सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजमार्गकी राजकुमारी

Nepal Telecom ad

 

थरी–थरी बहानाबीच
थरी–थरी विडम्बनाबीच
आफ्नै बिम्बलाई बिर्सदै
राजमार्गकी राजकुमारी
राजमार्गजस्तै
कतै घुम्ती
कतै सपाट रेखामा देखिएकी हुन्छे
राजमार्गजस्तै
कतै आरोह
कतै अवरोहमा छेकिएकी हुन्छे ।

भूगोलका भिन्न– भिन्न परिधिहरुलाई
लमतन्न सुतेर अँगाली बसेको
एकतमासको राजमार्गछेउ
कतै उखु बेच्दै
कतै उमेर जोख्दै
कतै चिया बेच्दै
कतै चञ्चलता पोख्दै
कतै रक्सीको प्यालामा
कतै जवानीको ज्वालामा
कतै व्यस्ततामा
कतै अस्तव्यस्ततामा
कति कति कामुक आँखाहरुले भेट्न सक्छन्
राजमार्गकी राजकुमारीसँग
कति कति अधैर्य पिपासुहरूले
प्यासै मेट्न सक्छन्
राजमार्गकी राजकुमारीसँग ।

जिन्दगी नामको श्लीलताका हरफहरू
च्यातिदै च्यातिदै शून्यतामा पुगेको दिन
यौवनका इन्द्रेणीहरू
ओर्लदै ओर्लदै बन्धकीमा डुबेको दिन
कति नै बेर लाग्दो रहेछ र
आफ्नै आँखा अघिल्तिर
आफै विरोधाभास बन्न
कति नै पर्खन पर्दोरहेछ र
आफ्नै दृष्टि अघिल्तिर
आफै कहालीलाग्दो भास बन्न
आफै उच्चाटलाग्दो अत्यास बन्न ।

भिन्न भिन्न भङ्गालामा
भिन्न भिन्न भावावेशमा
आफ्नै भयलाई भुल्दै
राजमार्गकी राजकुमारी
राजमार्गजस्तै
कतै घुम्ती
कतै सपाट रेखामा देखिएकी हुन्छे
राजमार्गजस्तै
कतै आरोह
कतै अवरोहमा छेकिएकी हुन्छे ।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल