तीनपल्टसम्म लभमा गुल्टिङ खाएपछि केही सिप नलागेर म पनि भगवान्को बासस्थान खोज्दै हिँडेँ । तर खै अझसम्म पाउन भने सकेको हैन । यो उरन्ठ्यौलो ज्यानलाई के थाहा साँच्चिकै भगवान् कहाँ बस्छन् भन्ने कुरा । उमेरमा इन्धन हुन्जेल कहिले डिस्को र क्याबिन, कहिले फिलिम हल र भट्टी खोज्दै र डुल्दै ठिक्क । अहिले जब गनाउने मुखले यस्तो राम्रो अनुहारमा थुकेपछि चाहिँ मलाई नि भगवान् चाहिने भो अनि काहाँबाट भगवान् भेट्नु । सानैदेखि इन्टरडक्सन गरेर पाट्नर बनाको भए पो । अहिले आएर पनि मेरो लभ ट्रेजेडी पर्यो, मिलाइदेन यार भन्दा तै हेरविचार गर्थे होलान् भगवान्ले पनि । लभ गर्ने बेलामा चैँ न भगवान् चाहियो न कुनै देउताको अनुमति मागियो । दाहिने आँखो झिम्काको भरमा कतिलाई फसाइयो । अहिले दुनियाँका अगाडि दिउँसै खप्परमा थुकेर हिँडेपछि चैँ खोजेर केको पाउनु ती भगवान् ?

बूढापाकाहरू भन्थे– भगवान्को भक्ति गर्नू, मन्दिर जानू, देवीदेउतामा आस्था राख्नू । तर खै म कुन देवताको भक्ति गरूँ ? कुन मन्दिर जाऊँ ? मन्दिर पनि छुट्याउन सके पो । पहिलेपहिले त पशुपतिनाथ भगवान् भन्थे, बङ्गलामुखी माई भन्थे, मनकामना माई भन्थे । दक्षिणकाली देवी भन्थे, पूजा गर्न जान्थे, बोका काट्थे, परेवा पठाउँथे, भाकल गर्थे, प्रसाद ल्याउँथे । तर अहिले त ती पशुपतिनाथलाई पनि के जाँगर चलेको हो कुन्नि ! मम भट्टी खोलेर खपिसक्नु छैन । ‘पशुपति मम सेण्टर’ रे, ‘पशुपतिनाथ सेकुवा कर्नर’ रे । पहिलेपहिले बिचरा एक मुठीको परेवा भोग दिँदा पनि खान नसक्ने पशुपतिले सिङ्गासिङ्गै भैंँसी लडाको देख्दा सडकको पेटीमा बसेर टुलुटुलु हेर्नु बाहेक अरु थोक के नै नाप्न सकिने हो र ? बगलामुखीले फेरि भट्टी र मासु पसल कति उत्पादन गरेका हुन् कुन्नि । ‘बगलामुखी मिट सप’ अरे, ‘सुपर बगलामुखी भट्टी पसल’ अरे । अब भए जति सबै देउता भनाउँदाहरू मन्दिर छाडेर मम पसल र भट्टी पसल खोल्न थालेपछि अनि कसरी भेटिन्छ र ती देउता भन्ने जतिलाई ।

अझ हाम्रा देवी भनाउँदाहरूलाई पनि खपिसक्नु छैन । नपत्याए हेर्नाेस् न ‘सरस्वती डिस्को’ अरे, ‘लक्ष्मीको ब्युटीपार्लर’ रे । के यी देवी देउताका सन्तानले पनि जागिर नपार नै व्यापार व्यवसायतिर लागेका हुन् त ? कमसेकम भट्टी पसल नै खोले पनि डिस्को, क्याबिन नै जन्माए पनि किन आफ्नै देउताको नाम राख्नु ? अरू नाम नपाएर हो त ? भन्न पनि लाजमर्दाे, खाने बेलामा भैँंसीको कवाफ र कुखुराको सपेटा खाने, भन्ने बेलामा चाहिँ पशुपति गएर आको भन्ने । अब के गर्नु भट्टीको नामै पशुपति र बगलामुखी राखेपछि त प्रसाद ग्रहण गर्नकै लागि भए पनि जानै परेन त ? अब डिस्को र क्याबिनमा देवीको दर्शन गर्न जानै पर्यो । अमृत खानकै लागि भए पनि बगलामुखी भट्टी जानै पर्यो ।

अझ आजकाल त बियरका बोतल, भोड्काका सिसी, जाँडका ग्यालिनमा भगवान्का फोटा पाइन्छन् । देवीको तस्विर चुरोट र खैनीका खोलमा टल्काएपछि के भेटिन्थ्यो त ती देउताहरू मन्दिरमा ? अब मन्दिर जान पनि बेकारै भयो, देवीदेवता आ–आफैँ नै व्यापार व्यवसायतिर लागेपछि हामी मानवले दर्शन पाउन कहाँ जाने ? कुनै देवता मन्दिरबाटै अन्तरध्यान हुनथाले । कुनै देवता बियर रक्सीका बोतलमा बास बस्न गएपछि मेरो पुर्पुरोमा मलम लगाई दिने को ? बाउआमालाई भन्न जाऊँ उल्टै आग्लाले करङ सेकिएला भन्ने डर । हुन त भगवान्कै नाम गरेको माथ्लाघरे गणेशे पनि त मेरै साथी हो नि, अब त्यो गैराघरेकी छोरी सरस्वती पनि त पाट्नरै हो नि, भएर के गर्नु साँच्चिकै देउताले त केही नाप्न सकेनन् भने त्यो जाबो मान्छेका सन्तान गणेशे र सरस्वतीले कसरी मेरो भाग्यमा तेल दल्न सक्थे ?

आफ्नो समस्या काँधमा हालेर मन्दिरको अगाडि पनि यो खैनीको खोल कुच्चिए जस्तो अनुहार लिएर पुगेकै हो नि, तर के गर्नु त्यहाँ त मान्छेका सन्तान कति हुन् कति ? जन्माउन सकेका पनि कति हुन् ? तिनीहरूका बुबाआमाका घरमा रेडियो र टिभी पनि छैन कि क्या हो ? नत्र जतिखेरै सँगिनी र नरप्लाण्ट, कपर टी र डिपो प्रोभेरा भन्दै विज्ञापन गरेको गर्यै छन्, कहिल्यै प्रयोग गर्ने भए पो ? एउटा आउँछ र लौ प्रभो मलाई कोरिया जाने भिसा मिलाइदिनोस् हजुर भन्छ । अर्काे आउँछ र श्रीमती रिसा’र माइत गई, फकाई दिनुपर्यो प्रभो भन्छ । अर्को आउँछ र लभ गर्न सिकाइ दिनुपर्यो हजुर भन्छ । अब ती भगवान् भनाउँदाले पनि कति जनालाई पो हेरून् । स्वास्नीले छोरो पाउनेदेखि भैँसीले पाडो जन्माउने भाकल गर्न त्यै मन्दिरमा जाने, कुखुराले फूल पार्नदेखि छोराछोरीलाई पास गर्न त्यै मन्दिरमा गएर भोग चढाउँछु भन्ने अनि कसरी हेरून् ती भगवान्ले पनि । एउटा भा’पो, दुई वटा भा’पो ती देवीदेउताले हेरून्, रक्षा गरून् । भए जति सबैलाइ रक्षा गर्नुपर्ने, भए जति सबैलाई चिता’को पुर्याउनै पर्ने, भए जति सबैलाई धनसम्पत्ति चाहिने अनि कसरी पु¥याउन् ती भगवान्ले पनि, बाँड्दा बाँड्दा बजेटै सकियो होला । त्यै भएर त व्यापार व्यवसायतिर लागेका होलान् नि ।

फेरि यो मान्छेको जातलाई जति दिए पनि कहिल्यै पुग्यो भन्ने हैन, भगवान्सँग माग्दामाग्दा बिचरा उनैलाई माग्ने बनाइसक्ता पनि माग्न छाड्ने हैनन् । आफू मजाले भुँडी लडा’र सुत्न पाउन्जेल चैँ केको देउता, केको भगवान् ? उनै देउतालाई लात्तले हान्दै हिँड्ने अनि जब पिँडुलाको मासु सुक्तै गएपछि चैँ देउता चाहिने अरे । अनि देउताले पनि के खा’र हेरविचार गरून् हामी आमापट्टिको न बाउपट्टिकाको । त्यै भएर मान्छेका सन्तान देखेर यी देउता लुकीलुकी भागेका भाग्यै छन् । के गर्नु आफ्नो पुर्पुरो नै उस्तो होला नि, देउता जति भागिहाले । आफू हेर्याहेर्यै भइयो– लाटाले पापा हेरे झैँ । के गर्नु दुईचार वर्ष भगवान्का बाजे नसिद्धिकन जन्मन पा’को भए केही त हुन्थ्यो होला । यो फुटेको खप्परले त केही शान्ति पाउँथ्यो होला । उफ् ! थुइक्क यो खप्पर !

भोजपुर, हाल : काठमाडौँ