हाई, के गर्दै हुनुहुन्छ ? माम पकाइपकाई हो ? कति र कसरी पकाउनुभयो त माम ? अनि के के पकाउनु भयो नि ? हेर्नुस्, अरू कुरामा कन्जुस्याइँ गरे पनि गर्नुस् केही फरक पर्नेवाला छैन । तर आफू खाने र आफ्ना आसेपासेलाई भाग लगाउने काम चाहिँ मन फुकाएर गर्नुपर्छ है ।
घरमा खाने पकाउने सामान होस्, नहोस् किन्नलाई खल्ती रित्तिएर आफू टाठ पल्टिएकै भए पनि खानु र ख्वाउनु चाहिँ धीत् मर्ने गरी गर्नुपर्छ क्या ! यसका लागि छरछिमेक, इष्टमित्र अनि चिनजान भएका धनीमानीसँग रित्तो झोली फैलाएर भिक मागेर भए पनि टन्न खानुपर्छ । पकाउने भाँडो ठूलो छैन सानो मात्र छ भने पनि कुनै टेन्सन नलीकन भाँडो भन्दा कयौँ गुना बढी पकाउने कुरा हालेर मजाले पकाए हुन्छ । अब भाँडो सानो भएर पोखियो, पाकेन, डढ्यो भने पनि दोष पकाउनेलाई फिटिक्कै लाग्दैन भाँडालाई लाग्छ किनभने त्यसलाई कसले सानो हुनु भन्या थ्यो त ? खुरुक्क ला’र चाहिने भन्दा ठूलो हुनुपर्छ नि ! कसरी गर्नु यस्तो काम भनेर अलमल्ल पर्नु भयो कि क्या हो ? अलमल्ल नपर्नुस् । कस्तो सजिलो छ यस्तो काम गर्न । अर्काले गरेको देख्दा, सुन्दा मात्रै कस्तो–कस्तो अप्ठेरो लाग्ने हो । आफूले गर्न पाएपछि त कस्तो रमाइलो र मज्जा हुन्छ । जति सानो भाँडो भयो उति धेरै पकाउन खान र घिउ कहाँ पोखियो ? आफ्नै थालमा भने झैं गरेर भाग लगाउन मन लाग्छ । अझै जान्नु भएन कि क्या हो ? हत्तेरिका ! तपैं त थानकोट कटेर नौबीसे नपुगुन्जेलसम्मको बाटो जस्तै सोझो र सिधा पो हुनुहुँदो रहेछ । अब कसरी तपैंले बुझ्ने गरी बुझाऊँ भने अँ, अँ... साँच्चै हाम्रो देशको सरकार र उसको काम कुरा हेर्नुस्, ऐनाजस्तै सबै कुरा छर्लङ्क हुन्छ । यति भएपछि अरू कुनै उदाहरणै चाहिन्न । देशको आम्दानी अनि बजेट हेर्नुस् । ठूल्ठूला हाकिम, नेता आदिले सरकारका तर्फबाट पाएको सुविधा भन्दै गरेको खर्चको बिल हेर्नुस् । अनेक सुरसामुखी योजना परियोजनामा लगानी गरेको लागत् हेर्नुस् । अनेक सभा, गोष्ठी, सेमिनार आदि के–के जातिमा भन्दै बगाएको नोटको खोलो हेर्नुस् त देख्दै रिङ्गटा लाग्ने तर्नै नसकिने छ कि छैन ? यस्तै जनताको तालु नै भास्सिने गरेर ऋणको भार बोकाई ठूलाठालु नेता र तिनका नातागोताले राष्ट्रको ढुकुटी रित्याई देश विदेशमा गरेको भ्रमणको भुक्तानी हेर्नुस् त जेट विमानले पनि बोक्न नसक्ने छ कि छैन ?
अब अरू कति उदाहरण दिऊँ ? हुन त जति दिए पनि कहिले सकिने भए पो !
ला ! कुरा गर्दागर्दै मेरो एकमाने भाँडोमा पकाएको एक पाथी चामलको भातलाई त मैले भुसुक्कै भुलेको भन्या । काइदाको मीठो र राम्रो भएर पाकिसक्यो होला ! आहा ! क्या स्वादिलो भयो होला हगि !

‘झिँगापुर’ निबन्ध सङ्ग्रहबाट