सुन्दरपुर ! गाउँको नाम र प्रकृतिले माया गरेर नै होला, साँच्ची नै सुन्दर छ बस्ती । हरियालीको अभाव छैन । पानीको पीर छैन । सम्पन्नता यसको अर्को परिचय हो । हुन त जमिन्दार प्रताप सिंह ठकुरीको पुर्खाले बिर्ता पाएको मौजा हो यो । तिस बर्ष अघि जमिन्दारको परिवार बाहेक सबै मजदुर थिए । प्रताप सिंहले आफू बेलायतबाट पढेर फर्किएपछि आफ्नू सय बिघा जमिन सय घरको नाममा पास गरेरै दिए । हिजोका रैतीहरू आज नागरिक भए । सबैले उनको जय जय गरे । उनै बाबुसाहेबको एउटा मात्र पुत्र रत्न शहरमा पढ्थ्यो । उतै प्रेमविवाह गर्यो । विवाह भएको महिना दिन नपुग्दै दुर्घटनामा परेर पुत्रको निधन भयो । बुहारी पूजा घर आइन् । बुहारीलाई बाबुसाहेबले छोरीको दर्जा दिए । नजिकै, नदीको किनारमा विशाल शिव मन्दिर थियो । पुष्प वाटिका पनि अत्यन्त सुन्दर ।
भजन गाउन सिपालु पूजा ससुरा बाको अनुमति लिएर मन्दिर जान थालिन् । रुपको खजाना नै थिइन उनी । पीत बस्त्रमा योगिनी । उनको स्वरले मन्दिर झङ्कृत हुन्थ्यो । गाउँलेहरू बिहान बिहान भजन सुन्न आउन थाले । मन्दिरको रौनक बढ्यो । पूजारी थिए एक युवा बाहुन । टुहुरो अनाथाश्रमबाट ल्याएर उनै जमिन्दारले पालेको केटो । संस्कृतमा आचार्य भए पनि जमिन्दारको गुण तिर्न पूजारी भएर बसेको । शुद्ध आचरण । उन्तिस बर्षको लक्का जवान । धार्मिक सिनेमामा कृष्णको भूमिकामा अभिनय गर्न सुहाउने । अर्को नेपाली नितिश भारद्वाज ! बोली सारै मिठो ! गाउँले नव यौबनाहरू पूजारीकै सपना देख्थे । लाजको कारण मौन ।
तिन वर्ष बित्यो । पूजा पनि मन्दिरको सेवामा लीन । फागुनको १४ गते । बिहान मन्दिरको घन्टी बजेन । गाउँलेहरू आए । मन्दिर बन्द । पुजारीको कोठामा भोटे ताल्चा । ढोकामा एउटा खाम । खबर पाएपछि बाबुसाहेब पनि आए । पत्र उनैले खोले । ‘आदरणीय पिताश्री र गाउँले बन्धुहरू, प्रभुले हामीलाई हाम्रो तपस्याको फल दिए झैं लाग्यो र प्रकृतिको नियम बिरुद्ध हामी जान सक्ने कुरै आएन । हामी पनि सामान्य मान्छे नै हौँ । यो घटनालाई सहज रुपमा लिनु होला । हामी जहाँ रहे पनि सुखी नै रहने छौं । अल बिदा !’
सबैको अनुहार हेर्न लायक थियो । ‘पण्डितजी पनि एम्बुसमा परेछन् ।’ एउटाको मुखबाट फुत्त निस्कियो । बाबुसाहेबको अनुहारमा भने दैवी चमक थियो ।

चितवन