मेरो विद्यार्थी गजबको छ
विद्याका अजब अर्थहरू गर्छ
कहिले विद्यालाई अर्थी बनाउँछ
कहिले विद्याकै अर्थी उठाउँछ ।

आफ्ना मान्यवरहरूलाई
खुशी पार्नु भनेको थिएँ
खुशीको तरकुल्ले छुटाएछ
खसी पार्ने साधन खोज्न थालेछ ।

पुलिस हाम्रो मित्र हो
शान्ति सुरक्षा दिन्छ भनेको थिएँ
‘प’लाई छोरी बोकाएछ
फुलिससँग लागेर
शान्तिको पीछा गर्न थालेछ ।

सिकाउन त सिकाएको थिएँ
कसरी गर्ने कसलाई प्रणाम
तर कमरेडलाई भनेछ जय नेपाल
अनि कंग्रेसीलाई लाल सलाम ।

पूजा गर्न फूल लिएर आ भनें
कुखुराको फुल पो लिएर आएछ
कहिले त थप्पड दिउँ जस्तो लाग्छ
तर के गर्नु ट्यूसन फीको मायाँ लाग्छ ।

आजकल कविता लेख्न थालेको छ
चुस्स बोकाको जस्तो दाह्री पालेको छ
कविताले छाती चस्स घोच्नु पर्छ भनेको थियो
हातमा बोकेर हिंड्छ याँमानको सियो ।

कमलपोखरी, काठमाडौं