विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथर, पहाडी भेकका उपत्याका, तरेली परेका पर्वतमाला हुँदै उत्तरमा हिउँको पगरी गुतेका शिखर श्रृङ्खलाको दर्शन गर्न हजारौँ कोस टाढादेखि विदेशीहरू धाउँछन् । तर यस्तो राम्रो देशमा जन्मिएर हुर्किएका मानिसहरूको घिनलाग्दो अनुहार देखेर उनीहरू घोर उदेकमा पर्छन् । विदेशीको कुरा छाडिदिनुहोस् । तपाईं आफ्नै मुख सच्चाइ र इमानदारीको ऐनामा हेरेर तर्सिनुहुन्छ । मानिस यतिसम्म कुरूप पनि हुनसक्दो रहेछ भनेर उदेकिनुहुन्छ । व्यक्तिवाद, स्वार्थवाद, ठालुवाद नातावाद हैकमवाद, रमितावाद, आलस्यवाद जस्ता वादैवादले बङ्ग्याइएका र कुच्च्याइएका कुरूप बाँदरहरूलाई देख्नासाथ ढोग्न तपाईं बाध्य हुनुहुन्छ । ती कुरूप बनमान्छेहरूमा कोही अर्थशास्त्री बनेर देशको अर्थतन्त्र ध्वस्त पार्दैछन् त कोही धर्मशास्त्री बनेर अधर्मको जाल फिँजाइरहेका छन् । कोही चाहिँ भाषाविद्को मुकुण्डो लगाएर नेपाली भाषालाई अरू थरीथरीका भाषाको नक्कल सावित गर्न खोज्दैछन् । ती दुष्टहरू बोल्दा त्यल्लाई र कोही चाहिँ त्यस्लाई भन्छन् तर लेख्दा त्यसलाई लेख्नुपर्छ भनेर हुकुम चलाउँछन् । त्यो छाडी ढिँडे, गुन्द्रुके, पाटे डोके र नेपाले जस्तो ठेट रूप बङ्ग्याएर नेपाली, बनारसी, जर्मनी बनाउँदै तपाईंलाई बिटुलो नेपाले भाषा बोल्न र लेख्न सिकाउँदैछन् । यिनीहरूको डरलाग्दो अनुहार र रूपको छाप लागेर ठेट भाषा बोल्ने सुन्दर अनुहार पनि कच्याककुचुक परेका छन् ।

अर्कोतिर नेताको फेटा गुतेका अनि तपाईंहाम्रो आँखामा छारो हालेर मन्त्री, साँसद र अरू पनि उच्च पदाधिकारी बनेका कुरूपहरू छन् । उनीहरूको त मुखै कालो छ, पेटै कालो छ, आँखा डेढो छ, कान बहिरो छ, खाने मुख बाङ्गो छ, हात लामो छ, खुट्टा छोटो छ, दारा र नङ्ग्रा धारिला छन् अनि बुद्धि चाहिँ मोटो छ । उनीहरूको कुरा पत्याएर चुनाउमा जिताएर तपाई पनि त्यस्तै कुरूप देखिनुभएको छ ।

सत्तामा बसेर उनीहरूले गरेको ताण्डव नृत्य हेरेर मस्तसँग झुलिरहनुभएको छ । अनेकथरी निहुँ पारेर ती ल्वाँठहरू तपाईंको कमाइ खर्च गरेर विदेशयात्रामा जाँदा तपाईं प्रसन्न हुनुहुन्छ । विदेशबाट फर्केर तपाईंको काँधमा करोडौँको रिनको भारी बोकाइदिन खोज्दा तपाईं माला लगाइदिएर उनीहरूको स्वागत गर्नुहुन्छ । तपाईंको आँखा अगाडि नै उनीहरूले तपाईंको घर भत्काइदिएको देखेर पनि त्यसो नगर भन्ने आँट तपाईंमा छैन । बरू तपाईं एउटा झुपडी भए पनि पाऊँ भनेर उनीहरूसँग विन्ति चढाउन पुग्नुहुन्छ । तपाईंलाई झुपडी बनाइदिने मौखिक आश्वासन दिएर तपाईंबाट जस्तोसुकै घिनलाग्दो काम गराउन पनि उनीहरू सक्छन् । यति कुरूप मानिसहरू सुन्दर नेपालमा बसेका छन् ।

अब आयो धनी देशका कङ्गाल मानिसहरूको कुरो । नेपाल जलस्रोतमा धनी छ । यहाँका हिमाली जडीबुटीबाट अर्बौँ रूपैयाँको ओखती बनाउन सकिन्छ तर गरिब नेपालीहरू पानी किनेर खान्छन् । पाँच रूपैयाँमा बेचेर पठाएको जडीबुटीबाट बनेको ओखती विदेशबाट झिकाउँछन् र पाँच सय रूपैयाँ तिरेर आफूहरू प्रयोग गर्छन् । सत्तामा पुगेका गरीबहरू आफ्नै आर्थिकस्तर उकास्ने धन्दामा लागेका हुन्छन् । तपाईं जस्ता लाटा र पानीआन्द्रे जनतामाथि रिन बोकाएर आफूहरू धनी बनेको भ्रममा उनीहरू भुलेका छन् । तर भोलि नेपालले वैदेशिक रिन फच्च्या गर्नैपर्ने दिन आउँदा उनीहरूकै छोराछोरी पनि अन्तर्राष्ट्रिय बजारमा बेचिने कुरा उनीहरूले बुझेका छैनन् ।

हुँदाहुँदा देशमा भएको जनशक्तिलाई उपयोगमा ल्याएर राष्ट्रिय उत्पादन बढाउनुपर्ने ठाममा त्यसलाई वैदेशिक रोजगारीमा लगाएर नेपाललाई जनशक्तिहीन सावित गर्दैछन् यी गरिबहरू । यस्ता अरू हजारौँ उदाहरण छन् जसले कुरूप र गरीव मानिसको एक मात्र सुन्दर र धनी देश नेपाल हो भनेर प्रमाणित गरेका छन् । महाकवि देवकोटाले नेपाल, सुन्दर शान्त विशाल भनेको त्यसै होइन । गरिब र कुरूप ठालुहरूले जनतालाई जति चुटे पनि त्यो सहने तुल्याएर यहाँ शान्ति कायम गरेकै छन् । यातायातमा लगानी गर्नुपर्ने पैसा आफैँले खाएर एउटै जिल्लाको एक छेउबाट अर्को छेउ पुग्न दुई दिन लाग्ने तुल्याएकै छन् । त्यसले देशको विशालता प्रमाणित गरेकै छ । प्रकृतिले यसै पनि सुन्दर बनाएको देशलाई देशवासीहरूको कुरूपताले अझ सुन्दर बनाएकै छ ।
काठमाडौँ

‘फित्कौली’ अङ्क ३ बाट