हिजो मात्रको कुरा हो । बिरामी लिएर अस्पताल गएको थिएँ, साथी वुद्धवीर नेपाली भेटिनु भयो । वहाँ पनि बिरामी लिएर आउनुभएको रहेछ । अस्पतालमा बिरामीहरू त थुप्रै आइसकेका थिए, डक्टरहरू आइपुग्नुभएको थिएन । डक्टर पर्खने क्रममा गफ गरेर भए पनि समय बिताउनु आवश्यक थियो । गफ गर्दागर्दै हामी समकालीन राजनीतिमा पुग्यौं ।

“ए थपिएपछि राजनीतिक पार्टीहरू कुनै सग्लिन्छन् कुनै बेग्लिन्छन् । वामदेवले एमाले फुटाएर माले बनाउँदा संस्थापन पक्ष भनिएको एमाले तिलमिलाएको थियो । भयङ्कर अवरोहको अशङ्कामा थियो । वामदेवहरू उत्साहसाथ जनतामा जान सक्नु भएन । समयान्तरमा दुर्खा चपाएजसरी लाज घिन चपाउँदै त्यसै एमालेमा समावेश हुन जानुभयो । महाकाली सन्धिको अराष्ट्रिय निर्णयका विरुद्ध फुटेको माले त्यसै सन्धिको अभिनन्दनमा नाचिरहेको एमालेमा गीत गाउँदै पस्यो : 
म त हजूर रमाउँदै आको छु
हिजोभन्दा सिलिम्म भाको छु
खुस्क्यो शिरको ताज, फर्केर आउनलाई लागेन क्यै लाज...

पछि एमाओवादीमा पनि फूटको त्यही इतिहास दोहोरियो । बिप्पावादबाट बिच्किएर फुटेका माओवादीहरू एमाओवादीमा छिट्टै समाहित होलान् नहोलान् थाहा छैन । विचारकै संघर्ष हो भने समाहित नहुन पनि सक्छन् । अहिले मुलुकमा १९ वटा कम्युनिष्ट पार्टी छन् । यिनीहरूले बढीमा चार नत्र तीनवटा पार्टीमा बिटो बाँधिएर प्रस्तुत भइदिए जनतालाई सजिलो पर्छ ।” नेपालीजीले भन्नुभयो ।

सहमति जनाउँदै मैले भनेँ “एमाले र एमाओवादी त एउटा दापका दुई खुकुरीजस्ता बनिसकेका छन् । यी दुई खुकुरी मिलेर एउटै खुकुरी बने हुन्छ । हुन त खुकुरी ठेट नेपाली भयो यसैलाई एक म्यान दो तलवार भने पनि कुनैै एतराज छैन । वहुदलीय जनवाद र एक्काइसौं शताव्दिको जनवाद एउटै होे । एउटै रक्सी उस्तै बोत्तल केवल लेवल मात्र फरक । त्यो पनि निशानाथ र रजनीकान्त भनेजस्तै । हैन त ?”

नेपालीजीले हाँस्दै भन्नुभयो, “ठीक हो । एमाओवादी र एमालेको स्पेस एउटै हो । बाँकी पन्ध्रवटा कम्युनिष्ट पार्टीहरू पनि विचार–सादृश्यका आधारमा बढीमा तीनवटा पार्टीमा एकतावद्ध हुन सक्छन् । समयको सङ्केत बझ्ने हो भने त्यसो गर्नु अपरिहार्य आवश्यकता बनिसकेको छ ।”

“कुरा त हो तर” प्रतिक्रिया जनाउन खोज्दै मैले भनेँ, “फुट र गुटको सनातन संस्कार संस्कृति अन्तर्गत जन्मदै र हुर्कंदैआएका नेपालका कम्युनिष्टहरू सिद्धान्तका आधारमा जुटेर चल्न सम्भव छ र ? एक जना शास्त्रीजीले संस्कृतमा सिलोक हाल्दै भन्थे,
‘व्राहमणाः गणकाः वेश्याः सारमेयाश्च कुक्कुटाः
दृष्टेष्वन्येषु कुप्यन्ति नजाने तस्य कारणम् ।
तथा नेपालदेशेस्मिन् दृश्यन्ते वामपन्थिनः
सदा वक्राः सदा क्रुद्धाः दोषारोपणतत्पराः

अर्थात् के कारणले हो कुन्नि, पुरोहित बाहुनहरू, ज्योतिषीहरू, वेश्याहरू, कुक्कुरहरू, र कुखुराका भालेहरू आफ्नै सजातीय अर्कोलाई पटक्कै देख्न सहन सक्दैनन् । एउटा पुरेतले अर्को पुरेतलाई देखिसहँदैन, एउटा ज्योतिषीले अर्को ज्योतिषीलाई देखिसहँदैन । ठीक त्यस्तै नेपालका कम्युनिष्टहरू पनि एकले अर्कोलाई देखिसहँदैनन् । एक अर्का विरुद्ध सधैँ वक्र, क्रुद्ध र विभिन्न दोषारोपण गर्न तत्पर मात्र देखिन्छन् ।’ सम्झेर ल्याउँदा शाश्त्रीजीको टिप्पणी पनि विचारणीय नै छ, हैन र ?” मैले भनेँ । यसमा हामी दुवै हाँस्यौँ ।

“तर यथार्थको अर्को पाटो पनि त छ नि ।” मैले गम्भीर हुँदै थपेँ, “तपाइँ कति सहमत हुनुहुन्छ थाहा छैन मेरो आफ्नो बुझाइमा ससाना कम्युनिष्ट पार्टीहरू आपसमा मिलुन् नमिलुन् अहिले सत्तासीन नेपाली कांग्रेस, एमाले, एमाओवादी, र मधेशवादी दलहरू भने आश्चर्यजनक रुपमा मिलेका छन् । स्थानीय स्तरमा विकासको रकम खाने पचाउनेदेखि लिएर मुलुकभित्रका तमाम पदहरूमा आपसी बाँडफाँडको बाटो हुँदै मुलुकको प्लटिङ् एवम् बाँड्चुँड् गर्ने कुरामा पनि वैचारिक सादृश्य र लक्षगत सहमति कायम भइसकेको अवस्था देखिएको छ । यी सवै मिलेर अघोषित रुपमा फोरम् खोलिसकेका छन् । त्यस फोरमको नाम ‘मिलिजुली नेपाल फोरम्’ रहेको हुनसक्छ । सत्ता र सम्पत्ति भनेपछि हुरुक्क हुने एक मात्र नीति र तदनुरुप विकृतिग्रस्त व्यवहारका आधारमा केलाउने हो भने यी दलहरूमा सैद्धान्तिक, वैचारिक, चारित्रिक फरक केही पनि छैन । ऊजस्तै ऊ, ऊजस्तै ऊ । सबैले सङ्ंघीयता सकारेका छन् । जातीयता र क्षेत्रीयताजस्ता विखण्डन, विनिर्माण र पृथकीकरणको उत्तरआधुनिकताप्रेरित राजनीति सकारेका छन् । नेपाल फोरम् भन्ने कुरामा सवैको कार्यगत सहमति स्पष्ट भएको छ । नेकपा माओवादी र अरु ससाना कम्युनिष्ट पार्टीहरू को कति कम्युनिष्ट, को कति देशभक्त व्यवहारले नै छर्लङ्ग भएर खुल्न अझै बाँकी छ । क्रियाकलापबाटै क्रमशः एक एक खुल्दै जालान् । आजका ठूला भनिएका राजनीतिक पार्टीहरू चाहिँ सवै लगभग एउटै, उस्तै सामग्री बेच्ने तर फरक फरक साइनबोर्डका हाटबजारे पसलहरूमा परिणत भएका स्पष्ट देखिएका छन्, जहाँ राष्ट्रिय उत्पादनको कारोबार छैन ।”

मुस्कुराउँदै नेपालीजीले भन्नुभयो, “यो त जगजाहेर कुरा छ । एक मधेश एक प्रदेश अथवा मधेशप्रदेश जस्ता फोरम्वादी सोचले राष्ट्रिय राजनीतिमा प्रवेश पाउनु अखण्ड नेपाललाई माया गर्ने देशभक्त जनताका लागि जनवादी वा लोकतन्त्रवादी अभिनन्दनको हास्यव्यङ्ग्यमय उपहार आउनु हो । भारतजस्तो ठूलो लोकतन्त्रवादी मुलुकले तीनतिरबाट आलिङ्गन गरेको नेपालजस्तो भाग्यवान् मुलुकका जनताका लागि विभेद र विखण्डनभन्दा ठूलो लोकतान्त्रिक उपहार के हुनसक्छ ? यसले नेपालमा सङ्घीयताको सन्दर्भलाई नै आयातित घण्टानाद बनाइदिएको छ । यो नादक घण्टा सामान्य घण्ट वा घण्टी मात्र नभएर विशालतम घण्टाका रुपमा उपस्थित देखिइसकेको छ । यो घण्टा नेपालमा बनेको होइन । नेपालीले बनाएको पनि होइन । देशभक्त नेपालीले यस्तो घण्टा बनाउनै सक्दैन । यो पश्चिमा सामग्री समेत मिसेर दक्षिनाहरूले बनाइदिएका हुन् । बोक्ने भरिया र उचाल्ने खम्बाहरू पनि उतैका हुन् । यसको आवाज नेपाली होला र यसबाट नेपाली जनता आपसमा अपरिचित बन्ने तहसम्म प्रभावित होलान् भन्ने कुरामा मित्रराष्ट्रहरू विश्वस्त हुनसक्लान् । नेपालीहरू विश्वस्त हुनसक्दैनन् । नेपाली माटो देशभक्तिको माटो हो । यस माटोमा निर्मित नेपाली मुटू मित्रराष्ट्रका योजनामुाविक सरल सहज विभेद्य छैनन् । बरु अभेद्य छन् । जुन दिन घण्टानादका लागि आगन्तुक हिरण्य कसिपुले खम्बामा लात हान्छ, त्यस दिन नेपाली जनताको शक्ति नृसिंह बनेर प्रकट हुन सक्छ, प्रकट हुन्छ । विखण्डनका संवाहक राजनेताहरू सभा भित्र बाहिर जतिसुकै सहमत बनुन्, नेपाली जनता विद्वेष र विखण्डनको अभियानमा सहमत बन्न सक्दैनन् । म त नेपाल अखण्ड रहने कुरामा अझै ढुक्क छु ।” नेपालीजीले भन्नुभयो ।

“म पनि ढुक्क छु । देशभक्त नेपाली जनतामा आस्था विश्वास राख्नेहरू सबै ढुक्क छन् ।” मैले भनेँ ।
“त्यसो भए यी मिलिजुली नेपाल फोरम्वालाहरूको भविष्य के त ?” नेपालीजीले हाँस्दै प्रश्न राख्नुभयो । मैले भनेँ  “त्यो त तपाइँले अघि गाउनु भएको वामगीत जस्तै होला–
खुस्क्यो शिरको ताज,
फर्केर आउनलाई लागेन है लाज ।

यिनीहरूले यही गीत गाउँदै भोलि नेपाली जनताको शरणमा आउनु पर्छ । नेपाली जनता क्षमाशील छ । नमुनाकै स्तरमा क्षमाशील छ । नेपाली जनताले सूर्यवहादुर थापा र गिरिजाप्रसाद कोइराला जस्ता राजनेतालाई पनि क्षमा दिएकै हुन् । यो त गौतम वुद्ध जन्मेहुर्केको देश हो नि । हैन र ?”

बालाजू, कठमाडौं