१. नौटङकी जाम
संसदको जाम भन्छ— ‘हामी पनि खाम्’
गैर— बजेट यतातिर— ‘छेलोखेलो पाम्’ ।
जनताको पिरै छैन— ‘आफैं गरौं हाम्’
तब मात्र खुल्न सक्छ— ‘संसदको जाम्’ ।।१।।
सिद्धान्त र विचारलाई, पारियो सुकुटी
वाद, दर्शन घाइते भए, आ–आफूले लुटी ।
संसदको अवरोध ‘नौटङकी’ हो जान
प्रतिपक्षी सबै मिली, गैर बजेट तान ।।२।।
२. जागिर छोड
के बन्ला नव— संविधान यसरी, गर्छन् रडाको सधैं
के बन्ला जन— संविधान यसरी, दायित्व बिर्सी सबै ।
ठालू चिन्तनका अगस्ति गण छन्, मात्रै भकुर्ने मन
राहू— केतु— शनी समान ग्रह छौ, हे कुम्भकर्णे जन ।।१।।
कैल्यै बुद्धि नआउने खल भये, मात्रै पिपासा धन
नाता चाकरका विमर्श पिउने, कस्तो छ सानो मन ।
देशै बन्दी बनाउने नियतका, हे स्वार्थका माकुरा
जागीरे अब छोड जागिर तिमी, खुल्छन् नयाँ— आँकुरा ।।२।।
धादिङवेंसी