सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पोइलेतन्त्रको जय होस्

Nepal Telecom ad

यस बेला कानुनले जे जस्तो निर्णय, व्यख्या र परिभाषा गरे पनि पोइल जाने कुरा र काम रोकिएको छैन र फेरिएको पनि छैन । लोग्नेसित मतभेद पर्यो अथवा कुन्नि के कुरा पुर्याउन नसक्दा अववा सकेन भने पोइल जाने सम्भावना जुरिहाल्छ । ‘नामर्दका स्वास्नी छाडा’ भन्ने स्थिति आउन दिनुभन्दा अघि नै टाप कसेर यतिबेलाको नयाँ भाषामा पुनर्विवाह गरिहाल्ने परम्परा भने स्त्री र पुरूष दुवैमा रोकिएको छैन र रोकिने सम्भावना समेत देखिँदैन । रोकियोस् पनि कसरी… ? मानवसभ्यताका हकमा निकै पछि रहेको मान्यता सर्वमान्य रहेको अवस्थामा बामे सर्दै गरेका हामीभन्दा तीव्र गतिमा सभ्यताको फाँटमा बुर्कुसी मार्ने र फर्दवाल कस्ने तथाकथित पल्लापट्टिका कथित सभ्य समाजमा त झन् उग्रै पो छ यो पोइल जाने प्रथा । हुन ता यो प्रथा भनौँ वा तन्त्र त देउताकै पालादेखि भएको वा रहेको कुरा शास्त्र पुराणतिर भेटिन्छ । इन्द्रजी र बिस्नुजीहरू आफ्ना गृहिणी हुँदाहुँदै पनि अर्काका गृहिणीपट्टि सल्केको र पल्केको कुरा अब ढाँटेर काटे मिल्दैन । यसरी देउता भएर पनि अर्काका गृहिणीहरूलाई लट्टो छिनाउन पुग्नुले यो प्रथा वा तन्त्र अनादिकालदेखिकै सभ्यतन्त्रको श्रेणीमा पर्ने कुरा यो हुँडेलाई लाग्या हो ।

पोइल जाने प्रथा सभ्य भनाउँदो समाजमा जति वैधानिक मानिन्छ त्यति नै हाम्रो अघिअघिको समाजले मान्थेनर’छ । यदि मान्दो हुँदो हो त आर्य संस्कृतिको दास भैसकेपछि एउटा समूदायभित्र अनेक नाम र जातवन सङ्ख्या थप्ने नै थिएनन् । तर अब त्यस्तो छैन, किनकि अब हाम्रो समाज नै जसले जेसुकै भने पनि कुइरे सभ्यताले हाम्रो सबै थोक नै कुइराको काग भैसक्या’छ ।

‘जता मल्खु उतै ढल्कु’ भन्ने पूर्वमा प्रचलित एउटा भनाइ छ । पोइल जाने प्रथाभित्र यस उखानको कम देन छैन तर पनि कथंकदाचित यस उखानको भर परेर मल्खुतिरै ढल्किने प्रवृत्तिले ‘चोक्टा खान गा’की बूढी झोलमा डुबेर मरी’ भन्ने स्थिति आइ नलाग्ला भन्न पो कहाँ सकिन्छ र ?

तर सधैँ त्यस्तो कहाँ हुन्छ त ! छानेर, ठहर्याएर फाल हानेपछि फरक नपर्नु पर्ने हो, तर पनि ‘नौलो हुञ्जेल नौपोला गाँस, पुरानो भएपछि जगटाको नाश’ भन्ने उखान त अहिले पनि उत्तिकै व्यवहारमा बाँची र नाचीरहेकै छ । जे होस्, जगटा नाश भए पनि जुल्फीको नाश भए पनि पोइल जान कसैले छाड्ने भा’पो ! मौका नपरिञ्जेल मात्रै हो चौका हान्न आइतबार बार्ने ।

ए… छाड्नु पो कसरी …? एकै प्रकारको स्वादले त मान्छे वाक्क भैहाल्छ नि । मान्छे त परिवर्तनशील प्रिय प्राणी पो त ! यो स्वभावत उसको नशानशाको रक्तरक्तमा मिसिएको छ । तसर्थ स्वाद फेरीफेरी खाई र भ्याइरहने बानी जो परेको छ । एकै खालको खाना, एकै रङको नाना र एकै प्रकारको बानाले मान्छे वाक्क भइहाल्छ नि ! पुगिसरी आए त दिनदिनै फेरफार गरीगरी बाँच्न पाए जिन्दगी कति सुखद र रमाइलो हुँदो हो ! बुता र ह्याउले नभ्याए पनि मान्छेले कल्पनैसम्म नगरी को बाँचेको होला त । तर हाम्रा देशमा कति नै नेपाली होलान् र जुद्धशमशेर बन्न सक्ने सामथ्र्यवाल ?

