Author Details

  • भैरव अर्याल Total Record 70

    ललितपुर स्थित कोपुण्डोलमा वि.सं. १९९३ साल असोज ५ गते जन्मिएका तीर्थनाथ अर्याल नै आधुनिक नेपाली हास्यव्यङ्ग्यका शीर्ष व्यक्तित्वका रुपमा स्थापित हास्यव्यङ्ग्यकार भैरव अर्याल हुन् । उनका चिनाको नाम होमनाथ अर्याल र आमाको नाम खेमकुमारी हो संस्कृत भाषाको अध्याय शिक्षा आरम्भ गर्ने अर्यालले २०२५ सालमा अंग्रेजीमा स्नातक र २०२६ सालमा नेपालीमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका थिए । केही समय शिक्षण पेशामा संलग्न रहेका अर्यालले २०१८ सालदेखि २०३३ सालसम्म गोरखापत्र संस्थानको सम्पादकीय फाँटमा रही पत्रकारिता गरेका थिए । प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित २०२२ सालको कविता महोत्सवमा ‘नैतिकताको आराधना’ शीर्षकको कविता प्रथम भई स्वर्णपदक प्राप्त गर्न सफल अर्याल साहित्यका बहुआयामिक प्रतिभा हुन् । २०१३–२०१४ सालतिर ‘हालखवर’ पत्रिकामा ‘खोला पारीको पुरेतबाजे’ का नामबाट ‘सरकारले दुलो खोज्नु पर्ला’ शीर्षकमा प्रकाशित रचना नै उनको पहिलो प्रकाशित हास्यव्यङ्ग्य रचना मानिन्छ । ‘अलभर भैया’, ‘भारवि’, ‘विष्णु शर्मा’, ‘वकमफुस शर्मा’ आदि उपनामले समेत हास्यव्यङ्ग्य सिर्जनामा संलग्न अर्यालका ७ वटा हास्यव्यङ्ग्य कृति र दर्जनौं फुटकर रचना प्रकाशित हुन् उनका ‘काउकुती’ (२०१९), ‘जयभु“डी’ (२०२२) ‘गलवन्दी’ (२०२६), ‘इतिश्री’ (२०२८) र ‘दश अवतार’ (२०३३) ‘टेढो ऐना’ (२०६५) ‘कारिन्दाको दिनचर्या’ (कविता सङ्ग्रह) कृतिहरू नेपाली साहित्यकै उत्कृष्ट निधि मानिएका छन् । ‘साझा कथा’, ‘साझा निबन्ध’, ‘रचना’, ‘रत्नश्री’, ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘छ्याकन’ ‘चन्द्रलोक’ आदि पत्रपत्रिका र सामयिक सङ्ग्रहको कुशल सम्पादक अर्याल मूलतः हास्यव्यङ्ग्यका शास्वत शिल्पि हुन् । गम्भीर अभिरुचि र अध्ययनका कारण भैरव अर्यालको कलम कविता, कथा, समालोचना र निबन्ध सबैतिर दौडन्थ्यो । साहित्यमा उनको योगदान बहुआयामिक रहे पनि उनको व्यक्तित्वको सर्वाधिक प्रभावशाली पक्ष भने हास्यव्यङ्ग्य लेखन नै हो ।
    “एकथरी ठान्लान् हास्यव्यङ्ग्य भनेको अरुलाई उडाएर हाँस्ने कला हो, तर त्यो उडाइने ‘अरु’ व्यक्तिमा सीमित रह्यो भने त्यस व्यङ्ग्यले हास्यको होइन वैमनस्यको सिर्जना गर्दछ । त्यसैले व्यङ्ग्य व्यक्तिको होइन, व्यक्तिभित्रका अड्मिल्दा, विल्या“टा र विग्याहा प्रवृत्तिमाथि हुनुपर्छ जसले साधारणीकृत भई त्यस खालका प्रवृत्ति हुनेहरू सबैलाई छुन सकोस् ।“ यसो भन्ने अर्याल स्वयं हास्यव्यङ्ग्यका शास्वत शिल्पि हुन् । उनमा समाजका कुुनकुन अङ्गप्रत्यङ्गमा के कस्ता विकृति, रुग्णता, कुरुपता र कमजोरीहरू छन्, तिनको सम्यक् पहिचान गर्न सक्ने सूक्ष्म यथार्थदृष्टि छ र समाजका ती विकारहरूमाथि वेधक तरिकाले मर्मस्थलमै प्रहार गर्न सक्ने प्रखर व्यङ्ग्य चेत पनि छ । आत्मपरक र वस्तुपरक दुवै अभिव्यक्ति प्रणाली अङ्गीकार गर्ने भैरव अर्यालका ‘हास्यव्यङ्ग्य’ निबन्धहरूमा पाठकहरूलाई पेट मिचीमिची हसाउन सक्ने शिल्पगत चमत्कार वा कला पनि बेजोडको छ । सतही रुपबाट हेर्दा उनका निबन्धहरू हाँस्ने हँसाउने प्रयोजनका लागि मात्र लेखिएका जस्ता लागे पनि भित्री तहसम्म छिचोल्ने र निबन्धात्मक अन्तर्वस्तुको विश्लेषण गर्दा सामाजिक विसङ्गतिप्रतिको बेधक व्यङ्ग्य नै तिनको मूललक्ष हो भन्ने स्पष्ट हुन आउँछ । (राजेन्द्र सुवेदी/हीरामणि शर्मा, नेपाली हास्यव्यङ्ग्य, पृ. ४९ ।) नेपालको समकालीन युगबोध, यथार्थवादी चिन्तनदृष्टि, मानवीय मूल्यको खोजी र मनोरम हास्यमिश्रित प्रखर एवं सशक्त व्यङ्ग्य चेतना हास्यव्यङ्ग्यकार भैरव आर्यालका प्रमुख प्रवृत्ति हुन् । उनका रचनामा हास्यचेत र व्यङ्ग्यचेत दुबै सशक्त रहेकाले हास्य र व्यङ्ग्यको अनुपम सन्तुलन पाइन्छ । वैयक्तिक सामाजिक आर्थिक, राजनीतिक साहित्यिक, साँस्कृतिक, राष्ट्रिय–अन्तर्राष्ट्रिय विषमतामाथि कलात्मक ढङ्गले निर्ममतापूर्वक व्यङ्ग्य गर्नसक्नु उनको विशेषता र शिल्पगत वैशिष्ट्य हो ।
    घनघोर अभाव र गरीबीसँग निरन्तरको युद्ध चलाई अन्ततः २०३३ सालमा भौतिक रुपमा पराजित भएका भैरव अर्याल हास्यव्यङ्ग्य लेखनशैलीमा अपराजयी छन् । साँच्चै भन्ने हो भने भैरव अर्याल नेपाली हास्यव्यङ्ग्यको पर्याय हो, आदर्श हो र आस्था हो । कविता काव्यमा महाकवि देवकोटा जस्तै हास्यव्यङ्ग्यमा भैरव अर्याल सिङ्गै सगरमाथा हो । नेपाली हास्यव्यङ्ग्यको आधुनिक काललाई कालजयी बनाउने भैरवको हास्यव्यङ्ग्यकारिता अभिव्यञ्जनाको कौशल, विसङ्गतिमाथिको कलात्मक र प्रखर प्रहार अनि बेथितिमा थिति र विसङ्गतिमा सङ्गति निर्माणका निम्ति उनको आव्हान अतुलनीय छ । नेपाली साहित्यको अर्को देवकोटा दुर्लभ भएजस्तै हास्यव्यङ्ग्यात्मक शैलीका निम्ति भैरव अर्याल एउटा दुर्लभ प्रतिभा हुन् । अर्याल जस्तै अर्को प्रतिभा पाउन नेपाली हास्यव्यङ्ग्यले अझै केही दशक पर्खिनुपर्ला ।
    तमामखाले विसङ्गतिका विरुद्ध विद्रोहलाई व्यङ्ग्यात्मक वाणी दिन नथाकेका अर्यालले २०३३ सालमा विसङ्गत मृत्यु (अर्थात् आत्महत्या गरेर) वरण गरेर आफ्नै जीवनमाथि पनि क्रूर खालको व्यङ्ग्य गरे ।
    नेपाली हास्यव्यङ्ग्य (२०५८) बाट