सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध

Nepal Telecom ad

नेपाली साहित्यमा विधाकेन्द्री प्रतिनिधिमूलक सङ्कलनको सम्पादन प्रकाशनको आरम्भ सूक्तिसिन्धु (१९७३ ) बाट भएको हो । सूक्तिसिन्धुपछि यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउने काम ईश्वर बरालले गरे । बरालका झ्यालबाट (२००६), हिमालचूली (२०१२) र सयपत्री (२०१३) जस्ता कृतिबाट क्रमशः नेपाली साहित्यका कथा, कविता र निबन्धका विधापरक पक्षको खोज र प्रतिनिधिमूलक सामग्री सङ्कलन सम्पादनको जग बस्यो । त्यसै जगमा टेकेर साहित्यका विधापरक अध्ययन र सङ्कलनहरूको संयोजन सम्पादनको लहरै चलेको देखिन्छ । यो लहर सबभन्दा बढी कवितामा देखिएको छ । अन्य विधालाई छाडेर सबभन्दापछि विकसित निबन्धलाई मात्र आधार मान्ने हो भने वासुदेव लुइँटेलको छ्याकन (कविता सहित), राजेन्द्र सुवेदी र हीरामणि शर्मा पौडेलको हास्यव्यङ्ग्य निबन्ध (२०४७), तारानाथ शर्माको पच्चिस वर्षका नेपाली निबन्ध ( ) हुँदै अगाडि बढेको पाइन्छ । हास्यव्यङ्ग्यतर्फ सुवेदी र पौड्यालका परम्परामा देखा परेका अर्का सम्पादक नरनाथ लुइँटेल (२०१६) हुन् । उनीद्वारा सम्पादित प्रतिनिधिमूलक निबन्ध कृति प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध हो ।
प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध कृति सामान्यत दुई खण्डमा व्यवस्थित गरिएको छ । यस कृतिको पहिलो खण्डमा हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भ र नेपाली हास्यव्यङ्ग्य : इतिहासको सेरोफेरो शीर्षकमा दुई ओटा पक्ष समेटिएका छन् । यी पक्षमध्ये पहिलो शीर्षक अन्तर्गत हास्यव्यङ्ग्यको परिभाषा, अन्तर्विधागत अवस्थिति, पूर्वीय तथा पाश्चात्य मान्यता, प्रकार, तत्व एवम् प्रहारको निसाना, अभिव्यक्तिको निसाना, माध्यम र दायित्व जस्ता उपशीर्षकमा सङ्क्षिप्त रुपमा हास्यव्यङ्ग्यको पूर्ण परिचय दिने प्रयास गरिएको छ । दोस्रो शीर्षक अन्तर्गत नेपाली हास्यव्यङ्ग्यको मौलिक परम्परामा सुवानन्द दासको नाम रह्या गजनीधर म त परे तरा भरले ते भन्ने उद्गारलाई आधार मानी अगि बढाइएको छ । यस आरम्भिक चरण र उठान बिन्दुलाई १८८१ देखि १९९३ सम्मका १४० वर्षको समयावधिमा, माध्यमिक काललाई १९४० देखि १९७६ सम्म ३६ वर्षको समयावधिमा र १९७७ पछिको समयावधिलाई आधुनिक काल मानिएको छ । हास्यव्यङ्ग्यमा आधुनिकता भित्र्याउने बिन्दुका रुपमा मकैको खेती कृति र त्यसभित्र समेटिएको हामी आफ्ना देसी कुकुरभन्दा विदेसी कुकुरको धेरै मान गर्दछौँ भन्ने वाक्यलाई आधार मानिएको छ । आधुनिक काललाई २००७ देखि १६, २०१७ देखि २०३० र २०३१ द्येखि २०४५ सालसम्मलाई अलग अलग मोडमा राखी देखाइएको छ । २००७ सालपछिको मोड हालखबर, नयाँ समाज, नेपाल समाचार, गोरखापत्र र साप्ताहिक समाचारका हास्यव्यङ्ग्य स्तम्भबाट आरम्भ भएको मानिएको छ । दोस्रो मोड केशवराज पिँडालीको खैखै (२०१७) प्रकाशनबाट आरम्भ भएको मानिएको छ र भैरव अर्याललाई पनि यसै मोडमा समेट्न खोजिएको छ । तेस्रो मोड पञ्चायती व्यवस्थाको आरम्भदेखि र रामकुमार पाँडेका रचनाबाट आरम्भ भएको मानिएको छ । २०४६पछिको हास्यव्यङ्ग्य निबन्ध लेखनलाई चौथो मोड नभने पनि चौथो मोड झैँ राखी समकालीन राजनीतिक विसङ्गतिका सापेक्षतामा यसका प्रात्ति र अप्राप्तिको सर्वेक्षण गरिएको छ । हास्यव्यङ्ग्य सम्बन्धी शोधकार्य उपशीर्षकमा नेपाली हास्य व्यङ्ग्य अध्ययन परम्परालाई पनि समेट्ने कोसिस गरिएको छ । पछिल्लो समयमा हास्यव्यङ्ग्य रचनाका साथै कार्टुन चित्रका माध्यमबाट सामाजिक विसङ्गतिहरूमा थि व्यङ्ग्य हुनथालेको निष्कर्ष निकालिएको छ ।
