Author Details

  • छायादत्त न्यौपाने ‘बगर’ Total Record 6

    हँ, म मन्त्री भएर के–के गरेँ रे ! तपाईंले जान्न चाहनुभा ? ल सुन्नुहोस् न त । तपाईं आफै मेरो मान्छे भित्रीबाहिरी थाहा छँदै छ । म व्याख्या गर्दिनँ, मुख्य मुख्य बुँदा भन्छु । बिस्तारमा पछि सुनाउँला । मैले मन्त्रीजस्तो गरिमामय पदमा पुगेसी सुहाउँदो भेसभुसा तयार पारेँ । दारीकपाल मिलाएँ, नुहाएँ जीउ बनाएँ, बधाई पोक्याएँ । श्रीमतीलाई तालिम दिलाएँ आइसियो, खाइसियो वाक्यपिच्छे सियो लाउन सिकाएँ । आफन्त र साथीभाइ माझ भाउ बढाएँ । कार्यकर्ता छल्न सिकेँ । जिउनारका लागि जिरामसिना चामल किनेँ । तुरुन्त आफ्नो मन्त्रालयको सचिव बोलाएँ । नयाँ गाडी झिकाएँ । चालक अलि सिपालु पठाइदिन भनेँ, समय निकालेर साँझ बिहान गाडी चलाउन सिकेँ । के गर्नहुन्छ ? नसिकी भएन । पदबाट खुस्केपछि गाडी फिर्ता गरेर कहीँ नभा जात्रा हाँडी गाउँमा देखाउने कुरा आएन । चालक राख्यो भने घरका मान्छे आँखा लाउलान्, जोगाउनुप¥यो ।

    कति दिनपछि बल्ल श्रीमती र छोराछोरीका मागपत्रसित नत्थी गरेका सुझावपत्र बुझें, स्वकीय सचिवलाई पढेर सुनाऊ कसरी भन्ने ? घरको कुरो बाहिर जाला भन्ने डर ! अरु केही वा पत्रपत्रिका भा‘भए त पढेर मुख्य सार सुनाउन लगाउँथेँ । बानी छुटेछ पढ्नै मुस्किल, बल्लतल्ल पढँ । के गर्नुहुन्छ ? श्रीमती पनि आफैंजस्ती अल्छी परिन् । वास्तवमा मन्त्री भइएला भन्ने थिएन क्या ! नत्र त यी हेलमेट नझिकी कक्षामा छिर्ने प्रमाणपत्रका भरियाहरूलाई डेरामै बोलाएर काम दियाजस्तो गरिन्थ्यो, गृह अध्ययन हुन्थ्यो । अवसर आएजस्तो लागेर एक्कासि मलाई पनि सरकारमा भाग चाहिन्छ के भनेको थिएँ मन्त्री भइयो, पढ्याजस्तो गर्नै भ्याइएन ।

    राजनीति गर्नेले मन्त्री खानु परिहाल्यो । मन्त्री भएपछि कर्मचारी ठीक पार्नुपर्ने रहेछ । ठूलो पदका कर्मचारीलाई हात लिएपछि साना खुइते त्यसै तह लाग्ने रहेछन् । पछि पदबाट बाहिरिएपछि पनि लौ मन्त्रीज्यू आउनुभो भनेर वरिपरिकालाई सुनाउने कामका लागि दुई चार जना सदस्य बनाएँ । म पार्टीको जुँगादार मान्छे हुँ भन्ने अनुभूति गराएँ । हुन पनि हो नि ! झिँगा निचरेर भरेको दुनो कोल्ट्याएर अन्त पोख्ने कुरै आउँदैन, सोझ्याएर आफ्नै भागमा पार्ने प्रयत्न गरेँ, गरिरहेँ, अन्तिमसम्म छाडिनँ ।

    बेलाबखत कस्तो अप्ठेरो आइपर्ने भन्नुहुन्छ भने आफूलाई एउटा घर नभई भा‘छैन । तुरुन्त किनिहाल्न छेकथुन छ । विरोधी त विरोधी भइहाले । छिटै धनी भएको आफ्नै कार्यकर्ताले पनि देखिसहँदैनन् । आँखा छलेर वातावरण मिलाउनै पर्यो । फेरि पत्रकारहरू निदाएको मौका छोप्ने वा अलपत्र पार्ने कलामा पनि उत्तिकै निपुणता चाहिने । नत्र भने घुस खायो भनेर कटुवाली गरिहाल्छन् मोराहरू ! कुन ठाउँमा कस्तो नियम पुर्याएर खानुपर्छ खाने विधि बताइदिएर सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै लौ खायो ! खायो ! ! भनेर उधुम मच्चाइहाल्छन् । खप्न खान दिँदैनन् भन्या । कति समय त तिनीहरूलाई थुमथुम्याउँदा थुमथुम्याउँदै बित्यो, हैरान भइयो ।

