सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कहिले सासूको पालो कहिले बुहारीको पालो

Nepal Telecom ad

नेपाली साहित्यको समकालीन परिदृश्यमा सन्तुलित हास्यव्यङ्ग्यको अकाल जस्तो छ । यस सर्वव्यापि सतहीपनको स्थितिको प्रमुख रोग यदि उदासीनता हो, भने उच्छृङ्खलता त्यसै सिक्काको अर्को पाटो । जीवन–मृत्यु अचेल कुनै गहिरो प्रभाव नपारेर टर्दछ र मनोजगतमा महत्वपूर्ण हिसावकितावै नगरेर मानिस आफ्नो आयु सिध्याउँदै गरेको देखापर्दछ । निसन्देह युगको मनोवृत्तिहरू इन्द्रधनुषी तन्तुहरू बुन्ने तहसम्म प्रवेश गरिसकेकोतर्फ सङ्केत गर्दैछ । यस्तो एकाङ्गी समयमा रचना संसारमा हास्यरसको सृजन एउटा चुनौती हो । चुनौती स्वीकार गरिएको संवेदनशील हास्यव्यङ्ग्य सङ्ग्रह– ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ प्रकाशित हुनु एउटा सुखद अनुभव हो । यसको सिर्जनकर्ता हुनुहुन्छ शेषराज भट्टराई ।
यस सङ्ग्रहका निबन्धहरू अध्ययन गर्दा लाग्दछ निबन्धकारले आफ्नो वरपरका ती झीना–मसिनादेखि ठूलठूला कुरालाई आफ्नो व्यङ्ग्य विषय बनाउने गरेका छन् । जससँग सधंै उनको प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । यसकारण स्वाभाविकै हो यी निबन्धहरूमा कला तथा शिल्पप्रति अतिरिक्त चनाखोपन भने पाइएको छैन । निबन्धकारको लागि निबन्ध उनको वर–परको जीवनका विसङ्गतिहरू, विडम्बनाहरू त्था अन्तर्विरोधसँग लाप्पा खेल्ने शरणस्थल हो ।
उनी सचेत पाठकसँग संवाद स्थापित गर्न चाहन्छन् । ती स्थितिहरूको विश्लेषण गर्न चाहन्छन् । जीवनलाई “असाधारण” बुझेका व्यंग्यकारले विडम्बनाहरूमा हाँस्दै विसङ्गतिहरूमा रुन्छन् पनि ।
“कहिले सासूको पालो कहिले बुहारीको पालो” मा व्यंग्यकारले भ्रूण रूपमा नै सही तर स्पष्टरूपले आफ्नो व्यक्तित्व दर्शाएका छन् । यो काम उनी हास्यव्यङ्ग्य निबन्धको माध्यमले गर्छन् । किनभने उनले वर्तमानको अराजक–अव्यवस्थालाई बुझेका छन् ।
शायद यसकारण ‘चोकमा सबैथोक’ निबन्धमा भट्टिवाल्नीको झोलदेखि नेताको मोलसम्मको विकृति विसङ्गतिले उनलाई पोल्दछ ।
उनी खुलस्तरूपमा व्यङ्ग्यको माध्यमले धेरैकुरो भन्न चाहन्छन् तर भन्न हिचकिचाइरहेको, डराएको जस्तो देखिएका छन् । यो समीक्ष कृति असन्तुष्टि, छटपटाहट र पिडाको उपज लाग्दछ । हास्यव्यंग्यकार निबन्धमा चुपचाप बसेका छैनन् ।
उनको व्यङ्ग्यको निशानामा राजनीतिका असफल खेलाडीमात्र हैन, घरभित्रका पात्रसमेत परेका छन् ।
उनी आफ्नो कुरा हास्य व्यंग्यको माध्यमबाट पाठकसँग बाँडेका छन् । यस सङ्ग्रहका निबन्धहरूले व्यङ्ग्यकारको भाषा कवितात्मक भएको निश्चय नै बयान गर्दछ । निश्चय नै भन्न सकिन्छ व्यङ्ग्यकार भाषाप्रति सजग छन् ।
यस सङ्ग्रहमा एउटा निबन्ध छ, ‘खटाएको मानु कति खानु ?’ यो व्यङ्ग्यले एउटा महत्वपूर्ण विमर्श गराउँदछ ।
यसको अर्थ यो होइन निबन्धकारले अरू हस्यव्यङ्ग्य रचनालाई एक किसिमको भेदभाव गरेर जनताको वास्तविक भाषा अभिजात्य शैलीको अगाडि डुगुरे पार्न चाहेको होस् । प्रकारान्तर निबन्धकार यो स्थापित गर्न चाहन्छन् व्यङ्ग्यगत दृष्टिले सबै निबन्धको एकैनाशको महत्व छ । सङ्ग्रहको शीर्षक निबन्ध ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ यस सङ्ग्रहको उपलब्धि हो । यसो त यस हास्यव्यङ्ग्यको आधार ‘पापी पेट’ यानी भोक हो । यसर्थ विज्ञहरूको मनोविज्ञानलाई यस निबन्धमा व्यङ्ग्य गरिएको छ । विगतदेखि हाम्रो आजसम्मको जीवनको हरेक क्षेत्रको विसङ्गतिलाई प्रहार गर्ने प्रयत्न भएको छ ।
आजका मानिस आफूलाई धेरै सभ्य ठान्न थालेका छन्, तर पर्दा उठ्ने बितिकै उसको वास्तविक स्वरूप सम्मुखमा देखा परिहाल्छ– हो व्यङ्ग्यको माध्यमबाट निबन्धकारले यो काम गरेका छन् ।
दुर्भाग्यले सत्ता सञ्चालकको चिन्तन आज पनि त्यही छ । एकातिर हामी गणतन्त्र, समानता तथा न्यायका कुरा गर्छौ, अर्कोतिर भय, अन्याय तथा असमानता कायम नै पाउँछौँ । व्यङ्ग्यकारले यस अन्तर्विरोधलाई राम्ररी बुझेका छन् । नेपालमा मानवता बिर्सिएको छ । वास्तवमा स्वार्थमा चुर्लुम्म डुबेको शासक मनुष्यलाई मानवीय हुन दिन चाहँदैन ।
निसन्देह वर्तमान पुस्ता त्रासमा बाँचेको छ, देशमा त्रासले बास गरेको छ । देशको त्रास देशका जनताको पनि त्रास हुन्छ किनभने सामान्य जनताबाट नै देश हुने गर्दछ ।
सङ्ग्रहका अधिकांश निबन्धहरूको केन्द्रमा मानिसको जीवनको विडम्बना, कठोर परिश्रम, अन्याय सहन बाध्य जीवन छ ।
‘अठोट’मा निबन्धकारले मानवीय भोगाइको राम्रो चित्र उतारेका छन् । सुख, सन्तोष तथा आनन्दलाई निवन्धकारले सर्वथा नयाँ भाषामा अभिव्यक्त गरेका छन् ।
सङ्ग्रहका थुप्रै निबन्धहरूमा निबन्धकारले श्रम गर्ने मानिसप्रति गरिने भेदभाव तथा उनीहरूका अभावपूर्ण जीवन बाँच्न बाध्य पार्ने षडयन्त्रप्रति पनि व्यङ्ग्य गरेका छन् । यसैगरी ‘गानु’ निबन्धमा निबन्धकारले मान्छेको पाखण्डप्रति प्रहार गरेका छन् । शेषराज भट्टराईको यो व्यङ्ग्यवेदमा रहेका ३३ वटा व्यङ्ग्यहरूमध्ये अधिकांशको पृष्ठभूमि वर्तमान जीवन छ, उहाँले शोषण, अन्याय तथा पाखण्ड पहिचान गरेर लठ्ठी नभाँचिने गरी साप मारेर व्यङ्ग्य प्रहार गरेका छन् । यसै गरिकन उनको व्यङ्ग्यवेद वर्तमान शासकको दुष्चक्रमा फसेको मानिसको आवाज बनेर देखापरेको छ । यस्तो आवाजलाई स्वागत गर्नुपर्छ ।
कृति — कहिले सासूको पालो कहिले बुहारीको पालो
कृतिकार — शेषराज भट्टराई
प्रकाशक — गन्तव्य प्रकाशन, काठमाडौं
मूल्य — १५०।
पृष्ठ — ९६ +१६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad