सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाँस, हँसाऊ र रमाऊ

Nepal Telecom ad

हास्य–हाँसो–हँसाइ– को साइनो मानिससँग मात्रै हुन्छ । मानिसमा मात्र हाँस्ने शक्ति रहन्छ । संसारको कुनै प्राणी पनि हाँस्न सक्तैन । मान्छे र पशुपङ्क्षीको फरक यही हो । खाने, सुत्ने, डराउने र भाले–पोथी मिस्सिने जस्ता काम प्राणीजगत् कीट–पतङ्ग सबैमा समान हुन्छ । तर मान्छेमा अरूभन्दा बढी चीज हाँस्ने कला छ ।

टि.भी.मा देखाइने यासिका क्यामराले कोड्याक रिल हालेर फोटो खिचेको विज्ञापनमा बाघ हाँसेको देखिन्छ । त्यो साँचो होइन । ‘भैँसीका अगाडि विणा बजाउनु’ उखानै छ । भनाइको चुरो कुरो हाँस्ने हँसाउने काम मान्छेलेले मात्र गर्छ ।

“विकासको प्रक्रियामा मान्छेले बोल्नुअघि नै हाँस्न सिकेको हो । त्यसैले मान्छेको जीवनमा हाँसोको प्रमुख स्थान छ ।” नित्सेले ठोकुवा गरेका छन् ।

अमेरिकी मनोवेत्ताले– “नहाँस्ने मान्छेमा सामाजिक भावना कम्ती हुन्छ र नहाँस्ने मान्छे निर्दयी हुन्छ” भनेर प्रचार गरेका थिए ।

हाँसेपछि मन हलुङ्गो हुन्छ । हँसाइले चिन्ता, पीडा र दुःख भुलाउँछ । त्यसैले सृष्टिकालदेखि नै मान्छेले आफ्नो समाज, परिवारभित्र मन भुलाउने साधनको खोजी ग¥यो र सबैभन्दा अचूक शक्ति हाँसोभित्र पायो । हाँस्नु जन्मजात गुण भनेर खोज्यो । मानियो र बुझियो ।

“मान्छे दुःख, कष्ट, पीडा र व्यथाको दृश्यभन्दा हाँस्ने हँसाउने दृश्य भएका नाटक, गीतहरू रूचाउँछ । त्यसले पनि हाँसोको महत्व प्रष्टिन्छ ।” सेक्सपियरले सकारेका छन् ।

विश्वका प्रायः सबै मुलुकका समाजमा हाँसोलाई प्रमुख दर्जा दिँदै आएको पाइन्छ । हाँस्नु र हँसाउनु विभिन्न मनोरञ्जनपूर्ण सामग्री तयार पार्ने काम प्रत्येक समाजमा गर्दै आएको देखिन्छ । हाँसो मान्छेको स्वभाविक गुण हो तर हाँसो आफैँ उब्जिदैन । हाँसो जगाउन कुनै न कुनै प्रेरक तत्व चाहिन्छ । हाँस्नु आन्तरिक भाव हो । भित्रैदेखि जाग्नुपर्छ गीत, कविता, उखान दन्तेकथा जस्ता चीजले मनोरञ्जन दिन्छ र हाँस्न समर्थ पनि पार्छ ।

हाम्रा पुर्खाहरूले गरेका कामहरू पछिल्लो पुस्ताकाहरूलाई हाँसो उठ्ने खालका हुन्छन् । बूढाबाले नातिलाई सुनाउने गरेका एकादेशमा एउटा राजा– एउटी रानी… खाले कथामा पनि मनोरञ्जनात्मक हास्य भाव पाइन्छ । पुर्खाहरूका पहिरनहरू आज “हाँसो” भएका छन् । कमेज, सुरूवाल, टोपी, भोटो, कछाड, धोती, लँगौटी अहिले हाँसोभित्र परिसकेका छन् ।

मान्छेको असली रूप मनोरञ्जन र हाँसोमा रूमलिने खालको हुन्छ । हाँस्ने र अरूमाथि व्यङ्ग्य गर्ने, व्यङ्ग्य गरेर हाँस्ने जस्तो कुरा मानवसभ्यतासँगै आएको हो । समाज–परिवारमा हाँसोमै अडिएको छ ।

