Author Details

  • हरिकला उप्रेती Total Record 98

    मुक्तिको जुक्ति जुँगे काजीलाई मर्ने बेलामा आफैँ आयो । धर्मकर्म गए बर्म भन्दै, बल छउन्जेल पाजी मोरो, भट्टीभट्टी भौँतारियो । तर, पशुपतिको दर्शन गर्न जाने पक्का भएपछि ऊ पनि आयो हामै्र हुद्दामा । हामी हद नाघेका एक झोली नागरिक लाग्यौँ पशुपति दर्शन यात्रामा ।

    हामी दर्शनको प्रथम चरणमा गुहेश्वरीबाट मृगस्थली उक्ल्यौँँ । जहाँ पुग्ना साथै महादेवको खासा राजधानीमा पुगेझैँ लाग्यो । दुईचार थान युवाहरू खान्कीले अनुहार र खप्पर फुलेका । स्वस्थानी व्रतकथाका शिवझैँ लट्टा बाटेका । भाङ र धतुरोले दिनदहाडै झुलेका । त्रिशूल अगाडि गाडेर कुटीभित्र गाँजा र चरेसको चलखेल गरेका । यस्तैयस्तै अनेकौँ दृश्यावलोकन गर्दै हाम्रो शिवलोक यात्रा अगाडि बढ्यो । अलि पर हेर्दा, असहाय, रोगी र वृद्धहरूका बीचमा भुसतिघ्रे बाबा एकोहोरो भट्याइरहेका थिए– “ए बालख ! भगवान्का लागि दया गर ।” तिनै दया माग्ने भगवान् अरुका आँखा छल्दै अन्धाका भागबाट रुपैयाँ तान्दै थिए । त्यो देखेर छेउमा उभिएका पुलिस भाइ मुसुमुसु हाँस्दै थिए । हामीले पनि हाँसोमा हाँसो थप्दै भन्यौँ– यस्तो मनमोहक दृश्य भोलेबाबाको राज्यबाहेक अन्त कहाँ होला ?

    हामी जय भोले भन्दै बाटो लाग्यौँ । बाटामै आयो बागमती । बागमतीका बास्नाले नाकै नकाम होला भनेर मैले मुखले सास लिएँ । सासले एकैपटक ओहोरदोहोर नगरी, नाक र मुखबाट अँटाइनअँटाई उल्टी भयो । अब भने असत्ति पशुपतिसँग असाध्यै रिस उठ्यो । रिसको झ्वाँकमा कुछेद बुढा ! काम नपाएर गन्धे बागमतीका किनारमा बस्यौ ? भनेर झाँट्नै आँट्याथेँ । तर तुरुन्तै बिचराको विवशताप्रति दया लाग्यो । बुढा, बरा ! कुवाको भ्यागुतो, घर छोडेर कतै नहिँड्या । कोशी कर्णालीको स्वच्छ पानी देख्दा हुन् त उतै बसाइँ सर्दा हुन् । फेरि जाऊन् पनि कसरी ?“ खर्च न बर्च बाटैमा मर्छ” भने जस्तो न जहाजमा हुइँकने हविगत छ । न त गाडीमै गुड्ने टिकट । भक्तले चढाएको भेटी, भट्टले भुइँमा खस्नै नदिई भट्टाभट भ्याइदिँदोरैछ । बिचरा बाजे ! सधैँ बेखर्ची ।

    बूढाको दर्शन गर्न, दैलामा मात्र के पुगेको थिएँ । एक हुल बाँदरले प्रसादको पोको देखेछन् । पोको पहिल्याउँदै मलाई दुईतिरबाट दाँत देखाए । डरले मुटु डुगडुग काम्यो र जिउ जिरिङ्ग भयो । बथानका बीचबाट बलियो बाँदर बुरुक्क उफ्रियो र प्रसादको पोको थुत्यो । अलि पर्तिर लग्यो र पातीजति पछाडि फ्याँक्तै प्रसाद हजम पार्यो । बुढाले आफ्नो सुरक्षाका लागि सुरक्षागार्डहरू सबै पुर्खाहरू नै राखेका रहेछन् । त्यसैले छानादेखि पालीसम्म र ओछ्यानदेखि थालीसम्म पुर्खाकै हालीमुहाली रहेछ । “केमा पर्यो घिउ दालमा” भनेझैँ बुढाकै आसेगाँसेले प्रसाद खाएकाले खासै पिर परेन । भित्र पसेर यसो गोजीमा हात हालेको त मात्र एउटा ढ्याक बाँकी रहेछ । अब खाऊन् बूढा । यस्तो महँगीमा एक ढ्याकले के आउँछ ? भन्दै फ्याँकिदिएँ । ढ्याक पातीभित्र पुरियो । पुजारीले निक्कै बेर लाएर खोज्यो, बिचरालाई लाग्यो होला ढ्याक निक्कै गतिलो छ । तर ढ्याक हात पार्नासाथ उसले हान्ने गोरुले झैं हेर्यो । म भने हारेको गोरु झँै बिस्तारै पछाडि फर्किएँ ।

    बाहिर निस्कँदा भक्तजनका जुत्ता यताउता कता हो कता बेपत्ता भएछन् । पालेले प्याच्च भन्यो– “ए बाजे, बचत भो पछिका लागि, स्वर्ग जाँदा खाली खुट्टा जानुपर्दैन ।” “आफ्नो त अभागी खप्पर जहाँ गयो ठक्कर” बुढीऔँलो च्याउने गर्या जुत्ता चल्ती नै भएनछन् बा । कहाँबाट बचत हुनु । स्वर्ग जाँदा पनि बुच्चै जानुपर्ने भो म अभागीले लौ न !

    तेह्रथुम, हाल : काठमाडौं