म !
कक्षा सातविषे पढाइ नहुँदै रोमान्समा लागियो !
धेरै वर्ष भएर फेल, दसमा फड्केर श्रेणी चढ्यो !
यो भन्दा पढिएन, सात दिनमा चौधै घुमेँ अञ्चल,
पैले ता अखिले थिएँ, स्थिती बुझे पश्चात् बने मण्डल !
मेरो मण्डलमा प्रवेश जब भो ! भो आम–निर्वाचन,
जिल्लाको म सदस्यमा पनि लडें ! क्षेत्रीय नेत्री हुन,
हारेँ तैपनि हाकिमादि गुरुले च्यापेर काखी अब !
मेरा बाबु–बराजुको पनि भयो स्टयान्डरै दोब्बर ।
ट्याक्सीमा म फिलिल्ल बग्छु अहिले कुर्ता र सुर्वालमा !
चस्मा नील लगाइ चक्षु दुईमा, ज्याकेट लेडिज् नयाँ !
एडीवाल जुता दुवै पयरमा, दोकाँधमा ओढ्छु सल् !
पार्छु हेर ! झिलीमिली मुलुकमा यौटी म तीनै सहर् !!!
बच्चा जन्मिन पाउँदैन म सधैँ ट्याब्लेट खान्छु अनि !
इन्जेक्सन् म लिंदैछु तीन महिने प्यारी सँगिनी भनी !
मेरा मानिस छन् विशिष्ट पदमा, जौं आज भन्छन् तिनै,
पाँच्तारे कि त एभरेस्ट र यती होटल् म पुग्छु सिधै !
सोल्टीमा पुगि सोल्टिनी पनि बनेँ ! धेरै कमाएँ धन !
भन्छन् रे ? अब गाउँमा पनि कठै ! छोरै रछे त्यो, हन ?
गाउँमा म अगाडि निन्दित थिएँ, ट्याक्सी भनी भन्दथे,
ऐले एक कटेज कान्तिपुरमा सौ लाख हाली किनेँ !
फोहोरी अब गाउँलेहरू यता आए भने थुक्छु म !
जिल्लाभित्र ठूलाबडा जति सबै जाहान झैं ठान्छु म !
जस्ले जीवनको मजा पनि लुटे ! जागीर जोडी दिए !
श्री सम्पत्ति दिए ! तिनै पुरुषकी मैला लँगौटी म ए !
विराटनगर