सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कालीमाया र नयाँ नेपाल

Nepal Telecom ad

मिति : ऐजन ऐजन

प्यारी कालीमाया,
पहिलेको भन्दा डबल माया ।

जबजब जुलुस देख्छु तँलाई सम्झन्छु । यसोभन्दा मैले तँलाई बिर्सन लागेछ भन्ने लाग्यो होला तर त्यसो होइन । मैले त तँलाई दिनहुँ कैयौँपल्ट सम्झन्छु भन्न पो त खोज्या । लोकतन्त्र ल्याउनलाई गाउँमा हामी कति जुलुसमा हिँड्थ्यौँ ! सम्झी त कालीमाया ! तेरो बाबाले गाली गर्दा पनि ताली बजाएर म तँलाई बोलाउँथेँ । तँ पनि त झ्यालबाट हाम्फालीकन आउँथिस् । जुलुसमा जान्थ्यौँ, मैले लोकतन्त्र भन्थेँ, तैँले जिन्दावाद भन्थिस् । लोकतन्त्र भित्रिएपछि हामी दुईको अन्तरजातीय गाँठोलाई अवीरजात्रा गर्दै हाम्रो समाजले छुवाछुतलाई लाठो हान्दै सधैका लागि बाटो लगाइदिने आशा थियो । गाउँको झ्याऊजस्तो अनुहार रातारात स्याउजस्तो हुने विश्वास थियो । साँच्चिकै ‘न्युची’ नेपाल बन्ने भरोसा थियो । अनि हामी र हाम्रा भन्टाङभुन्टुङ शान्तिभूमि, मातृभूमि नेपालको सुन्दर शान्त गाउँमा हाँसीखुसी लाइफ बिताउने इच्छा थियो । लोकतन्त्र आएपछि शोकतन्त्र र भोकतन्त्रले गुहार माग्छ भन्ने थियो । त्यसैले त दुई–चार पैसा सँगालेर फर्कुंला र गाउँमा एउटा भव्य झुप्रो ठड्याएर सुखी जीवन बिताउँला भन्दै शहर पसेको थिएँ । ऐलेपनि यतैतिर बसेको बस्यै छु । तीनचार मैना यहाँ बस्दाखेरिको दुःख–सुख र अनुभवहरु तँलाई सुनाउन मन लागेर आयो त्यसैले यो चिठी लेख्दैछु ।

आहा ! गाउँ त कति सफा हुन्छ है ! तर यो काठमाण्डू त छिछिछिछि । जताततै फोहोरै फोहोर, लाग्छ पोहोर देखिको फोहोर फालेका छैनन् । यहाँ त नाक थुनेर हिँड्दा पनि गाउँको हाम्रो चर्पी भन्दा गनाउने रैछ । पूरै काठमाण्डू एकचोटि पोस्कर र खरानीले माझ्नुपर्नेभएछ । त्यहीँ भएर त रैछ नि नेताहरुले नयाँ नेपाल बनाउने भनेको । माझेर टल्काइदिने एकदम । अझ त्यतिमात्र कहाँ हो र ! जताततै ठूल्ठूला झुप्रैझुप्रा । हाम्रा गाउँका नेताको त झन् आठतल्ले झुप्रो । तर सबै चोक, गल्ली र टोल अव्यवस्थित र भद्रगोल । नयाँ त बनाउनै पर्ने रैछ । यता सुन् न ! काठमाण्डू गएर सबभन्दा पहिला बाग्मतीमा न्वाएर पशुपतिको दर्शन गर् भनेर तैँले भनेकी थिइस् नि ! त्यसैले आएकै दिन राती पशुपति गएर अँध्यारैमा न्वाएर दर्शन गरेँ । साथीको कोठामा फर्किदा त जिऊ पूरै डुङ्डुङ्ती बसाएर खपिसक्नु भएन । जम्मै जिऊ चिलाएर, लुतो समेत आयो । अर्कोदिन हेर्नगाको त मेरी बास्सै ! बाग्मती हो कि ढलमती छुट्याउनै गाह्रो । पानी हो कि अलकत्रा बगेको जस्तो कालो न कालो । धन्न त्यही पानीले न्वाइदिँदा पनि पशुपति भगवानलाई ऐलेसम्म केही भएको रहेनछ । भगवानको शक्तिले त होला नि हैन ! झर्लक्कै हुनेगरि नयाँ नेपाल बनाउँदा बाग्मती पनि सर्लक्कै नयाँ बनाउनु पर्ने देखियो । फेरि वनमान्छे पनि कतिका हुन् । वनमान्छे नभनुञ्जेल यो मनले मान्दै मानेन क्या ! जहाँ गएपनि भीडैभीड । ठेलमठेल, धकेलाधकेल । हिँड्दा पनि, बस चढ्दा पनि । कछाड किन्ने ठाउँमा समेत तँछाड–मछाड । लोकतन्त्र आएपछि गाउँमा कति शान्ति, कति रमाइलो भाको होला तर यहाँ त झन् बबाल भैरहेको छ । ए काली ! अर्काकी साली ताक्दै हिँड्ने त्यो मोरो जाली पिलन्धरप्रसादसँग नबोल है ! टुनामुना जानेको छ त्यल्ले त । धत् कुरा त अर्कैतिर पो गएछ । अँ, यहाँ त दिनदिनै नारा–जुलुस भैरहन्छ । हामीले त गाउँमा जुलुस मात्रै निकाल्थ्यौँ त्यो पनि नाच्दै गाउँदै । यहाँ त गाडी जलाइदिने, ढुङ्गाले अर्काका घरका सिसा फुटाइदिने । बाटाभरि गाडीका पाङ्ग्रा बाल्दिने । बडो रमाइलो गर्दारहेछन् । इन्द्रजात्रा भन्दा त तोडफोडजात्रा रमाइलोसँग मनाउँदा रहेछन् । धुवाँले शहर नै ढाकिँदो रहेछ । यसअर्थमा त्यता हाम्रो गाउँको सभ्यता भन्दा त यता शहरको सभ्यता खत्तम हुँदोरहेछ । शहरियाले गाउँलेबाट सिक्नुपर्ने कुराहरु त टन्नै रैछन् । अझ हामीलाई नै पाखे भन्दारैछन् । जताततै फोहोर गर्ने, हल्लाखोर गर्ने र सहयोगको निष्कपट भावना नभएका लाखेहरु पाखे हुन् कि हामी पाखे हौँ ! त्यो मैले बल्ल मेसो पाएँ । त्यसोभए नयाँ नेपाल बनाउँदा हामीले शहरियालाई सबैकुरा सिकाउनु पर्नेभो बुझिस् ! ठीकै छ, आफूले जानेको कुरो नजानेकाहरुलाई सिकाइदिउँला नि त हुँदैन ? एउटो राम्रो कुरो चाहिँ यहाँ सडकको सुविधा, मोटरगाडीको सुविधा रहेछ । मेरो बाक्लो दाढीभन्दा धेरै त गाडी गुड्दारहेछन् सडकमा । जताततै स्कुल–क्याम्पसहरु हँुदारैछन् । यो कुरोचाहिँ न्युची नेपाल तयार पार्नुपर्दा हाम्रो गाउँतिर पनि सार्नुपर्ने रहेछ ।

आजपनि तीन चारवटा जुलुस देखेँ । हरेकपल्ट तँलाई सम्झिएँ । के–के समुदायको जुलुस । के–के जातको जुलुस, के–के धर्मको जुलुस, के–के हो के–के । यो देख्दा हाम्रो देशमा जातीय बिभेद सडेर जाला भन्दा त झन् बढेर जाला जस्तो पो लाग्छ । जातभात हटाउने भन्छन् फेरि जातीय स्वायत्तशासन भन्छन् । यसोगर्दाखेरि झन् बिभिन्न जातिमा तँ तँ र म म हुँदैन र भन्या ? कुरै बुझ्न गाह्रो । यहाँ त सरकारमा जान र पद पाउन पनि हामी दुईले अण्डा बाँडेर खाएजस्तो भागबण्डा चल्दोरहेछ । त्यैँ भएर कहिले मन्त्रीमा कुरा नमिल्ने, कहिले सभामुखमा कुरा नमिल्ने, कहिले मन्त्रालयका पदाधिकारीहरुको नियुक्तिमा कुरा नमिल्ने हुँदोरैछ । हरकुरामा ढिलाइ भएको कारण नै त्यही रैछ । अझ अचम्मको कुरो सुन्छेस् ! यहाँ त विद्यार्थीले नै क्याम्पस बन्द गर्दिंदारैछन् । ड्राईभरहरुले नै चक्काजाम गर्दारैछन् । हुँदाहुँदा डाक्टरले समेत अस्पताल बन्द गर्दिंदारैछन् । अचम्मै हुँदोरहेछ । गाउँतिर बरु लोकतन्त्र आएको छनक पाउन थालियो होला तर यहाँ त छेकछन्दै छैन । भेदभावको अन्त्य गर्दै शहरको विकास गाउँमा र गाउँको स्वच्छता शहरमा बनाउनु नै नयाँ नेपालको निर्माण रहेछ भन्ने बुझेको छु । तर तैँले र मैले सोचेको जस्तो सजिलो भने पटक्कै रैनछ । शङ्का गर्नुपर्ने ठाउँहरु टन्नै रैछन् । पहिलो कुरा त सजिलैसँग उध्रिएका नेताहरु सुध्रिनै गाह्रो रैछ । घुसखोरी र भ्रष्टाचारीहरुले पनि धमाधम न्याय पाउँदारैछन् । अराजकता फैलाउने प्रतिगामी तत्वहरुपनि सव्रिmय हुन थालिसकेका रैछन् ।

आजपनि म रातभरि निदाउन सकिन । घरी तँलाई सम्झन्छु, घरी नयाँ नेपाल सम्झन्छु । ए काली ! खालि तेरो यादले सताउँछ तर यसपाली त ताली बजाएरै तँलाई घरवाली बनाउने छु । तर फेरि तँलाई आफ्नो बनाउन भन्दा गाह्रो नयाँ नेपाल बनाउन देख्दैछु । जसरी तँलाई मेरी बनाउन असम्भव छैन, त्यसरी नै नयाँ नेपाल बनाउन पनि असम्भव भने छैन । जातीय द्वन्द्व, साम्प्रदायिक द्वन्द्व सबै त्यागेर सम्पूर्ण नेपालीहरु मिलेमा यो असम्भव छैन । तेरो र मेरो बिहेपछि हाम्रो पहिलो सन्तानसँगै नयाँ नेपालको पनि जन्म हुनेमा म विश्वस्त छु । लौ जा ! यो कलमको पनि मसी सकिन लाग्यो । अब कति लेखिराखौँ र ? अर्कोपटक धेरै लेखुँला । अझ धेरै कुरा त जब तँ र म सँगै हुन्छौँ त्यै बेलामा गरौँला । आजलाई भने नयाँ नेपाल बनेपछि भेट हुने बाचासँगै कलम बन्द गरेँ ।

तैँले माया गर्ने
गोरेप्रसाद

‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रह २०६७ बाट

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का