‘हेर्नोस् न मासुको मूल्य हुन्छ ,कुराको हुन्न’ भनेर प्वाक्क भन्नु पनि भएन । नभने पनि तपाइँहरू त पत्याउनुहुन्न नि ? तपाइँहरू सानो हुँदा चाल पाउनुभयो कि भएन । तपाइँका दाजु दिदीहरू ठूलै भएर गरेका क्रियाकलापहरू देखेर बाबा आमाले कस्तो बच्चाजस्ता मान्छे हुन् भन्दै गाली गर्नुहुन्थ्यो । आफू त त्यतिबेला केटाकेटी मान्छे नै परियो, कुराको जुरो नबुझे पनि खिस्स हाँसिदिन्थेँ । अहिले त मान्छे मात्र होइन उमेरले बूढो मान्छे बन्ने बेला पनि भैसक्यो तैपनि माथि चढ्ने, उकालो चढ्ने, उकालो उक्लने कुरा त छोड्नुहोस् अब त्यही केटाकेटी जस्तो पनि कहाँ हुन सकिएको छ र ?
तपाइँहरू लख काट्नुभयो होला कस्तो काम नलाग्ने मान्छे रहेछ, बुढो हुने बेलाँ पनि केटाकेटीजस्तो बन्न नसक्ने तर कुरा मतिर मात्र होइन तपाइँतिर हेर्नुभयो भने पनि फरक भेट्नुहुन्न । अब नढाँटीकन खोतल्न थालौँ त हाम्रा कृयाकलाप । हामी केटाकेटी जस्ता पनि बन्न नसकेका कृयाकलापहरू । केटाकेटीकै कुरा गरेको बेलामा मलाई एउटा कुराको याद आयो, के याद आयो भने ‘ठूला भन्दा साना जाती, मान्छेभन्दा पनि केटाकेटी जाती’ । हो रहेछ पनि नत्र भने प्रत्येक केटाकेटीलाई सानोमा आफ्नो बाबाआमाले हुर्काउँदा लाजघिन केही नमानी कति प्यार गरेर हुर्काउँछन् । तर जब तिनै केटाकेटी मान्छे हुन थाल्छन् तब बाबा आमाको माया ममता पनि लथालिङ्ग र भताभुङ्ग भएर आउँछ । हुन त त्यसमा पक्का पनि केटाकेटी र मान्छे हुँदाका अनुभवहरू,काम र आचरणहरू समाहित भएका छन् ।
केटाकेटी अनि बच्चाहरू खराब प्रवृत्तिका हुन्छन्, कस्ता खराब प्रवृत्तिका भन्नुहोला भने ठूला मान्छेले, आधुनिक मान्छेले, सम्भ्रान्त मान्छेले दैनिक व्यवहारमा प्रयोग गर्ने काम कुराहरू, केटाकेटीहरूले, बच्चाबच्चीहरूले पटक्कै गर्न सक्दैनन् । आजभोलिका ठूला मान्छेले मै हूँ भन्नेले साँचो एउटा पनि बोल्दैनन् । अनि फेरि अर्को कुरा आफूले बोलेको पनि एउटा गर्दैनन् । प्रत्येक काम कुराहरूमा छलकपट, रिस–डाह, अन्याय, अत्याचार, पाखण्डी दूराचार, अभद्र, अशिष्ट, असभ्य, व्यभिचारी, बेकामी, विद्रोही, विवेकहीन,विजोगी, वैरागी.... जस्ता थुप्रै –थुप्रै राम्रा कामहरूको अनुशरण गरिरहेका छन्, तिनै अनुशरणहरू धेरै गर्न सक्ने नै धेरै माथि परिरहेका छन् । आफू–आफूको मपाइँको युद्धमा धन, तुजुक र घमण्ड धेरै गर्न सक्नेले नै विजय उत्सव मनाइरहेका छन् । तिनै असल मान्छे हुन् , जसले खराब काम गर्न सक्छ, दुई नम्बरी काम गर्न सक्छ, तिनै सभ्य मान्छे हुन्, जसको व्यभिचार, अश्लीलता, अनैतिकताले आर्जेको पैसाले दरबार बनाइरहेका छन् । तिनै असल नेता हुन्, जसले जनताको आलो रगत र पसिना मिश्रित श्रमले आफ्ना भूँडीको विकास अत्यन्त दु्रतगतिमा दैनिक एक के. जी. को दरले वृद्धि गरिरहेका छन् । तिनै राष्ट्रप्रेमी मान्छे हुन्, जसले देशको अस्तित्व, अस्मिताको सम्झौता मात्र होइन पहाड भत्काई ढुङ्गा माटो पनि बेचिरहेका छन् । यस्तै छ यहाँको चलन–‘बुद्धि भन्दा बल ठूलो, विद्या भन्दा धन ठूलो’ त्यसैले त मान्छेहरू राम्रा छन्, असल छन् ।
उता बच्चाका, केटाकेटीका कुरा गर्दा, आधुनिक मान्छेका, सभ्य मान्छेका, राष्ट्रवादी मान्छेका, नेतानेतृ मान्छेका गुणहरूको केही अंश पनि केटाकेटीहरूमा रहँदैन । बच्चाहरू चोर्न जान्दैनन्, ठग्न, ढाँट्न, फाट्न, पड्कन, भत्कन दुई नम्बरी काम गर्न आदि इत्यादि, आजभोलिका असल मान्छेले गर्ने कृयाकलापहरू, बानीबेहोराहरू, आचरणहरू केही पनि गर्न जान्दैनन् । त्यसैले त कुनै मान्छेले राम्रो काम ग¥यो भने ठूला मान्छेहरूले, असल मान्छेहरूले कस्तो बच्चाजस्तो रहेछ यार, आफ्नो टपरी सोझ्याउने कुरा नै गर्दैन बा भनेर जिस्काउँछन् । हो साँच्ची मान्छे पनि बच्चाजस्ता, केटाकेटीजस्ता हुन्छन् र ?

वालिङ, स्याङ्जा