‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो’ भनेर विद्यार्थीलाई रटाउँदा पनि हैरान परियो बा ! मान्छे जति सबै सहरतिर लागे । गाउँमा त असी पुगेर आँखा बसिसकेका बुढाबुढी र बुद्धि पसिनसकेका केटाकेटीहरू पो बाँकी छन् । यस्ता गाउँमा चाहे बाढी आओस् चाहे पहिरो जाओस् कसलाई के मतलव ? खेतबारीमा वनमारा पलाए, गोठका भैँसी मम पसलमा चलाए । यो अवस्था थाहा भई भई पनि आफ्नो गाउँ आपैm बनाऔँ भनेर गाउँकै खिल्ली उडाउन भने लाजै लाग्दैन कसैलाई । मलाई भने झोँकै चलेर आउँछ । यी जाबा गाउँहरू पहिराले पुरे पनि हुन्छः बाढीले बगाए पनि हुन्छ, डुबाए पनि हुन्छः कसैले हारगुहार गरेछ भने म पनि वनमान्छे नै हैन, ल जा ।

आफूलाई गाउँ भन्ने शब्द सुन्दा पनि रिस उठिरहेका बेलामा ‘सहरिया जीवनभन्दा गाउँले जीवन वेश’ भन्ने वादविवाद पनि थपियो । त्यसपछि त मेरा कन्सिरीका रौँ तातिहाले । सहरका ठुल्ठुला बिल्डिङभित्र घुम्ने कुर्चीमा बसेर ढलीमली गर्दै देश विकासका गफ गर्न जत्तिको आनन्द गाउँका पाखा–पखेरामा पसिना चुहाउँदै मेलापात गर्दा हुन्छ ? गाउँमा हरिया ताजा तरकारी फलफूल पाइन्छ रे ! भुत्रो पाइयो ! हात पाखुरा चल्ने सबै अरबमा भेँडा चराउन गए । यहाँ तिनका बाउले गरेर फल्दो रैछ र ताजा तरकारी ? दुध केले दिन्छ ? भन्ने प्रश्न गर्दा ‘डेरीले’ भन्ने उत्तर दिने ठाउँमा बसेर गाउँ मन पराउनु कत्तिको सान्दर्भिक हो कुन्नि ! किताबको पाना नै च्यातेर फ्याकुँ झैं हुन्छ मलाई । विद्यार्थीलाई पनि उल्टो उल्टो पढाइदिन्छु । लौ आओ कार्वाही गर्न ! कसले सक्छ ? एउटा इमान्दार शिक्षकलाई । त्यत्रो समय खर्च गरेर, त्यतिका बजेट स्वाहा पारेर एउटा जाबो संविधानको खोस्टो बनाउन नसकेर गाउँ फर्कन पनि लाज लागेको छ बेइमान नेताहरूलाई ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैं हाम्रै देशमा संविधान सभाको दोस्रो चुनाव ! त्यो पनि अनिश्चित । सहरमा बसेर रहर नपुगेकाहरूको कुरा मलाई थाहा भएन । नब्बे पुगेर हब्बे न कब्बे भएका गाउँका ठाउँ ठाउँमा बसेका माउहरूले त माझीको मतो गर्दा सात गाउँ डुबे भनिरहेछन् । हैन के हो यसको अर्थ ? तपाइँलाई यसको अर्थ थाहा छ भने खुलस्त पारिदिए म पनि कृतज्ञ हुने थिएँ ।

बम्घा, गुल्मी