अन्ततोगत्वा नेपाल एयरलायन्सले आज दिउँसो चाईनाबाट एउटा विमान उडाएर ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराली छाड्यो रे । पहिला मैले देखेको शाही नेपाल वायु सेवा निगमको जहाजमा भैरबको मुखौटा चिन्ह थियो जहाजको पुच्छरमा । जता गए पनि ङिच्च दाह्रा देखाउँदै उड्थ्यो । आकाश एकलौटी थियो, खुब मोज ग¥याथ्यो । हुँदाहुँदै आकाशमा अरु पनि चिन्ह बोक्ने विमानहरू हावामा कावा खाँदै उड्न थाले । भैरबहरू बिस्तारै लुक्न थाले । आजभन्दा भोलि, भोलिभन्दा पर्सि कम हुँदै गए । त्यसपछि ठूलो भन्ने विमान दुईटा मात्र छ भन्ने चिन्नकै लागि विमानको पुच्छरमा निलो र रातो धर्सो कोरेको चिन्ह राखियो । यी पनि जता गयो उतै हाम्फाल्न थाले । प्राय निमिट्यान्न भाको बेलामा आज अर्को खाले चिन्ह बोकेर हँसिलो अनुहारका साथ एउटा विभान एयरपोर्टमा ओर्लियो रे ! मैले त समाचार मात्र सुनेको देख्या सत्य होइन ।

विमान हाँस्दै ओर्लिनुको पनि रहस्य होला पशुपतिका बाँदर । पक्कै पनि पाईलट त चाईनिज नै आएका थिए होलान् । त्यसै भएर हँसिलो देखिएको हुनु पर्दछ । तर एयरपोर्टका बाँदरहरू चाहिँ नयाँ विमान अवतरण गरेको देखेर हाँसेको हुनु पर्दछ । नयाँ आहारा मिल्यो भनेर । एयरपोर्टमा बाँदरहरू बढी भएको कारणले नै पहिलाका विमानहरू एकपछि अर्को गर्दै सकिएको हुनुपर्दछ भन्ने बाँदर विज्ञहरूको ठम्याई छ । बाँदरहरूले कहिले विमानको पाङ्ग्रो कोपरे त कहिले इन्जिन नै चिथोरे । विचरो चाईनिज विमान र त्यस्को चालक दललाई के थाहा यहाँका बाँदरहरूको असली स्वरुप । कुनै टुप्पोमा चढेर हल्लाउँछन् त कुनै हाँगामा बसेर हल्लाउँछन् । कोही जरो उखेल्छन् । बबुरो विमानले केही समयको छोटो अन्तरालमा थाहा पाउने छ यहाँका बाँदरहरू कति निर्लज्ज छन् भनेर, आफै अर्काले पिउँदै गरेको तातो चियामा औँलो हाल्छन् अनि चियाले पोल्यो भनेर चिया पिउनेलाई झापट हान्छन् यहाँका बाँदरहरू ।

विमानमा चराचुरुङ्गीलाई गुण लगाउन नदिई, बाँदरहरूलाई कोपर्न एवं चिथोर्न नदिई राम्रो स्याहार सुसार गरेर चलाउने हो भने त कोनि तर बाँदर रुङ्ने र धपाउने कस्लाई जाँगर आउला र ! विमान बिग्रिने र ठाउँ कुठाउँ हाम्फाल्नेमा बाँदरे प्रवृत्ति र छिटो कमाउने धोको मुख्य रहेको पनि विमान विज्ञको भनाई हुनुपर्छ । उचाल्न सक्ने भार भन्दा बढी बोकाउने अनि जता पायो उतै ठोकाउने नगरी ठिक्कसँग चलाउने अनि व्यवस्थापनमा राम्ररी ध्यान दिने हो भने विमानले राम्रो प्रगति गर्ने छ नत्र उही हो हात लाग्यो सून्य, बाँदरको नाङ्गो नाच ।

गल्कोपाखा, काठमाडौं
२०७१/१/१४