१.
पुर्खाले आर्जेको
भोगचलन गरिरहेको
हड्डी घोटेर छर्कँदै– जोगाएको
लालपुर्जा भएको
सिमानाको जमिन,
सीमास्तम्भ,
हराउँदै आएका छन्
र यो निरन्तर छ
उहिल्यैदेखि
अहिलेसम्म
चलिरहेछ र चलिरहेछ ।
त्यसो त ऊ ठूलो छ
शक्तिशाली छ
ऊ आफूलाई ‘सभ्य पनि छु’– भन्छ
तर हाम्रो मन मान्दैन
भन्नुहोस् त !
छिमेकीको सिरिखुरी पार्नेलाई
सभ्य भन्छन् र ?

२. 
चिमोट्न र चिथोर्न
कति सकसकाएका उसका हात र मनहरू
अतिक्रमण गर्न उस्तै छन्
उसका लागि दिन र रातहरू
भन ए ! छिमेकी
तिमीले हाम्रो भूमि चोरेको दृश्य
के त्यहाँ गाडिएका रुख पातले पनि देखेनन् ?
सत्य कुरा त्यहाँको आकाश र जुन– ताराहरूले देखेनन् ?

३. 
कहिले लाल किल्लाबाट
माइक जोडेर ऊ कराउँछ–
‘छिमेकीका लागि हामी असल छौं’– भनेर
कहिले नक्कली मन भएका सदभाव मण्डल
काठमाडौं आएर बताउँछ
‘हामी तपाईंहरूको उन्नति चाहन्छौं’– भनेर
तर पशुपति र मानेभञ्याङका घाइते मनहरूलाई सोध
काकरभिट्टाको मेची पुल हेर
महेशपुर र पाठामारीमा हामीलाई भेट
सुस्ता, कालापानी र टिङ्करमा गएर
तिमी आफै
तिम्रा ताण्डव नाचहरूको ऐनामा तिम्रो अनुहार हेर
के तिमीलाई कुरूप छु जस्तै लाग्दैन ?
सुनेको त छु र होला पनि
–कुरूपहरूलाई
कुरूपै राम्रो लाग्छ रे
शायद त्यसैले तिमीलाई
अर्काको भूगोल मिच्न
रहर लाग्छ
आफ्नो अनुहार
कुरूप बनाउन रहर लाग्छ
ए ! भारतीय दाइ भन त ! हैन भने
किन तिमीलाई हाम्रो जमिन मिच्न औधी रहर लाग्छ ?
किन यो निरन्तर छ ?

चन्द्रगढी, झापा