Author Details

  • विष्णु प्रभात Total Record 42

    जोकशास्त्र सुन्न जुटेका, उठेका–बसेका, छोटा–बडा, नर–नारी, सर्वलिङ्गि, जाति–नजाति गन्यमान्य जान्ने–नजान्ने जोकशास्त्रप्रेमीलाई सर्वप्रथम दर्शनशास्त्रीय जदौ ! भदौ पछि जाईजात्रा सम्झने बानी परेकालाई जदौ भने पछि जोकशास्त्रको सम्झना त भइ हाल्छ, त्यसमा पनि स्थापना र घोषणा गर्ने यस समावेशी समारोहमा सबैभन्दा पहिले जात फालेर प्रभात बनेको मनुष्यलाई रोजेर मनोजले मज्जासँगै मलाई माखेलाङ्लामा फँसाएको कुरा गरुँ कि नगरुँ म आपैm दोधारमा परेको छु । त्यसो त जोक र शास्त्र दुइवटा शब्द नै दुई जाते भाषाको ठेमाहा सन्तान ठान्न तपाइँ–मपाईं सबैलाई छुट छ । यसो भन्दा कतिपयलाई रीस उठ्न सक्छ, किनभने आजभोलि जो बोली चलन चल्तीमा छ– त्यो हो– समावेशी । जोकशास्त्र समावेशी शब्द हो । समावेशी भनेको बेस्सरी समाउने भन्या हो कि धेरै मुठ्याउनु भन्या हो जेठा बालाई सोध्नु पर्ला जस्तो छ । हुन त बूढो पाको खोज्दा कान नसुन्ने बैरागी बुढालिम्बू पनि हामीसँगै छन् तर उनलाई सोधेर क्यै थाहा पाइन्न । थाहा चाहियो भन्दै सबैलाई थाहा दिने बिष्ट बाजे बितिसके, नाक ठड्याएर अहं पस्कने जोकशास्त्रीक कुरा भूतको भिनाजुलाई अलिबढी थाहा हुँदो हो, तर के गर्नु उनी पनि मास छर्न हिँडिसके । लोभी–पापीका कुरै नगरुँ, लालपुर्जा बाँडे पनि खेती गर्नेलाई जग्गै छैन । खासै कुरा मिल्ला जस्तो लाग्दैन । दुई जातको सन्तान भएर एकजातको गुलियो नाम राख्ने समालिङ्गी मह जोडी महोदय तथा तपाईं हाम्रो खल्तीमा घुसीघुसी नेपाल चुसी खाने खल्तीबडा भएका राजपुत्रको सङ्गत मैले गरेकै छैन भनँु भने पनि एकपल्ट कतै मुख बिगार्ने सर्बत् सपनामा हो या विपनामा सँगै पिएको सम्झना डल्लै छ । त्यसकारण म जोकरशास्त्री मनोजको नामकै पुनव्र्याख्या गर्नु पर्ने ठान्दछु ।
    म भनेको आफू नोज भनेको नाक भन्दै उनले गाईजात्रा कार्यक्रममा आफ्नै जात्रा देखाए । परन्तु कुरा उनले भनेको सत्रै आना गलत छ । मेरा विचारमा मनोजको व्यूत्पत्ति भवानीले इन्द्रको संसर्गमा गरेका थिए । स्थापनाकालमा सबैकुरा अलि गोप्य हुने हुँदा अव मनोजलाई मनको ओज= मनोज भनेर अथ्र्याउनु पर्छ । त्यसो भएको खण्डमा मन+ओज मनोज हुन्छ र आफैंले आफूलाई म नाके–घोरनाके भन्नै पर्दैन ।
    तपाईंहरूलाई थाहा छ नठोकीकन सुन पनि चेप्टिन्न ऊन पनि लेप्टिन्न । कीलो र पीलोको कुरा सबैले जानेकै हुन् तर मनको पीलो निचोरेर निस्कने रस साहित्य हो र त्यसलाई जोकशास्त्र पनि भन्छन् भन्ने कुरा सबैले नजान्न सक्छन् । अरुलाई हँसाउन लेखेको भने पनि जोकरहरूको भित्रीलक्ष्य तुरुप हानेर अरुलाई लडाउनु र आफूलाई अघि बढाउनु हुन्छ भन्ने कुरा जुवाडेले जानेकै हुन्छन् । मेरो जन्मथलोमा लाले जोकर थियो । उसले ‘हिजो आज भोलि’ भन्ने फिलिममा चिलिम तान्दै धेरैलाई हँसाएको थियो । चित्र कोर्नेले चित्त चोर्छ भन्ने कुरा त मोनालिसाको हाँसोले बताएकै छ । गीत कोर्नेले प्रित जोर्छन् भन्ने तथ्य पनि दुनियाँदारको सदाबहार सत्य भइहाल्यो । त्यसैले मनको ओज र जीवनको बोझ बिसाउने माध्यम बनाएर जोकशास्त्र रच्ने गजुरेल जुगको रेल चढी हिँडेका मनुष्य हुन् अब यसमा शङ्का नगरे हुन्छ । उनले हास्यव्यङ्ग्य सिर्जनालाई आनन्द प्राप्तिको साधन भनेर झण्डै–झण्डै बर्बाद पारेका थिए । अहिले प्रभातका हातबाट शास्त्रीय अभिषेक लिएपछि उनी शुद्ध भएका छन् र जोकशास्त्रमा आनन्द मात्रै होइन, अर्ति उपदेशको गुजुल्टो पनि सँगै रहेको हुन्छ भनी स्वीकारेका छन् । लोकशास्त्र नभएको समाजमा या त लोभशास्त्र हुन्छ या लोगशास्त्र हुन्छ । मान्छेको अपुङ्गी सोच शास्त्र बनेपछि जोक, शोक, झोक, फोक, कोक, चोक, छोक, रोक, ठोक, बोक, भोक, टोक, जम्मै शब्दहरू शास्त्रमा लपेटिएर देखा पर्दा रहेछन् । निर्लोभी बुद्धले युद्धका कुरा जान्दैनन् । आफ्नै बाबु आमा र श्रीमतीले भनेको पनि मान्दैनन् र लुसुक्क दरबार छाडेर जङ्गलतिर तपस्या गर्न जान्छन् । जङ्गलमा हास्यव्यङ्ग्यको शास्त्रबारे कुनै चर्चा हुँदैन । त्यसो त भाषा र भावना भन्ने विषय नै छिन् छिन्मा बदलिन्छ भन्न सक्नुहुन्छ । तराजु समाउने बराजुहरू पनि उही अनित्यवादी दर्शनका प्रभावमा परेर कुनै नीति नित्य रहन्न भन्दै रागी अनुरागी बनेका छन् र धर्माधिकारी अड्डा पनि भ्रष्टाचारी अखडामा परिणत भएको छ । त्यसैले जोकशास्त्रको नेपाली भाषा विजोक छ त्यसबारेमा कुरै नगरौँ ! हुनत साहित्यमा भाषा खोज्ने हैन भावना हेर्नुपर्छ, भावनाबाटै मान्छे प्रभावित हुन्छ र प्रभावकै रूपमा हास्य व्यङ्ग्य लेखिन्छ— खेलिन्छ भन्ने ‘ढकाल सिद्धान्त’ पनि छँदैछ, तर गजुरेल सिद्धान्तमा कुरा अलि फरक पाइन्छ । कापी कोरेर किताप बनाउने, कुरा चोरेर सिनेमा सिङ्गार्ने बीच घण्टी हल्लाउँदै धूप धुबाँरेर दर्शकलाई चूप लगाउने कलाका पारखी मनोज गजुरेल साहित्यमा परिवार नियोजन आवश्यक छैन भन्दै ‘लुखास्त’ (२०५८) लेखेर अघि बढेका लक्का जवान हुन् । हनुम्यान (२०६०) पूजा गरी आफ्नो ‘मगज’(२०६८) सपार्ने ध्याउन्नमा अनेकौँ भजन कीर्तन गरेपछि उनको ‘डामाडोल’ डट कमभयो र जोकशास्त्र (२०७०) फु¥यो । बतासे सन्तान नगनेर हेर्दा त चार सन्तानका बाऊ अथवा माऊ मान्न सकिएला तर उनको मुखमा चुमेका र जीऊ वरिपरि घुमेका बतासे बच्चाहरू कति दर्जन छन् भन्ने कुराको पोल खोल्न मलाई पनि डर लागि रहेको छ । वास्तवमा अङ्ग्रेजी शब्द जोक (व्यपभ) को अर्थ जोकर पनि हुने हुँदा आज तपाईं हामी जम्मै जोक्कर बन्न पुगेका छौँ नत्र भने ‘जोक भनेको मजाक’ नभनी जोकशास्त्र भन्दै व्यङ्ग्यशास्त्रलाई परिहास गर्ने थिएनन् ।
    जोकशास्त्रको दर्शन विशिष्ट छ— हँसाइ र छँसाइको सम्मिलित बसाइमा बक्रवाणीका सुधारभाव एक्कै साथ आउने यो शैली कलाकारको गलामा, अभिनयमा, कुची र कलममा फैलिएको छ । पहिलेको भन्दा अहिलेको अवस्था अलि ‘मह’मय भए जस्तो लाग्छ । ‘किरा’ लागे पनि रातामकै रूचाउने नेपालीहरू ‘जीरे खुर्सानी’ पनि टोक्छन् ‘झ्याइँकुटी’बाजा पनि ठोक्छन् । नक्कली र सक्कलीको भेद नपाउने ‘हिँजो आजका कुरा’ मैले गर्नै परेन । त्यसो हुँदा दिल्लगी–छिल्लगीको तहबाट हास्यव्यङ्ग्य साहित्यलाई उचाल्ने भैरव अर्याललाई हास्यव्यङ्ग्य साहित्यको अगुवा मानेर नै मनोजले मजाक गरेका छन् । अड्चालिस हँस्यौलीको बिटो बनाएर ल्याएको ‘जोकशास्त्र’ चारपाटे साइजमा एकसय बाउन्न पानाको आकृतिमा देखिन्छ । ‘आँखालाइस् कि जुत्ता खाइस्’ भनेको सम्झने हो भने त जोकशास्त्र पढ्ने कुरै भएन तर इमेलमा फिमेलको तस्बीर हेरी मायाँ गाँस्ने जुगमा हास्यव्यङ्ग्यलाई हेर्ने हेराई पनि बदलिइसकेको छ । त्यसो त कोकशास्त्रको विकल्प स्वरूप जोकशास्त्र आएको र मण्डले मारबाट भाग्यले बँचाएको बताउने मनोजको मन घरी तल हल्लाउने घरी माथि हल्लाउने हुँदै आएको देखिन्छ । दशकक्षा पास गर्न एघार वटा स्कुल फेर्ने मान्छेले जिन्दगीभर एउटै पेशा रोज्नु चानचुने कुरा हुँदै होइन । कलमको मलम लगाएर होस् वा अभिनयको ओखती ख्वाएर होस् मान्छेका दिल–दिमागको तनाव घटाउन, सामाजिक विङ्गतिमाथि सिस्नोपानी लगाउन र परिवर्तनशील चेतना जगाउन उनको एकल प्रस्तुति रोचक र घोचक दुवै क्षमता युक्त छन् । ‘हास्यकदम्ब’ खेलेर ‘जोकशास्त्र’ शुरु गर्ने या राजा रिझाउने शक्तिबल्लभ जोकशास्त्रमा, लेखेर दुनियाँ हँसाउने र नेताका आँखा बिझाउने मनोज निकै कुशल प्रतिभा हुन् ।
    वास्तवमा हास्यव्यङ्ग्य साहित्य लेखन निकै गाह्रो काम हो । रङ्गमञ्चमा अभिनय गरेर या कुराले मान्छेलाई लठ्याएर आनन्दातिरकेमा पुरयाउनु कथनको कुशलता पनि हो । पढेर एक्लै हाँस्नै पाउने अवस्था पैदा गर्नु हास्यव्यङ्ग्य लेखकको कुशलता हो । सबैले त्यस्तो प्रभावकारी भाव, कथन र अभिनय एकै साथ संयोजन गर्न सक्दैनन्, जुन काम मनोजले गरेका छन् र जोकशास्त्रले त्यसको साक्षी बकेको छ । त्यसो त पुस्तक पढेर मात्र कसैले समीक्षा गर्छ भने त्यो समीक्षक आलुसमीक्षक हो । म ‘पिँडालुसमीक्षा’ लेखेको मान्छे हुँदा जोकशास्त्र जो छ त्यो नपढी कनै भन्दछु— हाँस्नु मनुष्यको कला हो ।
    अन्त्यमा अघि शिव पार्वतीले विष्णुसँग बाजी राखेको एउटा कथा सुनाएर म मनोज गाथाबाट अलप हुनेछु । कैलासमा शिव पार्वती सँगै रहदा रामलाई शिवले भनेछन्— हेर विष्णु अव हनुमान्लाई हँसाएर तिम्रो त्यो मोहेनी रूप उसलाई दिनु पर्ने भयो । विष्णुले हुन्छ प्रभु हजुरले हनुमानलाई हँसाउनुहोस् म मञ्जुर छु भनेछन् । हनुमान राम कै भक्त भएको हुँदा आफ्ना देवताको अनादर गर्ने कुरै भएन । अनित शिवले हँस्यौली सुनाउँदै हनुमान हँसाउन खोज्ने, हनुमानले मुख टम्म पार्दै फुलाउँदै गर्न थाले । हुँदा हुँदा यति जुग बित्यो कि हनुमानको मुखै बिग्रियो । जो आज भोलि तपाइँ हामी देख्दैछौँ नि– ओँठ बलपूर्वक जोडेको गाला पुक्क उठेको र बलपूर्वक दाँत किटेको !!!
    यति बृतान्त कहे पछि शिवविना पार्वतीले जन्माएका गणेश पशु र मनुष्यको एकताका प्रतिमूर्ति सूँड–लुर्के अनुहार भए पनि बुद्धिका देवता मुसाका मालिक र वावैसग लहसिएकी सरस्वती मैयालाई साक्षी राखी म नौ ग्रहका अधिपति बनेका आसा, ससा, रासा, भाषा, दसा, चिसा, सबै शास्त्रीका सामुन्नेमा जोकशास्त्र प्रादुर्भाव भएको जानकारी दिँदै अनुमोदनका निम्ति प्रस्ताव गर्दछु । आगे उपस्थित सर्वशास्त्री जो जे कहुन्– जोकशास्त्रका अनुयायीहरू सदा लोकप्रिय रहुन् र ‘अकबर–वीरवल संवाद’ झैं अथवा ‘आफन्तीको कथा’ जस्तो बनेर जुग–जुग जियोस् जय नेपाल ।

    पुतलीसडक, काठमाडौं