Author Details

  • गायत्री परिरोशनी Total Record 46

    तबे (तरबार बेचुवा) : श्रीमान्ज्यू, तपाईंले विषेश अदालतमा हुँदा सात क्विन्टल चरेश बोक्ने तस्करलाई सफाई दिनुभयो । अब सर्वोच्च अदालत पुगेपछि त चौध क्विन्टल बोक्नेलाई पनि सफाई दिनुहुन्छ होला नि !

    घिबे (घिऊ बेचुवा) : माननीयज्यू, कस्तो केटाकेटी कुरा गरेको ? जतिसुकै बलियो तस्करले पनि सात क्विन्टल चरेश बोक्न सक्दैन । चौध क्विन्टलको झन् कुरै भएन । फेरि, कसैका छेऊछाऊमा चरेश भेटियो भन्दैमा उसलाई तस्कर भनिहाल्न मिल्दैन । तस्करको आरोप लगाइएका व्यक्तिभन्दा बरामद भएको चरेश पाँच मिटर परै थियो । उसको शरिरबाट चरेशको गन्ध पनि आएको थिएन । त्यस्तो भद्र मानिस तस्कर हुनै सक्दैन ।

    तबे : श्रीमान्, सर्वोच्च अदालतको न्यायाधीश पद हत्याउन न्यायपरिषद्का सदस्यहरूलाई दुईदुई करोड घुस बाँड्नुभएछ । त्यो रकम कहाँबाट ल्याउनुभयो ? त्यत्रो रकम खर्च गरेर पदमा पुगेपछि त्यो रकम असूल उपर गर्ने कस्तो योजना छ तपाईंको ?

    घिबे :माननीयज्यू, कुरा फेरि उस्तै आयो । दुई करोडका दरले बाँड्ने त्यत्रो दसौं करोड रकम म ६५ केजीको मान्छेले उचाल्न सक्छु ? आरोप पनि पत्याउने पो लगाउनुपर्छ ।

    तबे : श्रीमान्, तपाईंले हत्यारा, तस्कर, अन्तरराष्ट्रिय ठगहरू, लुटेरा, अपहरणकारी र भ्रष्टहरूलाई घुस खाएर सफाई दिनुभयो । यस्तो भ्रष्ट आचरण भएको व्यक्तिले सर्वोच्च अदालतको न्यायाधीश जस्तो पदमा जान सुहाउँछ ?

    घिबे : माननीयज्यू, तपाईंले राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट गरेर, सार्वजनिक संस्थाहरू डुबाएर, व्यापारी, उद्योगपती, ठेकेदारहरूलाई अपहरण गरेर, बैंक लुटेर पनि माननीय जस्तो पदमा बस्न मिल्छ ? भनेर म तपाईंलाई सोधौं ?

    तबे : श्रीमान्, तपाईंले जुन जुन जिल्लामा जानुभयो त्यही त्यही जिल्लामा श्रीमती जोड्नुभयो रे । रमाइलो गर्नुभएछ । छोराछोरी पनि दर्जनौं होलान् नि ? भोट कुन पार्टीमा हाल्छन् तिनीहरूले ?

    घिबे : माननीयज्यू, तपाईंलाई पुलिसले जुवाघरबाट कौडा सहित रङ्गे हात पक्रिएको बेलाको साक्षी म पनि भएको कुरा सम्झनुहुन्छ ? अनि रातो पासपोर्ट बिक्री काण्ड नि ? त्यस्ता कुरा यस्तो सम्मानित ठाउँमा किन उठाउनु, उठाउँदिन ।

    तबे : तपाईं अत्यन्तै झगडालु, नाप्पिएको र महिलाहरूप्रति आशक्त हुनुहुन्छ भन्ने कुरा छ । पटकपटक महिलाहरूमाथि जाइलागेर कालो मोसो दलिने अवस्था भएको र माफी माग्दै छुट्दै गर्नुभएको विषयमा के भन्नुहुन्छ ?

    घिबे : म पटक्कै झगडालु छैन भन्ने कुराको प्रमाण यति तल्लो स्तरका आरोप लगाउँदा पनि हालसम्म मैले तपाईंमाथि हात नहालेको कुराबाट प्रमाणित हुन्छ । महिलाहरू प्रति आकर्षण हुनु प्राकृतिक कुरा हो । थुप्रै माननीयज्यूहरूका विषयमा मैले पनि धेरै कुरा सुनेको छु । जहाँसम्म कालो मोसोको कुरा छ, माननीयज्यूहरूको चाहिँ कालो मोसो दलिँदा, जुत्ताको माला लगाइँंदा, जेल बस्दा, ज्यान मुद्दा लाग्दा, डकैती मुद्दा लाग्दा झन् झन् नम्बर बढ्ने, हाम्रो चाहिँ घट्ने किन नि ?

    तबे : श्रीमान्ज्यूहरू, तपाईंहरूका स्वादिष्ट जवाफबाट हामी सन्तुष्ट हुन्छौं भन्ने हामीलाई पहिल्यै थाहा थियो । हामी दुवैथरि मिलेर दुनियाँलाई यस्तो उत्कृष्ट प्रहशन प्रदर्शन गर्न सफल भयौं । हामीलाई वधाइ छ । तपाईंहरू सबैलाई सफाइ सहित सिफारिस छ । सर्वोच्च अदालतको न्यायाधीश पदमा रही विगतमा जस्तै न्यायालयको गरिमालाई राम्ररी सफाई गर्नुहोला । धन्यवाद । नमस्कार ।
    घिबे : धन्यवाद । नमस्कार ।

    'नेपाल' बाट