मेरो छालामा किन यसरी
सहस्र अग्निका लप्काहरू नाचिरहेछन्
थाहा छ तिमीलाई ?

किन रात परेपछि
हजार माउसुलीहरू
मेरो कान चाट्न थाल्छन्
र हजार सर्पहरू
तिघ्रामा लपेटिन थाल्छन् ?
किन असङ्ख्य फौजी माकुराहरू
मेरो शरीरभरि कबाज खेलिरहन्छन् ?
किन ज्वालामुखी झैँ फुट्दै छु म ?
किन हिमनदी झैँ पग्लिँदै छु म ?
स्वामी !
म अब यो नरकको पटाङ्गिनी जस्तो
आदिम ओछ्यानबाट उठेर
मध्यरातमा नाङ्गै सडकमा निस्कन्छु
र तिम्रो शत्रुको आँगनमा गएर नाचिदिन्छु !

तिमी त बरफको डल्लो रहेछौ
जिउँदो लोग्ने होइनौ तिमी !
सक्छौ भने बहुलाएको चिल बनेर लुछ न
यो कपाल घरिघरि !
जिउँदो छौ भने भोको सिंह बनेर झम्ट न
मेरो यो छातीमा घरिघरि !
दया छ भने च्वास्स !
चुरोटको काँचो आगोले पोलिदेऊ
मेरो यो छालामा घरिघरि !

र मलाई एउटा तरबार देऊ !
जलिरहेको अन्धकार देऊ !

म महाकाली—
आफैँभित्रको बाढी र भूकम्पले भत्किँदै छु !
म उग्रचण्डी—
आफ्नै अग्निकुण्डमा निरन्तर जल्दै छु १
म श्वेत भैरवी—
आँधीको आवेगले भाँचेको हाँगासरि
यो चिसो जमिनमा पछारिँदै छु... !

तर तिमी त अझै
ढुङ्गाको देवता जस्तै शान्त छौ !
काठको राजकुमार जस्तै शान्त छौ !
मरेको पुतली जस्तै शान्त छौ !

आज मैले अर्को सत्य थाहा पाएँ—
शान्ति त एउटा सहनै नसकिने पीडा रहेछ !
म अब तिम्रो शान्ति भत्काएर
तिम्रो प्रेमको पोखरी भत्काएर
तिमीभित्रको सिद्धार्थ भत्काएर
एउटा घनघोर आतङ्कको
गहिरो अन्धकारभित्र
चुर्लुम्म डुब्न चाहन्छु !

म अब शत्रुको दैलो खोल्न चाहन्छु !

स्वामी !
मलाई क्षमा गर !
यो बरफको चिसो काखबाट हामफालेर
म अब एउटा जलिरहेको अन्धकारमा
पौडी खेल्न चाहन्छु !
मलाई क्षमा गर !
म अब तिम्रो शत्रुको दैलोमा गएर
केशराशि छर्दै
क्वाँ... क्वाँ... रुन चाहन्छु !!

‘च्याउको जङ्गल’ २०७१ बाट