर प्राप्त हुन्थ्यो । मेरा लागि फुर्बल, भालेबल, बास्केटबल.. जे भने पनि त्यहि र त्यति नै सम्पूर्ण हुने गर्दथ्यो ।

    गुरु, मैले पनि केहि वर्र्ष अगाडिको विश्व कपताका इज्जेतकै लागि हेर्न सिकेको हूँ । त्यसपछि बानी लागेकाले हिजोआज त विश्वकप भन्यो कि हेरेको हेर्यै गर्छु । यो गएको २–३ हप्तामा कुन–कुन देशको टिमलाई समर्थन गरेँ, सम्झेर साध्य छैन । कति पटक त आफ्नु टिमले झेल्ली खेल्न थालेकाले त्यसलाई तु... रेडकार्ड दिएर अर्कोलाई समर्थन गरेको छु, धेरैचोटी । र भोलिखेर त्यो पनि प्रायः बिर्सन्छु । म पनि के कम र, हजुरकै चेलो न हूँ । ए, तँ पनि ताइ न तुइको दर्शक पो रहेछस् भन्नुहोला, त्यो पनि ठिकै हुन्छ, गुरु । किनभने मेरो स्तरका ठट्टा पर्सादहरूले समर्थन वा नसमर्थन गर्नुले विश्वकपलाई कुनै फरक पर्दैन । जित्नेले जित्छ, हार्नेले हार्छ । यत्ति हो, सबैभन्दा राम्रो खेल्नेले जितेर जाओस्, सबैसंग मायाँ लाओस् ।

    सक्रिय दर्शक भएर पनि सक्रिय समर्थक नबन्नुको अर्को रणनीतिक फायदा पनि छ, गुरु । त्यो के भने आफ्ना मान्छेहरू सबैतिर बाँडिएर समर्थन गरेकै छन् । केहिजना भाइबैनीहरू जर्मनतिर लागेका छन् । केही भान्जाभान्जी र भतिजहरू ब्राजिल पट्टि थिए । केहि मितज्यु र मितदाइ र मितभाइहरू अर्जेन्टिनालाई दरो गरि समातेर हेरेका छन् । केही सहकर्मीहरू नेदरल्याण्डको नाममा ठर्रा भाकल गर्दै छन् । केही सम्भावित साला सालीहरू पनि बिभिन्न टिमलाई जिताउन फेसबुक भरि कम्मर कसेर लागिरहेकै छन् । अब यति भैसकेपछि जसले जिते पनि विश्वकप, सके आफ्नै फेमिलिमा, नभए पनि आफ्नै गाउँमा त पक्कै आउने भएन र गुरु ? बरु खेल सकिएर यसरी विश्वकप हाम्रो भए पछिको कुनै दिन म एकदिन हजुरलाई भेट्न आउँछु, रम्–रम् हुनेगरी हामी गुरु–चेला जम्नुपर्छ है गुरु ! बाँकी अरु थप कुरा– त्यैबेला । हस्त नमस्ते !

    उही तपाईंको आज्ञाकारी,
    पुरानो चेलो