यसपालि अलि राम्रै व्यवस्था गर्नु है त बाबु । पोहोर परारजस्तो खेलाँची भए त खुत्रुक्कै परिहालिन्छ नि । त्यसै भनिदिनू ल बाबु, है त । मोबाइलको रिसिभर अफको टुइँटुइँ कानमा कनसुत्लीझैं धुमधामले बेपत्तिन्छ । ज्या, कस्तो भनेको होला ! बुझेको जस्तो पनि नबुझेको जस्तो पनि । नभनौं खबर जस्तो पनि, भनौं छिचोलिएको केही छैन ।

फेरि मोबाइल चिच्याउँछ, उठाउँछु र कानकै छेउमा पुग्ने बेलामा खुसुक्क अन गरि टोपल्छु । मैले देवी सरलाई खोजेको, हुनुहुन्छ कि हुनुहुन्न होला ? कसको मोबाइलमा फोन गर्नु भएको त ? हैन रङ नम्बर पो परे छ कि है त । होइन, देवी नामको त्यो क्यारे मै हुँ । भैगो है त, जाँजेको नम्बर ठीक प¥यो कि परेन भनेर ।
घरमा वा हुनुहुन्छ कि भनेर आएको । है त बाबु म अलि चपेटामा छु । केही समस्या भए भन्नुहोस् बाको काम न गर्नसक्छु कि ? है त बाबु अहिले जाऊँ । बाबुसँग अलिबेर नै लाग्छ अहिले (घडी हेर्दै) समय कम छ । बाबु है त । म अलमलिन्छु यो है त नामको पदावलीमा कस्तो शक्ति लुकेको होला । अनुमति मागेको जस्तो पनि देखिने अनुमति वा स्वीकृतिको खाँचो पनि नपर्ने । भन्नेले हलुको खुकुलो गरी भन्न सक्ने तर सुन्नेले नाइँ भन्न पनि नसक्ने निर्णयमा पनि नपुगिने ।

बाबु, यत्रो बाटो दुःख गरेर आउनु भयो । यसपालिचाहिँ गर्न सकिएन है त । नरिसाउनु भन्नु एक माघले जाडो जाने होइन । अप्ठ्यारो सप्ठ्यारो आइरहन्छ, गइरहन्छ है त बाबु । मैले बेकार दुःख दिएँ । कहिलेकाहीँ यस्तै हो है त । एकछिन त मलाई घोत्लिन बाध्य पार्यो यो है त ले । एउटा चौतारीमा उपरखुट्टी लगाउँदै घोत्लिएँ । हैन, मानवीय जीवन कस्तो जीवन होला । अरूको भर नपरी पनि नहुने । परेर पनि सधैं साध्य नलाग्ने । कहिले पेटभरि रिसाउँदा पनि कहिले मुटुभरि खुसाउँदा पनि नहुने । अन्य जीव आत्मनिर्भर छ, आफ्नै बलबुताले जीवन जिउँछ । संघर्षमा उत्रन्छ । सके उन्नत जीवन बाँच्छ नसके स्वीकार्छ मृत्युलाई हारलाई । बिरालो बलबुताले मुसा मार्दछ, पेटभरि खान्छ, भोक नलागुञ्जेल ऊ ढुक्क छ । न उसलाई सञ्चितीको चिन्ता छ न सकिने नै डर । तर मानव आज यति फन्दामा फसेको छ ऊ अरूको भरमा टिकेको छ, अडेको छ । बिरालोलाई मुसो नभेट्टाउने डर किन नभएको होला ? यसमा एउटा अडेको छ विश्वास । जुन बिरालो पनि भोलिको लागि मार्दैन मुसो । उसलाई अहिलेको भोक हुत्याउनु छ । भोक लागेपछि मात्र त्यसको बारेमा सोच्ने न्याय देख्छ ऊ । भोक लाग्नु अघि नै भोकको बारेमा सोच्न ऊ किमार्थ न्यायसंगत मान्दैन । आम बिरालाहरू उस्तै छन् र अरू जीव पनि । मान्छेले बाँच्नलाई यति धेरै कृक्रिमता किन अपनायो ?

फेरि मेसोमा आउँछ । हात्ती आयो, हात्ती आयो फुस्सा, के–के न आयो भनि हेर्दा कुत्ता भनेजस्तै भयो मलाई । डोरीनाम्लो एकातिर मुठो बाँध्ने पछिल्तिर भनेझैं । अरू है त को हैरानीबाट कति प्रताडित छन् त्यो मैले थाहा पाउन सक्ने कुरै भएन । प्रत्येकका आ–आफ्नै अनुभवका खात होलान् । कोही है त लाई सभ्यताको द्योतक मान्लान् त कोही नकच्चरोपनको ओखल । डोरी जति बाटे पनि गाँठो एउटै भुँडी जति साटे पनि खाँचो उस्तो भनेझैं जति टाउको उति गिदी जति उकाली उति सिँढी भनेजस्तो मान्छे मान्छेको कुरो सुन्दा सुनाउँदा गरिसाध्य पनि छैन र भनिसाध्य पनि त्यस्तै त्यस्तै । मलाई च्वास्स लागेको चाहिँ कुरो अलिक पाङ्ग्रे खालको चाहिँ पक्कै छ । मेरो ठम्याइमा त यो है त लाछीपनको ओदान र पङ्गुपनको भाँडोको नजिक–नजिक पुगेजस्तो लाग्छ । सहमति, असहमति, अनुमति, सुमति जेजे भनेर कुरो जोते पनि गफको न फूल लाग्छ न फल नै ।

तपाईंंलाई लाग्ला जाबो मामुली कुरो है त को धज्जी उडाउन किन मन लागेको होला ? लेख्ने, ओकल्ने विषय यिनलाई आएन कि क्या हो भनेर । तपाईंं खोज्दै जानुस्, है तका पारखी तपाईंं जताततै जहीँतहीँ मजाले भेट्टाउनुहुन्छ । है त मास्टर, है त डाक्टर, है त इन्जिनियर, है त मन्त्री, है त योजनाकार, है त डिजाइनर, हैत विक्रेता । गहिरिएर खोतल्दा तपाईंं पनि पक्कै सहमत हुनुहुन्छ । है तको जुरोमुङ्ग्रो कहाँ पुगेको होला ।

तपाईंंलाई लाज सरम छैन । दुई पटक तलब खाइसक्नु भयो, चिया खाएको पनि सम्झाउनु पर्ने ? भाउजू त्यस्तै प¥यो तलब पहिला जस्तो हातमा दिँदैनन् । चेक साट्न जाँदा आउने समय मिलेन यो पालि । अघिल्लो पालि पनि त्यस्तै भयो । अब त्यसो हुँदैन है त भाउजू । नरिसाउनोहोस् है त भाउजू अबदेखि अरूभदा म अगाडि नै हुन्छु होला । सत्र दिन राख्दा तीन लाख काहीँ हुन्छ । फेरि हामी दुर्गम क्षेत्रको मान्छे । छुट पनि त पाइने नियम छ क्यारे ! पहिल्यै भन्नु भएको भए केही हेर्न हुन्थ्यो । त्यसो हुन सकेन । अब अर्को चोटि आउँदा केही हेर्छु अहिलेलाई है त । सरकारी भवन बनाउँदा सरकारी इन्जिनियरले नि कतै पर्सेन्ट लिन्छन् त ? त्यस्तै हो भने म जिल्ला प्रशासनमा उजुर हाल्छु । हजुर यो भन्दा अगाडि नै भएको भए कुरा मिल्थ्यो । तपाईंंले नि स्समरण गराउनु भएन । भवन अर्को पटक पनि परिहाल्छ । त्यतिखेर हेरौंला है त ।

यसपालि यसलाई बजेट पार्दछु भनी तपाईंंले नै गोलकाँक्री चौरमा घोषणा गर्नु भएको हैन ? त्यतिखेर बोलेको बिर्सिहालिएछ । अर्को पटक म रातो किताबमा नै आउने गरिदिउँला । अहिलेलाई है त । फोन टुङटुङमा बदलिन्छ । राम्रो र ओरिजिनल भनेको हैन, सात दिन पनि नटिक्ने दिने हो ? ज्या कालो पोकाको भनेको रातो पोकाको पो परेछ । अबचाहिँ त्यसो हुँदैन है त । तातो कि चिसो हजुरलाई बसौं न टाढादेखि सवारी भयो । ए ! रामे कुर्सी ले त बाहिर घाम तापौं । प्रयोगधर्मिताको शरण लिँदा भने यसका केही नवीन रूपहरू पनि सहजै देखिन थालेको छ । हो त, है त होइन त, होला नि त, हो नि, हो क्यारे, हो व्यारे, होला कि, होला नि के यी पदावलीहरू लगभग उस्तै उस्तै परिवेशमा निम्तिएका होलान् कि ! जसरी नि सजिलैसँग समाधान निकाल्ने मनशाय बोकेका शाब्दिक अस्त्र संरचना फरक परे पनि कार्यरूपमा भने पक्कै एकै निष्कर्षमा डोरिन्छन् । ५ विषयमा डिग्री र दुई वटामा मेडलको सिक्री लगाउनु भएको तपाईंंजस्तालाई बुझाउनु प¥यो भने अरूको हालत भने कस्तो होला ?

एक दिन सडकमा यसो मन बहलाउन निस्केको थिएँ । पछाडिबाट मोटरसाइकलले एक घुच्चा दिँदा सजिवनको बुटामा मुन्टो जोतियो । उठी हेर्छु त त्यही नमस्ते प्रसादको करामत रहेछ । जहाँ जसलाई भेटे पनि नमस्ते गरिहाल्ने हुनाले सबैले नमस्तेप्रसाद राखिदिए । वास्तविक नाम बोधनाथ प्रायः नागरिकतामा नै कैद भइसक्यो । जुर्मुराएर पाटा नमिलेको ढुंगो बजियाको पुर्पुरो सेकौं भनेर के सुर्रिएको थिएँ । फेरि थपियो अर्को नमस्ते । रिस नै गायब । अघिपछिको नमस्तेको साउँव्याज नतिरेको भएर हो कि नमस्तेको औधी भोकले हो रिस उसै सेलायो । कष्ट भए माफ पाऊँ है त सर । म खिस्स हासेँ अघि उठ्या रिस फिस्स परिहाल्यो । यहाँ पनि है त ले गज्जबकै बाजी मार्यो । रन्थनिँदै घरमा के पुगेको थिएँ मोबाइलको पुन्टे भाँडो बत्तुरिन पो थाल्यो । हलो को, किन दुःख गरिस्या... ? आवाज आयो ज्वाइँसाहेब छोरी १/२ दिन माइत बस्छे है त ? पर पनि सरी वर सरेर हजुरको सेवा गर्न पनि नपाउने भई । १÷२ दिन त हो । के चाहिँ फरक पर्ला त ? है त ज्वाइँ यत्तिको लागि ओछ्यानमा गई पल्टेको के थिएँ । छोराको १ नम्बरे लँगौंटियारको फोन बज्यो । निरज घरमा २÷४ दिन नआउला । त्यसबेलासम्मलाई मोटरबाइक यसो लैजान्छु है त बुबा । सिक्न पनि हुने यसो साथीको भने पनि देखाउन पाउने है त बुवा ऊ भए दिइहाल्थ्यो । लिन आउँ है त । म छक्क परेँ, हरे यो है त माग्ने, दाग्ने आदिको दहिचिउरे मनोवृत्ति । भित्रभित्रदेखि आँठ अठिङ्गल दुख्न थाल्छ, अब कसो गरौं । मलाई अब है त–फोबियाको संक्रमक रोगले आधाआधी टोकसी सके छ । ३ दिनपछि पत्नीले तिपेनीसम्म आउनुस् है त भनेर फोनबाट के भनेकी थिइन्, मेरो कन्सिरी तात्यो, रगत उम्लियो र स्वाट्ट मोबाइलको ठाँडो आँगनमा के बजारेको थिए, सानो छोरोले खिस्स हाँस्दै भन्यो बाबाले आज के के फाल्ने हो हेरौं है त ! टोलका केही चिचिण्डा आँगनभरि जम्मा भइसकेका थिए ।

म निष्कर्षमा पुगेँ है त घोक्रेठ्याक आन्दोलन हलन्त बहिस्कार आन्दोलन, झर्रो नेपाली आन्दोलनजस्ता आन्दोलनको रूप यसलाई चखाउने सोच राखेँ मैले । है त घोक्रेठ्याक आन्दोलन वास्तवमा ठीक होला कि ? बरु हो त, हुन्छ त, लौ त, लु त भनेर बीट मार्दा राम्रो पो हुन्थ्यो कि । मेरो हुस्सुमति खुस्स इजार खुस्क्या ढाँचामा खुस्किहाल्यो । विकल्प थुप्रै छन् नि, सन्किएर बाङ्गियो । नेपाली समाजमा मज्जाले हुर्किएको यो है त पदावलीले झटपट छोडिहाल्ने मति भने देखाएको छैन । फाल्नु पर्ने विषय प्रसङ्ग, सवाल बहुतै छन् । फेरि एउटा पदावली घोक्र्याउने नाउँमा १० रेक्टरको कम्पन किन ल्याउनु । बरु विकल्प दिन सकियो भने त्यो चाहिँ जाती है त को साटो हो त राखेर प्रयोग गर्दा अलिक परिमार्जन पनि हुने नकच्चरो, नर्कटो बढ्न पनि नपर्ने सोचेर त्यतातिर यो दिमागी गाडी हुइँकियो । है त को साटो हो त भन्या पो अलिक मज्जा हुन्थ्यो कि ? यसो गहिरिएर बुझ्दा त कहाँ अनुमति मागेको कुरा कहाँ दृढ विश्वासका समर्थनमा बोलिएको बोली । सन्दर्भ, प्रसङ्ग नै मिलेन न मिलिहाल्ला कि भनेर १÷२ ठाउँमा प्रयोग गरी पनि हेरेँ । हालसम्मको स्थितिमा भुटानले स्पेनसँग फुटबल खेल्या जस्तो पो अनुमानमा म पुगेँ । एक दिन छिमेकी ठूलाबाका पुगेको थिएँ । हिँड्ने बेलामा ल ठूलाबा हो त के भनेको थिएँ । उनी पाखुरी सुर्केर पो आइपुगे । हैन के बुझेको तपाईंंले भन्दा त यति भाँती भन्दा त्यसैलाई बहिनी दिने हो त भनेर किन सोधेको ? म जिल्लाराम परेँ । मैले त है त भन्नु पर्ने हो त भनेँ माफ गर्नु होला यदि तर्क फेरि दिएँ । है त भनेको भए बहिनी दिऊँ है त भनेको अर्थचाहिँ लाग्दैन त ? मेरो तर्क अलि चोटिलै परेछ क्यार । मैले तँ हिँडेको बुझेको थिएँ । है त भनेको जान्छु भनेको बुझेको थिए । किन रिस उठ्थ्यो त ? हाम्रो हरेक शब्द पदावलीमा सांस्कृतिक पक्ष लुकेको छ क्या लाटा, मास्टर भएको कहाँ गयो भन्नु खै, भने रिसाउलास् । अब नथपौं भन्दै बोले ठूलाबा है त । उनी खुसी हुँदै जवाफ फर्काउँछन् माया नमारेस् नबिर्सेस् ।

एक दिन माल अड्डा पुगेको थिएँ । एक कर्मचारीलाई गएर भनेँ, हो त सर ? पियनले भनेअनुसार भनेको रहेछ क्यारे भन्ने ठानी उनले भने हुन्छ, कुरोचाहिँ नखुस्कियोस् । म जिल्लिएँ, सरकारी कार्यालयमा फेरि हो त पो शक्तिशाली रहेछ । अब यहाँ हाकिमदेखि पियनसम्मलाई हो त, हुन्छ भन्न सकिए टन्टै खत्तम । घरमा गएर घरबूढीलाई सोधेँ, हो त ? उनले भनिन्, लौ दिउँसै ! भएन बर्बाद ! नयाँ रहस्य पत्ता लगाएजस्तै गरी घरमा लागेँ दिउँसै खाटमा चार हात खुट्टा फाल्दै लम्पसार परेर सोचेँ चलन बसेपछि फाल्न धौ धौ पो हुने रहेछ । फेरि नेपालजस्तो देश जहाँ बसेको चलन राम्रो नराम्रो असल खराब जे भए पनि फालिहाल्न नचाहने नयाँ सिस्टम आए पनि पुरानोको अंश पुच्छरझैँ नछुट्ने त्यतातिर लागेर समय खेर फाल्नु साटो टाउकै नदुखाउनु उचित । बूढीलाई एक छिन निदाउँछु नबोलाऊ है त भन्दै कोल्टो फर्किएँ । त्यसपछि मैले यस्तो विषयमा घोत्लिन नै छाडेँ ।

सिन्धुपाल्चोक