जित्यो चुनाव हुर्मतले । उसकै पार्टीको बहुमत । बन्यो सरकार, भयो मन्त्री । ऊसित ज्ञान र विवेक बाहेक सबै थिए । लक्ष्मी माताको विशेष कृपा । केटाहरूको साथ । जगल्टे र मुन्द्रेहरू उसकै दाहिने । पार्टीका ठूला ठूला नेताहरू उसकै शरणमा । ठूला ठूला ठेकेदारहरू, भू–माफियाहरू उसकै यारहरू र आज उसको पहिलो दिन । मन्त्रालय आयो– तामझाम सहित । भव्य स्वागत । यो मन्त्रालयको सचिव– ज्ञानवीर नेपाली । हुर्मतले ज्ञानवीर खोज्यो– ‘सचिवज्यूले त हिजै राजीनामा दिनुभयो ।’ सहसचिवको सूचना । खिस्रिक्क पर्यो हुर्मत । यथार्थमा प्रतिशोध लिन ऊ यो मन्त्रालयमा आएको थियो । हुर्मत विद्यार्थी हुँदा नेपाली हेडमास्टर थिए । परीक्षामा तीन चोटी निष्कासनमा परेको थियो हुर्मत । कतैबाट पनि झुकाउन सकेको थिएन हुर्मतले उनलाई । यही एउटा स्वर्णीम अवसर थियो– ‘साले, ज्ञाने राजीनामा दिएर हिँडेछ’ मुर्मुरियो हुर्मत ।

यता नेपालीको घरमा ‘होइन, मुख्य सचिव हुने बेलामा के गर्नुभ’को हो ? बल्ल ५६ हुनु भो । नियमले... ।’ ‘प्रभा, तिमीलाई थाहा छ मेरो बानी । मेरो स्वाभिमान जहाँ अपमानित हुन्छ, त्यहाँ म सास फेर्न सक्दिन । तिमीले पनि राम्रोसित चिनेकी छ्यौ त्यो हुर्मते बजियालाई । म त्यसैलाई ‘नमस्कार मन्त्रीज्यू’ भन्न कसरी बसौं ? बरु फेरि कुनै कलेजमा पढाउँछु ।’ अखबार पनि नेपालीको ‘राजीनामा’ प्रकरणले रङ्गियो ।

चितवन