प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध को दोस्रो खण्डमा लक्ष्मी प्रसाद देवकोटा (१९६६–२०१६) देखि गायत्री परिरोशनी (२०३६) सम्मका ४५ जना प्रतिनिधिमूलक हास्यव्यङ्ग्य निबन्धकारका निबन्ध रचना समेटिएका छन् । साँच्चै प्रतिनिधि निबन्धकारका दुई दुई ओटा र प्रतिनिधि उन्मुख स्रष्टाका एक एक ओटा निबन्धहरू समेटिएका छन् । प्रत्येक निबन्धका अन्त्यमा ती निबन्ध कुन् स्रोतबाट लिइएका हुन् तिनको सन्दर्भ खुलाइएको छ । सङ्कलनमा समेटिएका ३६ जना निबन्धकारहरू छन् । यी स्रष्टाको नाम पढ्दा र सङ्कलित निबन्ध रचनाको अध्ययन गर्दा यस सङ्कलनले प्रतिनिधि हास्यव्यङ्य निबन्धकारलाई सकेसम्म काखा र पाखा नगरी समेटेको देखिन्छ । समेटिएका स्रष्टाको अवस्थिति स्रष्टाको उमेरको कालक्रममा रहनाले ऐतिहासिक विधिको उपयोग गरिएको छ ।
प्रतिनिधि सङ्कलनमा स्रष्टाहरूले को समेटियो र को समेटिएन भन्ने कुरालाई हेर्छन् । सम्पादन को को यो यो स्रष्टा बढी प्रतिनिधिमूलक हुन सक्छन् भन्ने कुरामा केन्द्रित हुन्छन् । पाठक वा समीक्षक भने सम्बन्धित कृति साँच्चिकै प्रतिनिधिमूलक बन्यो कि बनेन भन्ने कुरामा केन्द्रित रहन्छन् । यस सन्दर्भमा समीक्षकका आँखाबाट हेर्दा यस सङ्कलनका रचनाहरू प्रतिनिधि मूलक छन् । यसता काममा केही व्यक्ति छुटेका हुन सक्छन् र केही व्यक्तिका साँच्चै प्रतिनिधि रचना छनोट नहुन सक्छन् । यस सङ्कलनमा सम्पादक आफैँ सचेत रहेको कुरा सम्पादकीय भूमिकाबाट खुल्न आएकाले यसमा छुटेका वा सच्याउने पक्ष अर्को संस्करणमा सच्चिने कुरामा विश्वास गर्न सकिन्छ ।
प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध को प्रथम खण्डमा समेटिएका हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भ र इतिसहासका सामग्र्री सम्पादकको पूर्व प्रकाशित कृति नेपाली हास्यव्यङ्ग्य (२०५८ंं) का सामग्री नै दोहोरिनुले वर्तमान अध्ययनले निर्माण गरेका आधार छुटेको र दुईटा कृतिमा एउटै सामग्री किन भन्ने प्रश्न उठाउने ठाउँ रहेको छ । केही निबन्धकारका यहाँ समेटिएका भन्दा राम्रा वा प्रतिनिधिमूलक रचना अरु पनि हुन सक्ने अर्को पक्ष बाहेक सम्पादकले अन्य खास आँैलो ठड्याउने ठाउँ दिएका छैनन् । हास्य व्यङ्ग्यको कालविभाजनमा मकैको खेतीबाट आधुनिकता भित्रिएको भन्ने मत र आधुनिक कालमा कुनै पनि नयाँमोड अर्यालका रचनाबाट आरम्भ नहुनुले केही त्रुटि जस्तो लाग्छ । यी केही पक्ष बाहेक सम्पादकले समीक्षकलाई समेत व्यङ्ग्य गर्ने ठाउँ दिएका छैनन् । विनम्रतापूर्वक लेखिएको सम्पादकीय भूमिका, शुद्ध र व्यवस्थित सम्पादन, उपयोग गरिएका सामग्रीको न्यायोचित सन्दर्भन, स्रष्टाको उमेरगत कालक्रमिक सम्मानित अवस्थिति र सकेसम्म प्रतिनिधि रचनाको छनोटले यस कृतिलाई सङ्ग्रहणीय एवम् पठनीय बनाएको छ । यस कृतिको शीर्षकीकरणबाटै कृतिभित्र के छ भन्ने कुरा खुल्ने खालको देखिन्छ । धेरै स्वादका निबन्धलाई एकै ठाऊँमा पढ्न पाइने कृतिका रुपमा यसको विशेषता जीवन्त बन्न सक्छ । सम्पादक स्वयम् समालोचना सचेत भएका हास्यव्यङ्ग्य निबन्धकार पनि भएकाले यो कृति पाठक तथा अनुशन्धाता दुबैलाई उपयोगी सिद्ध भएको छ भने सम्पादकको छवि पनि अग्लो देखिएको छ ।
कृति : प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध
कृतिकार : नरनाथ लुइँटेल (सम्पादक)
विधा : हास्यव्यङ्ग्य निबन्ध
प्रकाशक : विवेक सिर्जनशील प्रकाशन प्रा. लि, काठमाडौँ ।
संस्करण : प्रथम,२०६५
पृष्ठ : ३००
मूल्य : रु. १७५/–
पाँचथर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु