सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झण्डा, डण्डा र धन्दा

Nepal Telecom ad

झण्डा र डण्डाको महत्व बुझेकाले कहिलै झण्डा छोड्दैनन् । त्यसैले होला पूर्खाहरूले उखान बनाए, झण्डा न निशान, उसै भएँ कप्तान ? तर यहाँ चर्चा गर्न लागिएकोचाहिँ देशको राष्ट्रिय झण्डाको विषयमा होइन । दल र बलका झण्डा बोकेर मुलुकलाई नै बण्डा गर्ने जमानामा राष्ट्रिय झण्डाको के कुरा ? त्यस्ता झण्डा बोक्नेहरू उहिले र खुइले भइसके । नालापानीमा भोकभोकै लडेकाहरू, खलङ्गामा खोक्रोपेट लिएर नेपालको सिमाना कोर्न हिँडेकाहरू, अल्मोडा र टिष्टासम्म नेपालको मानचित्र बनाउन हिँडेकाहरूले बोकेका थिए । त्यसपछि यसलाई छयालीससाल उताकालेमात्र बोके । त्यतिबेलाका संविधान दिवस मनाउँदा होस् वा राजामहाराजाका जन्मदिवस झण्डामा अविर राखेर झण्डोतोलन गर्दा अबिर वर्षा हुन्थ्यो र ठड्याएको डण्डाको टुप्पोमा पुगेपछि झण्डा पनि फरफर हावामा हल्लिन्थ्यो । यो गन्थनमा राष्ट्रिय झण्डाको कुरा नगरुँ । आउटडेटेड कुरा गरिस् भनेर तपाइँहरूले मलाई प्रतिगामीको लगाम लगाएर सडकमा दिउँसै लगार्नुभयो भने चिनेकाले समवेदना दिने दुख पाउनुहुन्छ । आउनुहोस् यहाँ दल र बलका झण्डाकै बखान गरुँ । 

झण्डामा राजनीतिको अण्डा हुन्छ, त्यसबाट बग्रेल्ती चल्लाहरू कोरल्छन् दलहरू । यस्ता चल्लाहरू नै दलका गल्ला बन्छन् र मुन्द्रे मुशले, तिघ्रेहरू बटुलिन्छन् । यस्ता झण्डा बोकेपछि सयौं हजारौं डण्डा बोक्न पाइन्छ र डण्डा बोक्नेले वन फाँड्न पाइन्छ, कसैको तोरीबारी माड्न पाइन्छ र कसैको आँखा लाग्दा घर र खेतबारीमा गाड्न पाइन्छ । झण्डाविनाको डण्डा र धन्दा नयाँ नेपालमा सम्भव देखिएकै छैन । के तपाइँ निर्वाध चन्दाको धन्दा गर्न चाहनुहुन्छ ? के तपाइँ निहित स्वार्थमा मुलुक बन्द गर्न चाहनुहुन्छ ? झण्डा अनिवार्य छ । हिजो आज तस्करका लश्करमात्र होइन, मुलुक लुट्ने र भुट्नेहरू पनि झण्डाभित्रै छन् । यस्ता झण्डा बोकेपछि गाडी पोल्नुस् कि बाटोमा भाटो पसारेर चन्दा असुल्नुस् कसैले कार्वाही गर्नेवाला छैन ।
झण्डाले तपाइँलाई शक्ति पनि दिन्छ र भक्ति पनि । भक्ति जसको बोक्नुहुन्छ उसैले दिन्छ शक्ति झण्डाले बटुलेका चल्लाहरूबाट पाउनुहुन्छ ।जब तपाइँसँग भक्ति र शक्ति मिल्छ तब तपाइँ यो देशको सुपर नागरिक बन्न सक्नुहुन्छ । ऐन कानुनका खोस्टा त झण्डा नबोक्नेहरूका लागि हो । तपाईलाई त ऐन होइन चैनमात्र मिल्छ । झण्डाभित्र बसेर गरेको काटमारले त वर्ग दिन्छ र त्यो वर्गले तपाइँलाई क्रान्तिको सर्ग दिन्छ । तपाइँ महान भ्रान्तिकारीको विचार र मूल्याङ्कनमा महान क्रान्तिकारी हुनुसक्नु हुने छ । एउटा दुईटा उदाहरण लिनुहोस्, तपाइँ झण्डा नलिएको बेलामा बसको छतमा बसेर हाहु गरेर यात्रा गर्न पाउनुहुन्छ ? झण्डा लिएर नहिँडेको बेला खुला सडकमा बसेर तुफानी गतिमा हुइँकिने गाडीलाई रोक्न र छेक्न सक्नुहुन्छ ? पसल खोलेर व्यापार गरिरहेकाहरूको सटरलाई झण्डा नबोकी बन्द गराउन सक्नुहुन्छ ? झण्डा नबोकी सुरक्षाकर्मीमाथी ढुङ्गाइँटा बजार्न पाउनुहुन्छ ? झण्डा नबोकी कसैलाई मार्नुहोस् त तपाइँ हत्यारा हुनुहुन्छ तर झण्डा बोकेर मार्नुभयो भने विजेता मानिनु हुन्छ । त्यसैले नयाँ नेपालमा झण्डाको खेती मौलाएको छ । परम्परा र संस्कृति बौलाएको छ । बौलाउन दिनुस् नैतिकता, संस्कृति र संस्कारलाई । त्यो पुरानो नेपालको कुरा हो । पुरानो नेपालका धेरै कुरालाई झण्डा बोकेर डण्डा बजारिई सकिएको छ ।
मेरो त एउटै सल्लाह छ । तपाइँ यही देशमा बस्ने चाहना राख्नुहुन्छ र सुखपूर्वक बाँच्ने चाहना राख्नुहुन्छ भने झण्डा नछोड्नुहोस् , डण्डा नछोड्नुहोस् । त्यसो भए तपाइँ दिन दुगुना रात चौगुनाका दरले माथि उठ्ने धन्दामा निरन्तरता दिन सक्नु हुनेछ । चाहे व्यापारी हुनुहोस् चाहे कर्मचारी झण्डा बोक्नुहोस्, भाषण खोक्नुहोस्, आवश्यकताअनुसार डण्डा ठोक्नुहोस् नेपालको जय नभए पनि तपाइँको भने सँधै जय हुने छ । जय झण्डा, जय डण्डा, जय धन्दा ।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे