Author Details

  • रामप्रसाद ज्ञवाली Total Record 2

    जुत्ताबारे नेपाली साहित्यमा कुनै मौलिक समालोचना अथवा निबन्ध मैले अद्यापि पढ्न पाएको छैन । निबन्ध र समालोचना त पढ्न पाइएन पाइएन, यस नितान्त संवेदनशील र सशक्त अस्त्रबारे न त कुनै कविता प्रकाशित भएको देखिन्छ न त कुनै कथाकारले नै आफ्ना कथामार्फत जुत्ताको व्यथा नै उल्लेख गरेको पाइन्छ । जुत्ताबारे नेपाली साहित्यमा देखिएको यस भत्र्सनीय मौनतालाई भङ्ग गर्न म तम्सिएको छु । जुत्ताको भावनात्मक वैशिष्ट्यबारे नेपाली साहित्य मौन रहे तापनि यसको भौतिकी प्रयोगको सन्दर्भमा भने हामीले गर्व गर्ने ठाउँ प्रशस्त छ । हाम्रा केही साहित्यिक उपलब्धि ठानेको छु । यस महान् प्रतिकात्मक अस्त्रको प्रहार खप्ने माम्लामा म चाहिँ आवश्यकताभन्दा केही बढी नै अनुभवसम्पन्न छु । स्थिति कस्तो छ भने जुत्ता खाँदाखाँदा एक त म कुनै अघोरी कमिसनखोर जस्तै अघाईसकेँ र असङ्ख्य जुत्ताहरूको सामूहिक प्रहारबाट मेरो तालु कुनै मूर्धन्य र चिन्तनशील नेताको तालुझैँ खल्वाट नै भइसक्यो । यति भएर पनि न त मैले आफ्नो “व्यक्त सिद्धान्त” त्याग्न सकें न त मेरो मतिमा नै कुनै सुधार भयो ।

    विवादले चर्कै रूप लिएपछि प्रायः जुन अस्त्रकोे प्रयोग हुन्छ त्यो पाउपोश अथवा जुत्ता नै हुनुपर्छ भन्ने अनुमान जस्तोसुकै मूढमतिले पनि गर्नसक्छ । अपशब्दको अभिव्यक्त र श्रवणको स्तरले उग्रतम स्थिति लाभ गरेपछि विकल्पका रूपमा बाँकी रहने एकमात्र अनुष्ठान जुत्ताहरू आदानप्रदान वा माल्यार्पण हो भन्ने कुरा व्यवहारले सिद्ध गराइसकेको छ । कुरासँग जुत्ताको त्यतिकै घनिष्ठ सम्बन्ध रहेको पाइन्छ जति खुट्टा स्वयम्को जुत्तासँग हार्दिक अनुराग हुने गर्दछ । खुट्टा तान्ने उत्कृष्ट प्रविधिका सम्बन्धमा कुनै व्याख्या यहाँ अनावश्यक छ किनभने यो सीपले राष्ट्रिय चरित्रकै रूपमा मान्यता पाइसकेको छ । “जुत्ताको घाउ जुत्तैले निको पार्छ” भन्ने उखान प्रचलित नै छ र यो उपाख्यान “घुस लिँंदा पक्राउ गरे घुस नै दिएर उम्कने भन्ने” जस्तै हो । “हीरालाई काट्न हीरा नै चाहिन्छ” अथवा “मूर्खजस्तै आचरण गर्नु” भन्ने उखानहरू यसै कोटिमा पर्दछन् ।

    खुट्टाका खुई रूप हुन्छन् एउटालाई चरण भनिन्छ भने अर्कोलाई पाउ भन्ने चलन छ । कोमलाङ्गी कन्याहरूका खुट्टामा दाउराजस्तै साह्रो र गाँठो परेका भए तापनि ती चरणकमल कहलाउँछन र जसका खुट्टा भुइँमा प्राय रहँदैनन् तिनलाई पाउ भन्ने चलन छ । चरण र पाउ जब दुवैै गतिमान् हुन्छन्, त्यसबखत तिनलाई लात भन्ने गरिन्छ । “लातको मानिस बातले मान्दैन” भन्ने उखानको उपादेयता अझै कायमै छ र भविष्यमा पनि यो रहिरहने छ । संसद्को सत्र चलेका बखत् जुत्ताले आफूलाई गतिमान राख्ने कार्यलाई बढी प्राथमिकता दिने चलन छ । घरायसी कलहमा भने जुत्ताले हवाइचप्पललार्ई अधिकार प्रत्यायोजन गर्ने हुँदा पति वा पत्नी दुवैले विवादको अन्त्य गर्ने अठोेट गरेको अवस्थामा हवाइचप्पल स्वतः सक्रिय हुनपुग्छ भन्ने बेहोरा तथ्याङ्कविद्हरू बताउँछन् । कविसम्मेलन र ग्रन्थ विमोचन जस्ता साधारण खालका साहित्यिक समारोहहरूमा वीररसको अभावको अनुभूति हुनगएमा यदाकदा चप्पलको उपयोग पनि हुनसक्ने प्रावधानलाई देख्यानदेख्यै गर्न सकिँदैन । नेपाली साहित्यले हाल यसैलाई उपलब्धि ठानेर भए पनि चित्त बुझाउनु पर्ने देखिन्छ । यसै पनि साहित्य पढ्ने फुर्सत अचेल कसलाई पो छ र ?

    जुत्ता जीवन्त र जीवाणुयुक्त अस्त्र हो । तपाईं आफ्नो विपक्षीलाई बायाँ खुट्टाको जुत्ता फुकालेर हान्नोस् वा दायाँ खुट्टाको हनाइमाग्नेको हुलिया र हुर्मतमा यसले कुनै मौलिक अन्तर पार्दैन । “जुत्ताले कहाँ बिझाइरहेको छ भन्ने कुरा जुत्ता लगाउने प्राणीलाई मात्र थाहा हुन्छ” भन्ने उखान चलनचल्तीमा नै छ । वार्तालाप सम्पन्न गर्ने क्रममा पाखुरा सुर्कासुर्की नहुन्जेल जुत्ताको प्रयोग अशोभनीय ठानिन्छ । पाखुरा र सिँगान दुवै सुर्कंदासुर्कदै पनि अपेक्षित उपलब्धि हुन नसकेको प्रतिकूल र नैराश्यपूर्ण अवस्थामा भने जुत्ताको पारस्परिक आदानप्रदानलाई अचेल अचम्म मान्ने चलन गइसक्यो ।

    जुत्ता नहुँदो हो त न झगडा हुन्थ्यो न कुनै विवादको नै प्रादुर्भाव हुन्थ्यो । जुत्ताको दुःखद अनुपस्थितिमा कतिपय समस्याहरू मुलतबी र अन्योलको स्थितिमा छन् । “न बाँस होला न बाँसुरी बज्ला” भन्ने उखान नभएको त होइन तर यस उखानलाई निस्तेज पार्न केही हरिप प्रकृतिका प्राणीहरू पित्तलको बाँसुरी बजाए उसलाई होच्याउँछन् । पित्तलको प्रसङ्गले चाँदीको जुत्ताको सर्वकालिक प्रभुत्वतर्फ चिन्तन अग्रसर हुन्छ । कथित भ्रष्टाचार र घोटालाहरू जस्ता आर्थिक अनुष्ठान सम्पन्न गराउनमा चाँदीको जुत्ताको योगदानलाई चटक्क बिर्सन भने गाह्रै पर्ला ।

    नैतिकतासँग जुत्ताको सम्बन्ध हाडनाता स्तरको रहेको मानिन्छ र कतिपय नैतिकवानहरू आफ्नो जुत्ताको नयाँसंस्करण प्राप्त गर्न पशुपतिको मन्दिर पर्यन्त धाउँदछन् । यी आफू भने थोत्रा जुत्ता पहिरेर भागवत् भजनम्मा भाग लिन जान्छन् र फर्कदा “प्रभु–इच्छा” एवम् आफूमा निहित विशेष प्रतिभाको सदुपयोग गर्दै आफ्नो पुरानो जुत्ताको नवीकरण सम्पन्न गरेर घर फर्कन्छन् । भगवान् पशुपतिनाथका यी बकुल्लाभक्तहरू जुत्ता कहिल्यै किन्दैनन् तथापि यिनको जुत्ता कहिल्यै थोत्रो भएको देखिँदैन । जुत्ताबारे मनमा उव्जेका जति विचारहरू लिपिबद्ध गर्ने बढी लोभ गरेमा आफ्नै टाउकोमा जुत्ता बज्रने संभावना बढी हुनेहुँदा हाललाई जुत्ताको इतिवृत्तको इतिश्री यहीँ गरौँ कि ?

    २०५१–१–२९