कर्मचारीको जनै, नेताको गायत्री मन्त्र, वकिलको कालो कोट अनि पत्रकारको कलम हो भ्रष्टाचार । सेना पुलिसको बर्दी, महाराजको मर्जी, डाक्टरको इन्जेक्सन, मास्टरको ट्युसन सबै करप्सन ! जता हेर्यो उतै दिग्दार लाग्दो अवस्था । कतै कुनै क्षेत्र पनि विशुद्ध नदेख्दा त भन्न मन लाग्छ राष्ट्रकै एड्स् हो भ्रष्टाचार । न कहिल्यै निको हुन्छ न ओखती नै हुन्छ । “घुस दिन्या र घुस लिन्या दुबै देशका सत्तुर हुन् ।” भनेर पृथ्वीनारायणले त्यत्तिकै कहाँ भनेका हुन् र ? यो राष्ट्रको कोर पो त ! जानी जानी पनि दुनियाँले गर्न नछोड्ने अचम्मको मायाजाल हो यो । एक प्रकारको नशालु पदार्थ भने पनि हुन्छ, मजा लाग्छ भ्रष्टाचार गर्न पायो भने ।

आजकल बाहुनहरूले जनै लगाउन छोडिसके । एकाध टपरेहरूले लगाए बेग्लै कुरा हो । तिनीहरू पनि कम छन् र ! तीन घण्टामै २८ अध्याय भागवत पाठ गर्न सक्छन् । कति शुद्ध पढ्दा हुन् ? त्यसैले ‘भात पाठ’ भन्न थालेका छन् भागवत पाठ नभनेर । यता ‘भागवत’को ‘गव’ झिकेर छिटो भने जस्तो पनि हुने उता ‘भात’को लागि गरिने भन्ने अर्थ पनि लाग्ने । कस्तो खालको शब्द ‘भात पाठ !’

साँच्चिकै जनै नछोड्ने त कर्मचारी वर्ग हो । उसले आफ्नो धर्म छोडेको छैन । बाहुनले जनै छोडे भन्दैमा कर्मचारीहरूले भ्रष्टाचार छोड्नैपर्छ भन्ने छ र ? उनीहरूलाई त स्टाफ कलेजमा लगेर सिकाइन्छ । साह्रै सोझो र सज्जन रहेछ र भ्रष्टाचार गरेन भने दुर्गममा सरुवा हुन्छ । दुर्गममा सरुवा हुनु जत्तिको ठुलो सजाय कर्मचारीलाई अरु के हुन्छ ? चाकडी, चुक्ली र चाप्लुसीका भरमा अघि बढेन भने त्यो कर्मचारी नै हैन । ‘चाचुचा’ मूल मन्त्र र भ्रष्टाचार जनै हुन् कर्मचारीका । गाईको दुधले नुहाएर गधालाई बरु गाई बनाउन सकिएला, कर्मचारीहरूलाई मान्छे बनाउन गाह्रै पर्छ ।

घाँटीमै झुण्डिए पनि सधैं घोकिरहनु पर्ने गायत्री मन्त्र आजभोलि बजारमा विभिन्न प्रसारणबाट सुन्न पाइन्छ । खुसुक्क सुन्नुपर्ने, महिला र दलितलाई सुनाउनै नहुने यो मन्त्र सबैले थाहा पाए । अझ सरातमा बिरालो बाँधे जस्तो सुनाउने बेलामा शङ्ख–घन्ट बजाउन पठाएर गम्छाले मुख छोपी सुनाउँछन् जब कि सुन्नु पर्नेले नै सुनेको हुँदैन । हाँसो उठेर आउँछ बा ! अब त्यस्तै थाहा पाए सबैले नेताजीहरूका भाषण ! चुनावी होस् वा अचुनावी आमसभा, कोणसभा, कोठेसभा मात्र हैन गोठेसभासमेतमा विकास गर्छौं, भ्रष्टाचार रोक्छौं, मूल्यबृद्धि घटाउँछौं, रोजगारी दिन्छौं... भन्ने मन्त्र जप्छन् । तस्कर संरक्षण गर्नेमा पनि उहाँहरूकै नाम पहिले हुन्छ । के गर्ने ? देश बनाउने विगार्ने जिम्मा पाएका महोदयज्यू नै भ्रष्टाचारको दलदलमा फसेपछि अरु जाबाको भ्यागुते उफ्राइले केही लछारपाटो लाग्ने हैन ।

कुन्नि कति समय पहिले हो एउटा ठूलै नेताजीको मुखमा जेट प्लेन घुस्न लागेको कार्टुन देखेको थिएँ, अलिकति त छिरेको थियो मुखमा । अख्तियार भन्ने एउटा गुरु छ उहाँहरूको । सधैं ऊसित डराएर गायत्री मन्त्र घोकिरहनुहुन्छ उहाँहरूले । अब त त्यो मन्त्र यति आउँदो भयो कि मस्त सुतेको बेलामा पनि जप्न भुल्नुहुन्न हाम्रा नेताजीहरू ! बडो सज्जन हुनुहुन्छ । त्यसैले त बाह्र वर्ष तपस्या गर्नु पर्ने उहिलेका ऋषि मुनिहरूलाई उछिनेर बाह्रै महिनामा सत्तामा पुग्नुहुन्छ ।

घुसखोरी र भ्रष्टाचारीहरूलाई कार्वाही गरेर कठघरामा उभ्याउनुपर्नेहरू नै घुसखोरी भएपछि भ्रष्टाचार रोकिने प्रश्न नै उत्तरविहीन हुन्छ । नहोस् पनि किन ? कालो कोटको आधारमा कति कालो धन भित्रिएको छ ? शायद कालो चस्मा लगाएर हेरेमात्र देखिएला नत्र मुस्किलै पर्छ । दुधको दुध पानीको पानी छुट्ट्याउनु पर्ने न्यायमूर्तिहरू नै घुसकाण्डमा रङ्गेहात पक्राउ पर्छन् भने अरुको कुरा गर्नै पर्दैन ।

राष्ट्रको चौथो अङ्ग हो भनेर दावी गर्नेहरू पनि यथार्थ लुकाएर लेख्छन् भने कसको के लाग्छ । कतै लेख्नै नहुने कुरा लेखेर त कतै लेख्नै पर्ने कुरा नलेखेर मोटो रकम हात पार्ने पत्रकार महोदयहरू पनि छन् भन्ने सबैलाई थाहा नहुन सक्छ । हतियार ओसार–पसारमा संलग्न भएको त थाहा पनि होला आखिर घुसपेसबाट उम्किहाल्छन् । लिने दिने उस्तै भएपछि के गर्ने ? त्यसो नभए छोटो समयमा एउटा भारेभुरे पत्रकारको पाँचतले घर बन्दैन । ठुलाठुला सहरमा त्यत्रो भवन खडा गर्न भ्रष्टाचार गर्नै पर्छ नत्र घरका जहानले माड खान पनि मुस्किल भएका पत्रकारले भाइसाथीलाई समेत जाँड खुवाउन कसरी सक्छन् हँ ?

सेना पुलिसको बर्दी नै भष्टाचारको लाइसेन्स भन्ने सुनेको छु र हो पनि । गाडीवालासँग चेकजाँचका क्रममा बिनारसिद दाम उठाउनु त सामान्य हो । यस्तो जाबो कुरालाई के भ्रष्टाचार भन्नु ? बिमान दुर्घटना वा बस दुर्घटना हुँदा उद्धारका नाममा गरिने लूट शायद परेकाले मात्र बुझ्ने कुरा हो । जो रक्षक उही भक्षक भने झैं सुरक्षाकर्मीले असुरक्षित बनाएपछि कसका बाबुको के लाग्छ ? डराउनु पर्छ हतियारसित । के गर्नु धम्क्याएरै भए पनि नभएको कुरा हो भन्न बाध्य पार्छन् पुलिसहरू । बस ! बर्दी लगाएको छ भने पुग्यो ।

