सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सरकार छ !

Nepal Telecom ad

नेपाली कांग्रेसका केन्द्रीय सदस्य र सभासद्हरूले सरकारमा आफ्नै पार्टीको नेतृत्व हुँदा पनि सरकार भएको अनुभूति नपाएको गुनासो गरेछन् । सारा दुनियाँले देशमा सरकार भएको स्पष्ट अनुभूति गरिरहेका बेला सत्तापक्षकै नेता तथा सभासद्हरूले सरकार भएको अनुभूति नगर्नु रहस्यमय र दुर्भाग्यपूर्ण कुरा हो । किनभने, सरकार जताततै छ । कुनै परिश्रमबिना खुला आँखाले, साधारण मस्तिष्कले सरकारको अनुभूति टड्कारै भइरहेको छ ।

हामी हरेक दिन निस्कने पत्रपत्रिकामा प्रधानमन्त्रीका आकर्षक तस्बिरहरू हेरिरहेका छौँ । मन्दमन्द स्वासप्रश्वास लिइरहेका जस्ता, बिस्तारै उठ्लान् जस्ता, चलमलाउलान् जस्ता, दुई शब्द केही बोल्लान् जस्ता, दुई चार पाइला हिँड्लान् जस्ता, प्रधानमन्त्रीज्यूका त्यस्ता तस्बिरहरू हेरेर सरकार छ भन्ने हामी स्पष्ट अनुभूति गरिरहेका छौँ । मुलुकका प्रतिष्ठित व्यङ्ग्य कलाकारहरूले पनि सरकार प्रमुखज्यूलाई प्रमुख प्राथमिकता दिएर चित्रकलामा उतारिरहेका छन् । प्रधानमन्त्रीलाई कसैले कछुवामाथि बसेर अगाडि बढ्न तयार परेको चित्रण गरेका छन्, कसैले जाँते कीराले तानिरहेको गाडीमा बसेर स्टेरिङ घुमाइरहेको देखाएका छन् । टेलिभिजनका पर्दामा पनि बेलाबेला प्रधानमन्त्री बोल्न मुख बाइरहेका देखिएकै छन्, ओठ हल्लाइरहेकै छन् । सरकार छ र त सरकार प्रमुख यति चर्चित र सर्वत्र चित्रित छन् ।

सरकारका उपप्रमुख गृहमन्त्रीज्यूको कुरा गर्नूस् । गएका केही सातादेखि उनले मुलुकमा ठूलो तरङ्ग सिर्जना गरेका छन् । प्रहरी अधिकारीहरूलाई थर्कमान बनाएका छन् । गुन्डा र डनहरूलाई जगाएर सरकार जीवन्त रहेको अनुभूति दिइरहेका छन् । सामान्य प्रशासनमन्त्रीका असामान्य हलचल हेर्नूस् ! उनले त संसारमै तरङ्ग ल्याएका छन् । डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गरेरै छाड्छु भनेर दिनको दस पटक अन्तर्वार्ता दिइरहेका छन् । तिनीहरूलाई सिध्याएरै छाड्छु भनेर दाह्रा किटेका किट्यै छन् । साँच्चिकै कारबाही गर्लान् नगर्लान् ढाँटको निम्तो खाएरै पत्याउँला तर देशमा सरकार छ भनेर उनले दिलाएको अकाट्य अनुभूतिलाई त कांग्रेसजनले पनि स्वीकार गर्नुपर्यो नि !

सरकार सर्वत्र छ । मेचीदेखि महाकालीका खस्रा सडकहरूमा राष्ट्रिय झन्डा बाँधेका चिल्ला चिल्ला गाडीहरूमा सरकारका मन्त्रीहरू गुडिरहेकै हुन् । विमोचन, उद्घाटन, शिलान्यास, सम्मान जहाँसुकै मन्त्रीज्यूहरूसँग हाम्रो जम्काभेट भइरहेको छ । मन्त्रिपरिषद् विस्तार पनि भइरहेको छ । पार्टी अध्यक्षहरूका श्रीमती, साला, साली, छोरा, भिनाजुहरू मन्त्री भइरहेका छन् । सरकार टड्कारो रूपमा अनुभूति भइरहेको छ, शंकै छैन ।

राजधानीका गल्लीगल्लीमा सरकार छ । सडकहरू भत्किएका छन्, घरहरू लडेका छन् । धूलोको मुस्लोले छपक्कै सहर छोपिएको छ । राजधानीवासीको मुटु, कलेजो, फोक्सो, आन्द्रा र मिर्गौलालगायत सारा भित्री र बाहिरी अङ्ग–प्रत्यङ्ग र इन्द्रियहरूले देशमा सरकार भएको गम्भीर अनुभूति गरिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद्हरू तपाईंहरू पुरानो बानेश्वर आउनूस्, सरकारको थप अनुभूति गर्नूस् । यहाँ महिनाँैदेखि डोजरले भत्काएर भताभुङ्ग पारिएको सडकमा ढल फुटेर सडक पूरै दिसापिसाबको पोखरीमा डुबेको छ । यहाँ हाम्रो सरकार लम्पसार परेर लडेको प्रस्टै देखिन्छ । बानेश्वरका बासिन्दा महिनौँदेखि सास बन्द गरेर सरकारको गहिरो अनुभूति गरिरहेका छन् । सरकार भएको अनुभूतिले नै त उनीहरू जीवित छन् ।

नेपाली कांग्रेसका प्रिय नेता तथा सभासद्हरू ! राम्ररी आँखा खोलेर हेर । धूवाँ हेर, धूलो हेर, ढल हेर, भ्वाङ परेका सडक हेर, लडेका घरहरू हेर, लोडसेडिङ हेर, पाठ्यपुस्तक छपाइको गति हेर, साझा प्रकाशनको स्थिति हेर, सडकमा लम्पसार परेर आन्दोलन गरिरहेका ज्येष्ठ नागरकिहरूलाई हेर, अधुरो संविधानसभा हेर, रित्ता संवैधानिक निकाय हेर, खाली राजदूतावासहरू हेर, थुरथुर काम्दै गरेका प्रधानमन्त्रीका घुँडा हेर र गहिरो गरी देशमा सरकार भएको अनुभूति गर । चिन्ता नगर, नेपाली कांग्रेसका सभापतिकै नेतृत्वमा देशमा सरकार छ । देशमा सरकार छ । सरकार छ । छ ।

‘नेपाल’ अङ्क ५९२, २०७० वैशाख ७

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे