Author Details

  • सोमराज ‘अभय’ Total Record 12

    कुरो अलि अस्तिको हो हिमालमा हिउँ पर्न थालेपछि भोका नाङ्गादेखि बलिया बाङ्गा समेत जाडाले लुगलुगाउँछन् । झन हाम्रा कैलासबासी महादेवको त “कैलाशको बास सत्यनास” भने झैं भै हाल्छ । बस्त्रका नाउँमा निगालेका छालाको लँगौटी, गलामा चिसो सर्पको गलबन्दी, काँधमा मयल घोट प¥या एक त्यान्द्रो जनै बरा ! लुगलुग काम्दै महादेवले पार्वतीमातासँग आफ्ना मनको व्यथा व्यक्त गरे । कैलाशबाट आकाश मार्ग हुँदै महाभारतदेखि चुरिया पहाडको बाटो हुँदै मैदानका लागि उइन्टर भ्याकेसन मनाउने । पार्वतीले पतिको बिदा बिना विवाद स्विकृत गरिन र आफू पनि साथै भ्रमणमा निस्कने निर्णय गरिन् ।

    यात्राका निम्ति यातायातको यस्तो फास्टट्याक जमानामा पुष्पक विमान पनि पुरै फ्लप भैसक्यो । अब त त्यो नाथे नन्दीको लोसेचाला पनि फिट हुँदैन भन्दै उनीहरू श्री स्वस्थानीको पूर्व सन्ध्यामा बाटो लागे । “आफ्ना भक्तिनीहरूको पूजा तयारी पनि जाँचिने, बेंसीको न्यानो पनि चाखिने एक पन्थ दुईकाम ।”

    महादेव पार्वती माताका मजेत्रामा गुटुमुट भएर सिउ सिउ गर्दै अगि बढ्दै थिए । जब गणेश हिमालदेखि शिवपुरी माथिको आकाश मार्ग हुँदै मृगस्थली आए तब परे फसादमा “चौक्टा खान हिँड्या चन्दे्र झोलमा डुबेर चट्” भनेझैं भयो । कोही दरबार खोक्यो त कोही तरबार बोक्यो । कोही भाला बोक्या त कोही गाला ठोक्यो । कोही ठूल्ठूला डन्डा त कोही डन्डामा एक झुम्रो, झन्डा बोक्यो । कोही दाउ, बाम्फोक, तरबार र चक्कु बोक्या त कोही चुलेँसी, खुँडा र खुकुरी बोक्या । ए बा ! लौन बूढाबूढी युवायुवती केटाकेटी सबै घरबारै छोडेर जिन्दावाद र मुर्दावादमा ? यस्तो उदण्डता दक्ष प्रजापतिको यज्ञमा नन्दी, भ्रिङ्गी, योगीनी, भुतप्रेत र पिचासगणले समेत गर्न नसक्ने आफ्नै मन्दिरको अगाडि देख्दा महादेवको मुटु ढुकढुक भयो ।

    महादेवले ध्यानदृष्टि लाए र यो ताण्डव नृत्य केही न केहीका लागि हो भन्ने कुरा पत्ता लगाए । र महादेवले झट्ट जोगीको भेष धारण गरी एक साधुलाई सोधे” के को होहल्ला, हो बाबाजी ? बाबा जी बोले । “हे हमारा धरममे राजनीति हो रहा है, हमारा पुजारी निकालकर दुसरा नियुक्त हुवा है हमे ए बात मञ्जुर नही है । पुजारितो हमारा हुनु परछ, बाबाजी हमारा पुजारी नहीं तो हम मर जाएगा ।” बाबाजीका बातले महादेव मर्माहत भए । मान्छे मर्यादित बनुन्, भगवान् प्रति आस्था विश्वास र भक्तिभाव जागोस् भनेर पो पशुपतिको स्थापना ग¥या । हैन यो कस्तो पुजारी गाना भजना हो ? भक्ति नै शक्ति हो त ? भन्दै आफूप्रतिको आस्था माथिको आव्रmमण सिहँदै, भट्टको कुरो पनि चट्ट बुझ्न प¥यो, भन्दै उनी लागे भट्ट निवासतिर ।

    ए बा लौन ? आफ्नो हिउँदमा सित छल्ने छानो छैन भट्टको चाहिँ यस्तो चैन ? बलेसीदेखि राघेबाघको छाला, श्रीखण्ड, गरगहना र फलफूलको फालाफाल । भट्टिनीका केश कोर्नेदेखि ड्रेस फेर्नेसम्मका सुसारे... । यता आफ्नो यस्तो रूप र विवशता । उता पार्वतीको लट्टा प¥या कपाल र फुट्या कुर्कुचा । थुइक्क म मोरो महादेवको जिन्दगी भन्दै आफ्नै भाग्यलाई धिकार्दै थिए । उता पार्वतीले प्वाक्कै बोलिन् । हैन, प्रभु ! यस्तो मोज हुँदो रहेछ । महादेव भन्दा त भट्टै राम्रो । हजुर झट्ट भट्ट हुनुहोस् म चट्ट भट्टिनी हुन्छु ।

    हाल : काठमाडौं