Author Details

  • नरनाथ लुइँटेल Total Record 196

    नरनाथ लुइँटेलको जन्म वि.सं. २०१६ पुस ८ गते भोजपुरमा भएको हो । पिता तारानाथ लुइँटेल र पवित्रादेवी लुइँटेलका दोस्रो सन्तानका रूपमा रहेका यिनी झापा, धादिङ हुँदै हाल काठमाडौंको कलङ्कीमा स्थायी बसोबास गर्दछन् । ‘सेवा नै धर्म हो’ (२०३३) निबन्धबाट आफ्नो साहित्यिक यात्रा प्रारम्भ गरेका लुइँटेलका छेपन (२०५१), सिङ न पुच्छर (२०५३), चम्चाचिन्तन (२०५५) र बाँदरका हातमा नरिवल (२०६०) हास्यव्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् । प्रगतिवादी साहित्यिक मूल्यमान्यता र नेपाली समाजको विकृतिमय अवस्थाबाट प्रभावित लुइँटेलले नाटक, गीतिकाव्य, शोककाव्य, समालोचनाका पुस्तकका साथै फुटकर कविताहरू पनि प्रकाशित गरेका छन् । पुस्तक र पत्रपत्रिकाको सम्पादन, साहित्यिक पत्रकारिता, रेडियोकर्मी तथा प्राध्यापन कार्यले उनको व्यक्तित्वलाई बहुआयामिक बनाएको देखिन्छ । आफूले भोगेका र देखेका विषयवस्तुलाई अत्यन्त सूक्ष्म तरिकाले हाँसोको जलप लगाएर प्रस्तुत गर्न रुचाउने लुइँटेलको साहित्यिक व्यक्तित्व हास्यव्यङ्ग्य लेखन र यसको सैद्धान्तिक र ऐतिहासिक लेखनतर्फ बढी केन्द्रित रहेको छ । हँसाउन र व्यङ्ग्य गर्नमा मात्र उनका हास्यव्यङ्ग्यात्मक रचनाहरू केन्द्रित नभई विकृति र विसङ्गतिको विषमतालाई सुधार्नका निम्ति गतिलो चास्नी समेत बनेका छन् । –भीम दाहाल (शोधकर्ता)