Author Details

  • बैरागी जेठा Total Record 46

    जुनुमायाका फूलहरू
    फुल्छन् सानीमदौमा
    उषाका बैँससँग
    बिहानी किरणमा
    अल्की जुनुमाया
    सुनगाभा झारिरहिछिन्
    कालापत्थरका टुक्राझैँ
    मुस्की दिँदादिँदै
    कोरल्छिन् धेरै चल्लाहरू
    भँगेरी देशहरूमा
    मोती जस्ता सन्तान बोकेर
    अहोरात्र बेंसी झर्छिन्
    कालापानीझैँ
    उकालो चढ्दा
    मुद्रा मीठो बनाएर
    नयाँ घर हँसाउँछिन्
    उनलाई कुनै रवाफ मन पर्दैन
    बाहुनीझैँ डोको बोकेर
    तामाका गाग्रीहरूमा पानी भर्न
    गोरेटो ओर्लिरहेकी हुन्छिन्
    सन्तानहरूले बेर्छन्
    काखमा च्यापेर
    ढ्वाँङ छाँगो चुमेर
    नयाँ घर लिपी रहन्छिन्
    बुद्धि लगाएर
    हितप्रसादका हुक्का माझेर
    मुनियाँहरूसँग रमाउँदै
    धेरै वर्ष
    गाउँबेंसी गरिरहिन्
    धेरै मानिसहरू मर्छन्
    पानी पिउन नपाएर
    आफ्नै नानीहरूसँग मुस्किदिएर
    आफ्ना चोटहरू रोक्छिन्
    गाउँभरका सेठहरू
    धुवाँझैँ उडाउन चाहन्थेँ
    उनका कथाहरू
    मुजुरहरूले बुझिदिएकाले
    उनको घर ताराझैँ फुलिरहेछ
    कलकल पसिना पिउँदै
    नयाँ घरमा जुनहरू नाच्छन्
    जुनुले मजेरी टेक्दा
    चन्द्रलालहरू भजन गाउँछन्
    खरको छानोमुनि
    मयुरको प्वाँखले झिलल्मिलाउँदा
    कविहृदय तिल्मिलाउँदा
    काफ्लेटार सिल्मिलाउँछ
    प्वाँखहरू धप्धपाउँदा
    जुनुमायाका कथाहरू टल्किन्छन्
    मुटु डग्मगाउँछ
    स्वस्थ मनहरू
    सुख्खा प्रकृतिका दौलतहरू
    सुन्दर सपना लिएर
    बाँचिरहेका छन्
    नयाँ गाउँको उदयमा
    मानिसहरू एक आपसमा लडिरहेछन्
    असिम यात्राहरूमा
    पसिनाका थैलीहरू भिज्छन्
    साहस लिएर
    काँतर चरीभन्दा माथि उठेर
    जुनुमाया बाँचेकीछिन्
    दौलतका सेठहरूसँग जुधेर
    जिमल सेठहरूले
    आफ्नो घरसम्म घेर्दा
    नआतिएकी जुनुमाया
    आफ्नै शैलीमा सङ्घर्ष गरिरहेकी छन्
    चरित्रको अडानमा रहेर
    सानीमदौको हिराका रुपमा
    उनी उभिएकी छन्
    तिनैका बारेमा
    कलम शब्द उकेलिरहेछ
    यतिबेला
    उल्लुहरू चर्केर बोल्छन्
    दालिङ्गे वरिपरि
    मण्डरेका कथाहरू
    सुन्दै बुझ्दै जाँदाखेरी
    मुटु चर्किन्छ
    आऊ आऊ
    मानिसहरू हाम्रो इज्जत राख्न
    पापीहरूको कब्जाले
    मन धर्कन्छ
    जिम्वालहरु हाम्रा काँढा हुन्
    डिठ्ठाहरू हाम्रा तार हुन्
    सानीमदौ थर्किन्छ
    कोरहरूको लर्कन छ
    सम्झिँदा तनहरू सर्कन्छ
    अघोर काजीहरू
    डँकिनीझैँ उफ्रिरहेछन्
    भोका गिद्धहरू
    अबलाई उडे
    तन खुकुलो बनाएर
    बाजेहरूको निष्क्रमण भइरहेछ
    ज्ञानप्रसाद ठालु
    वनबिरालाहरू पनि डराउने
    ठालुहरू बाली खोस्ने
    किसानहरू रुवाउने
    संस्कृतिहरू तोड्न
    बाहुनचरी भुरुरु उड्छे आकाशमा
    ठालुहरूको रमिता किसानहरूको पीडा
    सुख्खा पटमा भँगेरीको मुटु
    नाच मुजुर नाच मुजुर
    कैल्यै मेटिन सकिन्न
    छमछम टिमटिम
    जीवनका यात्राहरू
    एउटा मीठो गीत गाउँछ
    खयरको बोटमा
    निम्सरो कोइली
    उसको बोलीमा
    क्षण क्षण मधुर गञ्जिरहन्थ्यो
    कवि चमचम
    मकै टोकिरहन्छ
    क्रान्तिको बाटो रोजी
    संसार जित्न
    नाच्छ भाले मयुर
    वर्षा ऋतुमा
    युद्धप्रेमी जूनहरू
    रमरम दगुरिरहेछन्
    नयाँ संसार घोषणा गर्न
    निभ्दैन क्रान्ति
    मर्दैनन् सहिदहरू
    पटक पटक जन्मिरहन्छन्
    नदीझैँ, खोल्साखाल्सी जस्तै मिलेर
    कवाज खेलिरहेछन्
    नयाँघरको मजेरीमा
    जुनुमायाका फूलहरू
    धपक्कै फुलिरहेछन्
    कफाइट खेलिएका क्षणहरू
    भरे फेरि झुल्केर आएकाछन्
    मुजुर जोडीहरू
    अमर प्रेम गरिरहेछन्
    वरपीपलको चौतारीमा बसेर
    कविता लेखिरहन्छ
    मसीका ज्वालाहरूले
    लेखेर सकिन्न संसार
    घुम्दै फिर्दै
    यात्री
    जुनुमायाका फूलहरूसँगै
    हराउँदै जान्छन्
    जुनुमायाका दिल
    आरनको ज्वाला भएर बलिरहेछ
    आफ्नै तालभित्र
    सेलेघाटमा
    रमरम गरिरहेछ
    मन
    पसिनाका भुवाहरू
    मधुर झर्ना भएर बग्छन्
    तिन शताब्दीदेखिका पीडा लिएर
    मन्थलीमा बुलबुल गर्दै
    कवाज खेलिरहेछन्
    सपनै सपनाको यात्रामा
    निभेको छैन जीवन ।

    काठमाडौं