महाराजको राज चल्दाको समयमा जे मर्जी भए पनि हुने । कानुनभन्दा माथिको महाकानुन कस्तो हुन्थ्यो अनुभव गर्नेले जाने होलान् । ‘राजा दैव नलागोस्’ भनेर बुढापाकाले त्यत्तिकै भनेका त पक्कै होओइनन् ।
भ्रष्टाचार हुनै नहुने क्षेत्र स्वास्थ्यक्षेत्र हो तर त्यहाँ जति भ्रष्टाचार मैले अन्यत्र कतै देखेको छैन । प्राय डाक्टरहरू अस्पतालमा भन्दा निजी क्लिनिकमा काम गर्छन् । किनभने सरकारी अस्पतालमा तलव मात्र पाइन्छ, निजी क्लिनिकमा टनक्कै दाम कुम्ल्याउन पाइन्छ । दामका पछि दौड्नु भ्रष्टाचार हैन र ? आखिर सबैभन्दा महँगो तलब खाने डाक्टरहरू नै हुन् । अझ उसमाथि तपाइँले लापर्वाहीका तमाम उदाहरणहरू पाउनुहुन्छ । थाहा छैन होला सबैलाई हामीले देउता ठानेको डाक्टर नै राक्षस हुन्छ भत्रे कुरा । पेटभित्रै कैँची छोडेका र अपरेसन गर्न लगेकी युवतीलाई बलात्कार गरेका घटनाहरू सामान्य हुन सक्छन् ? हो, सामान्य नै होऊन् । तर सबरामीको मृगौला झिकेर बेच्ने डाक्टरलाई तपाइँ के भन्नुहुन्छ ? म त डाक्टर हैन डाँकाटर भन्छु ।

खासै भ्रष्टाचार गर्न नमिल्ने क्षेत्र त मास्टरी क्षेत्र हो । शिक्षा क्षेत्र भन्ने हो भने झुटो ठहर्ला । किनभने शिक्षा क्षेत्रमा झन् भ्रष्टाचारको डङ्गुर नै लागेको छ । अरु त परै रहोस् शिक्षक नियुक्ति गर्दासमेत घुस लेनदेन चल्छ । शिक्षकले भने नुनको सोझो गरेर पढाउनै पर्छ । बोर्डिङका शिक्षक र गलैँचा कारखानाका मजदुरमा के नै फरक छ र ? सरकारी विद्यालयका मास्टरहरूलाई अरु दाम कमाउने बाटो छैन तर कक्षामा पढाउनुपर्ने कोर्स पूरा नगरेर ट्युसन थाल्नु भ्रष्टाचार हो । सामन्यदेखि विशिष्ट कर्मचारी सबैले भ्रष्टाचार गर्नै पर्ने के रहेछ त्यस्तो हँ !

मैले अरु कसैलाई भ्रष्टाचारी छन् भनेर आरोप लगाएको मात्र होइन । म आफैं पनि भ्रष्टाचारी हुँ । ‘अरुको आङको जुम्रा देख्ने आफ्नो आङको भैँसी पनि नदेख्ने’ गर्न त भएन नि । मेरो आचरण नै भ्रष्टाचारी छ । ठाउँ पाउनासाथ मलाई भ्रष्टाचार गर्न इच्छा जाग्छ । मसँग बोल्दै नबोलेको मान्छे भन्दा खिस्स हाँसेर दुई/चार कुरा गरेको मान्छेलाई नजिक देख्छु । कुनै काम पर्यो भने प्राथमिकता उसैले पाउँछ । अझै कसैले चिया नास्ता नै खुवाएको छ भने त त्यो पहिलो प्राथमिकतामा पर्छ । चिया खुवाएको र नखुवाएकोमा फरक देख्नु भ्रष्टाचार हो । अझ घुस नै खुवाएको भए के हुन्थ्यो भन्न गाह्रो छ । धन देखेपछि महादेवका तीन नेत्र भन्छन् । हाम्रो त नहुने कुरै भएन । अरुले जसरी बुझून् मेरो सरोकार भएन तर कसैको मुख हेरेर व्यवहार गर्नु भ्रष्टाचार हो भन्ने मेरो ठम्याइ छ । लौ शपथ खानुस् तपाईले अहिलेसम्म कसैको मुख हेरेर व्यवहार गर्नु भएको छ कि छैन ? छ भने तपाइँ पक्का भ्रष्टाचारी हो ।

बम्घा, गुल्मी