Author Details

  • नरेन्द्रराज पौडेल Total Record 24

    नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सशक्त हस्ताक्षर नरेन्द्रराज पौडेलको जन्म वि.सं. २००६ साल जेठ ९ गते सिन्धुपाल्चोक जिल्लास्थित सिपापोखरेमा भएको हो । संस्कृतमा आचार्य र नेपालीमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका पौडेलका पिताको नाम केदारनाथ पौडेल र माताको नाम टेककुमारी पौडेल हो । पेशाकोे रुपमा सरकारको प्राशसनिक सेवामा कार्यरत पौडेलको पहिलो हास्यव्यङ्ग्य रचना ‘मैले कमिज सुरुवाल लगाएको नयाँसडक’ मानिन्छ । उक्त रचना गोरखापत्रमा २०२५ सालतिर छापिएको थियो । पौडेलको साहित्यिक संलग्नता कविता, कथा, यात्रानिबन्ध आदि विधामा समेत देखिए पनि हास्यव्यङ्ग्य लेखन नै उनको साहित्यिक व्यक्तित्वको प्रभावशाली पक्ष रहेको छ ।
    हास्यव्यङ्ग्यकार पौडेलको पहिलो हास्यव्यङ्ग्य कृति ‘घरभित्रको गाईजात्रा’ २०३६ सालमा प्रकाशित भएको थियो । अन्य कृतिहरूमा ‘बिहेको निम्तो’ (२०४४) र ‘मङ्की स्टेट याने बानरराज्य’ (२०५१) रहेका छन् । ‘घरभित्रको गाईजात्रा’ र ‘बिहेको निम्तो’ दुईवटा सङ्ग्रहमा ३२ वटा हास्यव्यङ्ग्य निबन्धहरु सङ्ग्रहित छन् । उनका अरु कतिपय हास्यव्यङ्ग्य रचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका पाइन्छन् ।
    पौडेलका प्रायजसो हास्यव्यङ्ग्य रचनामा वस्तुपरकताभन्दा आत्मरागकै प्रवलता पाइन्छ । गाउँले र सहरिया परिवेशमा आधारित संक्रमणकालीन नेपाली समाजका संस्कारगत मूल्य, अन्ध कुरीति, कुपरम्परा र मूल्यह्रासबाट सिर्जिएका विकृति विडम्बनाको अतिरञ्जित रेखाचित्र प्रस्तुत गर्दै तिनमाथि अट्टहास गर्न वा व्यङ्ग्यपूर्ण उपहास उडाउनु पौडलका हास्यव्यङ्ग्य निबन्धको रचनात्मक प्रवृत्ति र मौलिक विशेषता देखापर्दछ । उनको आत्मपरक व्यङ्ग्य चेतना व्यक्ति चरित्रदेखि लिएर सामाजिक जीवनका विविध पाटा र तहहरूभित्र लुकेछिपेका स्वभावगत छूद्रता, संस्कारगत कमजोरी र विकारहरूमाथि आक्रमण गर्न उध्यत रहको छ । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा, पूर्ववत्, पृ. ११२ ।) स्वयम् आफै पनि प्रशासनिक सेवामा संलग्न रहेका हुँदा प्रशासनिक क्षेत्रमा व्याप्त नोकरशाहीपन, चाकडी चाप्लुसी र अवसरवादी प्रवत्तिहरूको राम्रो चित्रण गरिएको पाइन्छ । मानवीय चारित्रिक दूर्वलता, मानसिक अज्ञानता र स्वभावगत छूद्रतालाई व्यङ्ग्यको निशाना बनाएर व्यक्ति–चरित्रको उपहास गर्ने वा खिल्ली उडाउने कलामा पौडेलको व्यङ्ग्य चेतना सशक्त र सक्षम देखिन्छ । रचनाको केन्द्रीय पात्र वा परिवन्दको घेराभित्र पारेर क्षणिक मानसिक सन्त्रास उत्पन्न गर्दै सनसनीपूर्ण कौतुहल जगाउने कलामा उनी खप्पिस देखिन्छन् । उनको भाषिक प्रयोगमा नयाँ नयाँ बान्कीका व्यङ्ग्योक्तिमूलक उपमाहरू पनि भेटिन्छन् । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा, पूर्ववत्, पृ. ११३ ।) पौडेलको हास्यव्यङ्ग्यकारिताले आधुनिक हास्यव्यङ्ग्यलाई हलक्क हुन राम्रो मलजल गरेको छ ।
    (नेपाली हास्यव्यङ्ग्य– २०५८ बाट)