जो व्यक्ति हाँस्न, खेल्न र मनोरञ्जन गर्न रूचाउँदैन, त्यो सामाजिक, पारिवारिक बन्न सक्दैन । “हाँसेपछि मन हलुका हुन्छ” इलिएटको भनाइ यस्तै खाले छ ।

पूर्वीय एवम् पश्चिमी, उत्तरी, दक्षिणी सबै क्षेत्रको साहित्यमा हास्य– हाँसो– यसबाट सम्बद्ध व्यङ्ग्य विषयलाई प्राथमिक स्थान दिएको पाइन्छ । हास्य रसलाई प्रमुख रसका रूपमा लेखकहरूले मान्यता दिँदै आएका छन् । साहित्यिक कृतिमा स्थापित पात्रहरूमध्ये एउटा अथवा केही पात्रहरू हास्यप्रधान रहने गरेका छन् । नाटक–एकाङ्की, प्रहसनहरू हास्यपात्रकै प्रधानता रहेको हुन्छ । दर्शकहरूका मनमा हास्यपात्र प्रभावी ढङ्गमा रहेको हुन्छ ।

आजको समाजवादी सामाजिकतामा पुराना साम्राज्यवादी, सामन्तवादी राजामहाराज महाजन आदिका क्रियाकलापको अनुकरणमा यथार्थमूलक हास्यव्यङ्ग्य रहेको हुन्छ । अङ्गभङ्ग, लाटो–लङ्गडो, वामपुड्केका अभिनयले पनि हाँसो जन्माउने गर्छ ।

मानिस स्वभावतः हास्यप्रिय समुदाय भएकाले हाँस्ने हँसाउने काममा लागिरहन्छ । हाँसो व्यङ्ग्यमूलक भएका खण्डमा प्रेरणा दिने पनि हुन्छ । व्यङ्ग्यले समाजका कुसत्यलाई प्रकट गर्छ । प्रकट गर्दा हास्यसँग जोड्न सक्ता कम तीतो हुन सक्छ । व्यङ्ग्य मात्रै धेरै टर्रो हुने हुँदा हास्य मिसाउने परिपाटी बस्तै आएको हो । कसैलाई पनि सोझै भन्दा रिसाउने सम्भावना हुन्छ । त्यसैले घुमाउरो गरी मीठो भाषामा व्यङ्ग्य गर्ने गरिन्छ र बुझेर हाँसिन्छ ।

आजका मनोवैज्ञानिक र मनोचिकित्सकहरूले पनि हास्यलाई जीवनको ओखती मान्न थालेका छन् । डा. एण्ड्यूज भन्छन्– “हास्य यस्तो ओखती हो जसले व्यक्तिलाई पुनर्जीवित गराउन सक्छ ।” “हास्यप्रिय व्यक्तिमा रक्तचाप रोगको २५ प्रतिशत ओखती कम्ती प्रयोग गरे हुन्छ ।” भनेर जेम्सवालले भनेका छन् । डा. विलियम फ्राइले त चिकित्साको आन्तरिक प्रेरणा हास्यलाई मानेका छन् । “हँसिलो मान्छे स्वभावैले स्वस्थ रहन्छ” भन्ने भनाइ चिकित्सकहरूको छ ।

“धेरै हाँस, सधैँ हाँस्ने गर, जति सक्छौ हाँस । दुःख, कष्ट, बिघ्नबाधा र आपत्तीहरू पनि हाँसेरै टार्ने गर । भोलिको चिन्तामा मन नबिगार, तिमी हाँस र अरूलाई पनि हँसाऊ । जीवन यही नै हो । आनन्द सुख पनि यही हो ।” स्वेट मार्डेनले लेखेका छन् ।

नेपाली जातिहरूमा हाँस्ने प्रक्रिया–तरिका एउटै भए पनि हाँसो बुझाउने शब्द भने फरक छन् । राष्ट्रभाषा–भाषीहरू हाँस्छन् मुस्कुराउँछन् । हाँस्ने तरिकालाई “हाँसो” भनिन्छ । “हाँस्यो” “हाँस्यो” भनेर खितिति… हाहा हह गर्ने गर्छन् । हाँस्ताको स्वर निकाल्ने तरिका त सबैको एउटै हुन्छ । तर ऊ.. फलानो हाँस्यो– हाँस्छ भन्नुपर्दा गुरूङहरू “ङि« ङि«” भन्छन्, हाँस्छन् । चेपाङहरू चाहिँ “नियाँ नियाँ” बोलेर रूँदै गरेको नानीलाई हँसाउँछन् । “हमार “हाँसी” होवे ऐसन काम न करवो” थारूहरू बोल्ने गर्छन् । बेटवा “हाँस्लो हाँस्लो” भन्ने गर्छन् दनुवारहरू । “न्हिले न्हिले” भन्दै दाँत देखाउने गर्छन् नेवारबन्धु । “रेटच”– तिम्रो मुखमा किन रेटच छैन– मगरहरूको भनाइ । “तुम्हें देखके हँस्सी अवैछी”– मैथिलीको हँसी पनि दह्रै हुन्छ । “कान्छीको डो (मुख) मा “इमा” छैन । मेरो पनि मन रूयो” भनेर साहिँलो राई भन्ने गर्छ । “आप्पुई फुफु (दाजु) त कस्तो खादाम (अँध्यारो) “मुरा” मुख लाको । “मुरा”मा त सधो “एप्पा” (हाँसो) हुनुपर्छ । लिम्बू दाजुभाइको कुरा अर्कै छ । “अरे आङोप (साली) तिमीलाई देख्ता मेरो “आलत” (मन) खुशी हुन्छ तर तिम्रो आपोङ (मुख) मा आथ्येन (हाँसो) हुँदैन । लेप्चा भिनाजुको पीडा यस्तै छ । अङ्ग्रेजहरूको मुखमा बिगनज हुने गर्छ ।

यस हाँसोले पनि धुरूक्कै रूवायो । कति हाँस्नु । मन हलुका पार्न पनि हाँस्नै पर्ने । साथीभाइ भेट्ता पनि हाँस्नै प¥यो, मुस्काउनु त पर्छ नै ।

हाँसो एउटा यस्तो दर्शनशास्त्र हो जसको व्याख्या हुन सक्तैन भनेर बेकनले निचोड निकालेका थिए । मुस्कुराउँदा अनुहारका तीन वटा मांशपेशीहरूमा व्यायाम हुन्छ रे । अलि खुलेर हाँस्ता ३७ वटा मांशपेशीले व्यायाम पाउँछन् भने यदि पेट मिचेर दह्रैसँग हाँस्न–हँसाउन सकियो भने चाहिँ ८० वटा मांशपेशीले व्यायाम लिन्छन् । तर शर्त के छ भने हाँसो बनावटी हुनुहुँदैन । स्वाभाविक रूपमा दिल खोलेर हाँस्न सक्नुपर्छ ।

मान्छेले हाँस्न पाएँ भन्दैमा जथाभावी–जहाँसुकै हाँस्नु हुँदैन । रवीन्द्रनाथले त– “अरूमाथि हाँस्नुभन्दा पहिले आफैँमाथि हाँस्न सिक्नुपर्छ, अनि स्वस्थ–स्वच्छ भइन्छ” भनेका छन् ।

कसैलाई हँसाइको पात्र बनाउनुअघि आफ्नो अनुहार हेर्नैपर्छ । हाँस्नु सामाजिकता हो । हाँस्ता मनको गाँठो खुल्छ । अरूलाई पनि प्रभाव पार्न सकिन्छ । “कुनै पनि अप्ठ्यारो र गम्भीर काम पूरा गरिसकेपछि “हास्य–विनोद” सँग केहीबेर समय बिताउने बानी बसालेका खण्डमा सम्पूर्ण थकाइ मेटिन्छ” भनेर स्ट्रिकल्याण्ड बताउँछन् । “हाँस्ने मानिसको जीवनवृद्धि हुन्छ ।” स्टर्न पनि यसो भन्छन् । हाँसोलाई प्रकृतिले हाम्रा शरीरका भित्री अङ्गको व्यायाम गर्ने साधनका रूपमा सृष्टि गरेका हुन् रे । हाँस्ता संसार हाँस्छ– तर रूँदा एक्लै रूनुपर्छ, कसैले साथ दिँदैन । त्यसकारण हाँसौँ र हसाऔँ । आफू हाँसौँ, परिवार र समाज हँसाऔँ– विश्व रमाऔँ ।

सिनामङ्गल, काठमाडौँ
फित्कौली अङ्क ३ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नारायण-नारद वितर्क

नारायण-नारद वितर्क

डा. तुलसी भट्टराई