    चौथो चरणमा पुगेर बल्ल घरको बन्दोबस्तीमा लाग्न पाएँ । केही राजदूतहरू गुहारेँ विदेशतिर लखारिएँ । रातो राहदानी दुरुपयोग गरेर घर सजाउने सामान बटुलेँ । छोराछोरीको बसोबासका लागि विदेशमै चाँजो मिलाएँ । बल गरेर सम्भव भएजति देशकै बजेट सिद्धयाएँ । निकै ठूलो कसरत गरेपछि पो बल्ल लामो सास फेर्न सकेँ । फेरि आफन्तले त्यतिकै आस गर्दा रहेछन् पदमा पुगेसी । पार्टीलाई लेबी समयमा चाहिने, चुनावमा जोतेका कार्यकर्ता पछि लागेर घेर्ने त्यस्तै, दुख दिन पनि कति सकेका दैवहरूले ! टाल्नुपर्ने प्वाल त कति कति तैपनि सकेसम्म धेरैको चित्त बुझाउने कोसिस गरेँ । हुँदाहुँदा कतिपटक त मन्त्री परिषद्को बैठकमा जान नभ्याएर भत्तै छुट्ने भन्या ! यसो चल्ने गोजीखर्चै समस्या पर्ने । परिवारसित घुमेर होटेलतिर खाना खाने समय नपाएर फसाद । भरे श्रीमती ओछ्यान अर्को लाउली भन्ने पीर । उता पार्टीले संविधान सभामा हाजिर किन नभा’को ? भनेर स्पष्टीकरण माग्छ । पार्टीकै बैठकको त झन् कुरै भएन । कार्यकर्ताको माग अनुसार विभिन्न कार्यक्रम उद्घाटन समारोहमा पुगेर उटपट्याङ बोल्ने अभ्यास नभएपछि फेला परिनेरहेछ । पत्याउने गरी ढाँट्नै मुस्किल आत्तिएर पसिना पसिना भइने । समय मिलाउँदैमा दाँतबाट पसिना चुहुने भन्या !

    विदेश जानलाई पनि फुर्सत नहुने यहाँसम्म कि एउटा राम्रो दौरासुरुवाल किन्नै भ्याइनँ । परिवार, साथीभाइ सम्झनु त कहाँ छ कहाँ ? विना भन्सार ल्याउन पाइने मूल्यवान् सामान छान्नै पाइनँ । एकैजोर लुगामा महिनौं बिताइदिएँ भन्या विदेशमा । तपाईं भन्नुहोलाआफ्नो काम त गर्नुभएछ देश र जनताका लागि के गर्नभो ? कुरो के भन्नुहुन्छ भनेर भन्देखि देश विकास, सीमा सुरक्षा, गरिबी निवारण, महङ्गी नियन्त्रण, सिपमूलक शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइमा जनताको पहुँच पुर्याउने र लोडसेडिङ भनेका घोषणा पत्रका कुरा हुन् लेख्नका लागि । यस बारेमा पार्टी आपैm बोल्छ । मैले त खालि लेबी तिर्ने हो । यस बाहेक गर्ने भनेको सांसद कोटामा रकम बढाउन सरकारलाई दबाब दिने आफूखुसी बाँड्ने हो । देख्नु भा’छ यो भन्दा बर्ता गर्ने जनप्रतिनिधि ? ल, कुरा बुझ्नुभएन ? सरकारमा गएर गर्ने काम त आफ्नो हो । कति वर्षपछि बल्ल सरकारमा जाने साइत जुरेको छ ! यस्तो मौकामा देश र जनताको कुरा गरियो भने आफ्नो काम कहिले गर्ने ? त्यसैले म त हजुर पुरै कार्यकाल ढुक्कले आफ्नै काममा व्यस्त रहेँ ।

    हो, तपाईंले भनेको कुरा ठीक हो, मन्त्री पद छाडेपछि फुर्सत हुन्छ । हो ! त्यही बेलामा सडकबाट चर्को आवाज निकालेर जनताका कुरा गर्ने हो । महशयले भन्नुहुन्छ भने म जनताका लागि मन्त्री भा’ मान्छे परिनँ । म त मेरै लागि मन्त्री भा’ हँु । पदमा भएका बेला मान्छे कुरा सुन्छन्, माग्न पाइन्छ । योजना कागजमा देखाए पुग्छ, काम गर्न पर्दैन त्यसैले मेरो ध्यान एकोहोरिएर यतैतिर केन्द्रित रह्यो ? अर्को कुरा के भने म पहिला पहिलाका मन्त्रीजस्तो आफ्नै भुँडी र गोजीतिर लाग्ने मान्छे होइन भनेर छलेका कुराले विश्वास दिलाउनै नसकिने भन्या ! मेरो पालो आइपुग्दा त जनता पनि कति बाठा भइसकेछन् क्या । जेनतेनम तपार्इंहरूकै सेवक हुँ भनेर अभिनय गरेँ । थोरै थोरै सफलता मिल्यो । अहिले अलिकति राहत दिने एउटा घर छ, गाडी छ, छोराछोरी विदेशमा खोइ के–के गर्छन् । म व्याज उठाएर कहिले काहीँ सोल्टीतिर सेल्टिन्छु । छोटो समयमा यतिका काम सक्नु भन्या चानचुने क्षमता होइन भन्ने मेरो ठहर छ । यसरी सिङ्गै जीवनमा मैले भन्ने गर्या आमूल परिवर्तन ल्याएँ । नपत्याए मसँगै मन्त्री भा’ शरणजीसँग सोधिलिनुहोस् ल । ओ, हो ! महाशय आजलाई यति नै ढिला भो । उता घरमा श्रीमतीले स्पष्टीकरण माग्छे, लौ, विदा मागेँ, पछि भेटौंला है ! ‘अस्तु’

    हाल : काठमाडौं