तर यता हाम्रा मुलुकमा पनि शिक्षादीक्षाको प्रकोप बढ्दै गएपछि उताका सभ्यताले गाँज्न थालेर होला पोइल जाने प्रथा बढ्दो छ । धन नहुनेले राम्री स्वास्नी जोगाउन हम्मे परे झैं सत्ता बाहिर परेका पार्टीले आफ्ना सांसद जोगाउन लर्तरा हिसावले सक्ने भए अठार उन्नाइस झाँगे पञ्च पार्टीमा ओइरिने नै थिएनन् होला । सत्तावाल पार्टी पेटी र सडकवाल हुने बित्तिकै भोलिपल्टदेखि नै त्यस पार्टीका नेता र कार्यकर्ता भत्ताका लोभले सत्तावाल पार्टीमा हनिजून मनाउन टाप कस्ने गरेको कुरा स्मृत्तिग्रन्थ पल्टाउने हो भने काँग्रेजका पर्शुनारान, सूर्जेप्रसाद, सूर्जेबादुर विश्वबन्धु, टि.एल. गिरी अथवा गनिनसक्नाले सिन्दुरपोते फेरे भने कम्निसबाट केशरजङ राइमाझी, शैलेन्द्रकुमार उपाध्दे, कमला मनका रेग्मी, डि.पि. अदिकारी वा समेत गरी बगुन्दै्र नेता कार्यकर्ता पोइलेतन्त्रको चपेटामा परेका छन् । पञ्चतन्त्रका नायकले पनि बुद्धिमानी गरे । जारी तिर्नुपर्ला भन्ने डरले पाटीपतिहरूलाई जेलाँ खाँदेपछि न रहे बाँस न बजे बाँसुरी । तर परम्पराका नाउँमा पोइलेतन्त्र झन् झ्याँगिँदै आयो । नझ्याँगियोस्् पनि किन …? प्रत्येक नयाँ ठाउँमा पोइल जाँदा नौलो हुञ्जेलको नौ पोलाको स्वाद जो हुन्छ । जारीको दर–रेट घट्ला त्यो बेग्लै कुरा हो तर जाने र जानपाउने हकलाई कायम राख्तै जारी प्रथालाई उच्छेद गर्नकै लागि पोइलेतन्त्रका हिमायतीहरूले अब उप्रान्त पोइल जाने कामलाई वैधानिकता दिँदै यसलाई ‘पुनर्विवाह’ भनिने छ भन्ने कानुन संसदबाटै पारित गराएपछि त झन् उग्रै भा’छ । अब त राजतन्त्र, राणातन्त्र, पञ्चतन्त्र, पर्जातन्त्रमध्य सबैभन्दा उत्तम व्यवस्था भनेकै पोइलेतन्त्रमै देख्न पाइयो । जुन तन्त्र भए पनि पोइले तन्त्र नै व्यवहारमा नभई नहुने देखियो । पोइलेतन्त्र बिनाको पर्जातन्त्र पनि के पर्जातन्त्र ? टिक्तैन, यो तन्त्रबिना गणतन्त्र पनि टिक्तैन । म लेखेरै दिन्छु ।

यति बेला पनि रा.पं.तन्त्रको शासन व्यवस्थामा पनि भन्ने हो भने यही पोइलेतन्त्रको हालिमुहाली छ । यतिबेला ऐया आत्था गर्दै जीवित रहेका पार्टीहरूबाट मान्छे भटाभट पोइल गा’छन् । यो रा.पं.तन्त्रको सिन्दुरपोते फे¥या छन्, त्यति मात्रै नभएर भित्रिनी बन्ने लहडमा पुरानो पार्टीको काँचुली सबै बदल्या छन्, स्वर बदल्या छन्, छाला सिँगार्ने कार्खानामा पसेर चिन्नै नसक्ने भइसक्या छन् । यसरी पोइल जाँदाजाँदा र रूपरङ फेर्दाफोर्दा हत्तु भएका पोइले तन्त्रका जोइहरूले अब चाँडै सत्ताको काखमै भएका बेला सोचिहाल्नु पर्यो कि चाँडै एउटा नयाँ पार्टी गठन गर्नुपर्यो । जहाँबाट जुनसुकै तन्त्रले चाहिएको बेलामा चाहिए जति नेता–कार्यकर्ता आपूर्ति गर्न सकियोस् । सबै तन्त्रका लागि उपयोगी हुने यस समूह वा पार्टीबाट उद्योगबाट माल आपूर्ति गरे झैँ नेता कार्यकर्ताको आपूर्ति गर्ने दिशामा शुभस्य शीघ्रम् गरे राम्रो ।
म त भन्छु— जय होस् यस पोइलेतन्त्रको । जुन अहिलेसम्मका सबै तन्त्रहरूभन्दा बढी प्रजातान्त्रिक, बढी लोकतान्त्रिक बढी गणतान्त्रिक छ । योभन्दा उता स्वर्गेतन्त्र मात्रै बाँकी रहला राम्राका लागि ।

काँकरभिट्टा, झापा
‘फित्कौली’ अङ्क २ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad