Author Details

  • सञ्जु बजगाइँ Total Record 6

    सबैभन्दा ठुलो चुनौती–
    बाँच्नु रहेछ ।

    इतिहास फोरेर निस्केका आस्थाहरू
    पहरा फोर्ने पीपलभन्दा महान् छन् ।
    त्यो भन्दा महान् भएको छ मेरो जन्मकथा ।
    यदि बाबुआमाको सहवासको समय बदलिएको भए
    न रहन्थेँ म, न रहन्थे मेरो अनुभव ।

    सबैभन्दा ठुलो चुनौती जीवन भएको छ ।

    जीवनको विशृङ्खलाबद्ध पदयात्रामा
    आफ्नै पदचाप देखाउनु सानो कष्ट होइन
    र सामान्य छैन– समयको कठघरा ।

    प्रतिकूल जीवन सन्दर्भलाई छिचोलेर टुसाएका हुन्
    ममा समयका प्रश्नहरू
    सवालित हुन मैसँग ।
    मन प्रकृतिसँग सोध्न भन्छ
    कुन एसिडले भरिस् गुलाबमा रातो रङ
    र बनाएको छस्– यति सुन्दर मनको बस्ती ?
    उपमा गुलाबकै दिएर पनि
    भरेको छस् कसैका पीताम्बरजस्तै पहेँलो रङ
    अनि जन्माएको छस्– एउटा उजाड बस्ती ।

    ए विज्ञान, तँलाई पनि चुनौती छ
    सक्छस् भन् फर्काएर देखा ती मान्छेहरूलाई
    जसले हेर्न सकून्– चमत्कार विश्वको ।
    थाहा पाउन्
    पलपल भत्किएको उसको सफलताको शिखर ।

    म चेतनाको बन्दी बनेर
    सचेत हुन खोजिरहेछु ।
    संसारमा सबैभन्दा छिटो कुदिरहेछ– मेरो मन ।
    मन लिएर बाँच्नु अर्को चुनौती रहेछ ।

    मैले प्रकृतिसँग पटकपटक निहूँ खोज्दै
    भेट्न चाहेको छु जीवनको सार्थकता ।
    कहिले चरी बन्ने रहरमा
    चिथोरेको छु समयको संघार ।
    कहिले फूल बन्ने रहरमा
    भत्काएको छु आस्थाको आँगन ।
    मलाई कहिले चेतनाशून्य भएर भौतारिने रहर छ
    कहिले रोप्दै हिँडूझैं लाग्छ समयको त्रासदी ।

    निहूँ खोज्नु सार्थक हुनु होइन भन्ने पनि थाहा छ ।

    मेरो मन भनिरहन्छ मलाई –
    च्यात् समयको पर्दा र टाल् तेरै किस्मतले ।
    सास फेर्नुमात्र बाँच्नु हो भने
    तैँले सबथोक बिर्सेको छस् ।
    न मर्नुको परिभाषा सास रोकिनु हो ।

    यदि सबथोक जानेर पनि चेतनाशून्य हुनु
    परिभाषा हो भने जीवनको
    मर्नुभन्दा ठुलो चुनौती
    देखेकै छैन मैले ।

    तन्द्राङ, गोरखा