सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाट्यकृति ‘थिएटर र आँखाहरू’ सार्वजनिक

Nepal Telecom ad

रङ्गकमी गणेश खड्काको नाट्यकृति ‘थिएटर र आँखाहरू’ शनिबार सार्वजनिक भएको छ । अनामनगरस्थित मण्डला थिएटरमा संस्कृतिविद् सत्यमोहन जोशी तथा प्राज्ञद्वय तीर्थबहादुर थापा र हरिबहादुर थापाले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले नाटकमा शक्ति रहेको भन्दै त्यसको प्रयोग देश निर्माणमा गर्नुपर्ने बताए । उनले भने, ‘जुनसुकै बिषयमा नाटक लेखे पनि त्यसलाई समयसान्दर्भिक बनाएर देश निर्माणको अभियानमा जोड्नुपर्छ ।’ नाट्यकर्मीले त्यसलाई अभियानकै रुपमा अघि बढाए सरकारी संस्थाको पनि ध्यानाकर्षण हुनेमा उनले आशा व्यक्त गरे । राष्ट्रिय नाचघर, प्रज्ञा भवनजस्ता साधनसम्पन्न सरकारी संस्था नाटकप्रति उदासिन रहेकोमा जोशीको गुनासो थियो । नेपाली नाट्य लेखन कमजोर रहेको बेला कृतिले त्यसमा आशा जगाएको जोशीको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नाट्यकर्मी सुनिल पोखरेलले विदेशमा रहेर पनि नाटकमा कलम चलाउनु उत्साहप्रद रहेको बताए । उनले भने, ‘विदेश गएपछि कविता, गजल वा गीत त जसले पनि लेख्ने रहेछन् । तर नाटक कसैले लेखेका थिएनन् । गणेशले लेखेकोमा निकै खुशी लागेको छ ।’

गणेश खड्का दक्षिण अफ्रिकी मुलुक सेसेल्समा कार्यरत छन् । प्राज्ञ कृष्ण शाह यात्रीले आफ्नो केही समयअघिको अमेरिका यात्रालाई सम्झदै विदेशमा कसैले पनि नाटक नलेखेकोमा दुःख लागेको बताए । त्यस्तो बेला गणेशको कृति आउनुलाई सुखद मान्दै उनले यसले नेपाली नाटक लेखनलाई उत्प्रेरित गर्ने बताए । उनले भने, ‘विदेशमा मात्रै होइन, नेपालमै पनि नाटक लेखन पछि परेको छ । यस्तो बेला कृति आउँदा नेपालमै बस्ने साहित्यकारलाई पनि उत्प्रेरणा हुनेछ ।’

स्रोत : रमेश कडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad