चीरहरण गरिरहेछन् कौरवहरू
पाण्डवहरू रमिता हेरिरहेछन्
कृष्ण ! किन मिल्काउँछौ तिमी
समुद्रजस्तै कहिल्यै नटुंगिने
सुरक्षाको रंगीन साडी ?
हुन देऊ, तान्न देऊ
निर्वस्त्र देखाउन चाहन्छु म
यी पाण्डवका रोहवरमा
आफ्ना शरीरका प्रत्येक अङ्गप्रत्यङ्ग
उत्तेजित मनहरूले खेलून्
उन्मादका रंगीन होली
रुझून्, चरम उत्कण्ठाका रङ्गहरूले निथ्रुक्क
यिनका मन मस्तिष्क र आँखाले हेरून्
आफ्नी अर्धाङ्गिनीको अस्तित्वको
दुःखद चीरहरण ।

भन्थे, लोग्ने सुरक्षा हो
अविरल झरी र घामबाट जोगाउने
ओतको दरिलो छाता हो
आँसु र पीडालाई
खुसीमा रूपान्तरण गर्ने एउटा सर्जक हो
रहेन अब त्यो सत्य
मात्र एउटा किंवदन्ती भएका छन्
यी उपमाहरू ।

कृष्ण ! कतिपल्ट गुहार मागूँ म
आत्मरक्षाका लागि तिमीसँग
कति सुनाऊँ तिमीलाई आफ्नो पीरको कथा
कतिपल्ट च्याँखे थापूँ शकुनिका खालमा
आफ्नो अक्षत अस्तित्व ।

निरन्तर हारेकी छु, रोएकी छु, पिरोलिएकी छु
र आजित भएकी छु यी जुवाडेहरूसँग
निरन्तर दाउ लगाइरहेकी छु आफ्नो शरीर
भैगो नदेखाऊ कुनै सद्भाव, आत्मीयता र दया
नझार मेरो विवशतामा
सहानुभूतिका दुई थोपा आँसु
यिनीहरूका लागि माटो च्याँखे हो
राष्ट्रियता, आदर्श र स्वाभिमान च्याँखे हो
जुवाडेहरूको कुनै देश हुँदैन, आफन्त हुँदैनन्
हुँदैनन् कुनै जिम्मेवारी र कर्तव्य
हुँदैन कुनै डर, लाज र घिन
यिनीहरू खेल्छन् निर्लज्ज खेलिरहन्छन्
षड्यन्त्रका खालमा जीवनको डरलाग्दो खेल ।

विराटनगर