मानव जीवनमा अनेक संस्कृति उदाउँछन्, अस्ताउँछन् । दासी होइन सखल्ला तालीको संस्कृति । मानवसभ्यताले भर्खर वामे सर्न थालेपछिदेखि तालीले मान पाउन थालेको हो । बोली नफुटेका लालाबाला समेत झुराउन थालेपछि तालीको महत्व झनै चुलियो । रङ चढ्दै गएपछि बुढ्यौलीलाई समेत तालीको स्वाद बच्चालाई भन्दा ज्यास्ती प्रिय बन्दै गयो । तराबाजी लै लैबाट उक्लिएको यसको महत्ता तुलसीको मोठसम्म कब्जा जमाएरै बसेको भेउ सबैले पाएकै छन् ।

समर्थनको उच्च प्रदर्शन शाब्दिक, कायिक सबै रूपबाट चल्दछ । हो हो, हजुर हजुर, ठीक हो ठीक होबाट शाब्दिक समर्थनको दैलो उघ्रन्छ । दुई हत्केलोको भाले जुधाइबाट कायिक समर्थनको चाँजोपाँजो मिल्दछ । थपडी, ताली भनेर अनुमोदन पाइसक्यो । आदिविन्दु खोज्दा भने महाभारतमै पुग्नु पर्ला । दुर्योधनलाई कानाको छोरा कानै भन्दै द्रौपदीले अट्टालीबाट मर्जी भएको वाक्य नै सायद तालीको सुरुवाती चाबी हुन सक्छ । अचेल तालीको स्वाद सबैको जिब्रोले भेट्टाएको छ । कोक्रोमा नुनु गर्नेदेखि बत्तीसा फुक्लिएका र गालामा कान्ले खेत जोडेका बाजेबज्यैमा पनि ताराबाजीको स्वाद आमाको दूधभन्दा बढी प्रिय छ अचेल । हाम्री हजुरआमा क्या जाती, नाइटोभन्दा पटुकीमाथि भन्दै ताली ठोक्दा अरू बिर्सिए पनि ताली भने सम्झिएकै पाइन्छ । राजनीतिमा गन्ने विषय ताली नै बन्यो तालीको गनोटमा व्यक्तित्वको मूल्य तोक्ने अभ्यास त्यही विन्दुबाट आरम्भ भयो कि ?

हुन त ताली संस्कृतिका सहोदर दाजु, दिदीहरू पनि छन् । उही समयमा हुर्किएका दाजुदिदीहरू तालीजत्तिकै लोकप्रिय बन्न सकेनन् । तालीकै दौंतरी हुन्– काली संस्कृति, काले संस्कृति, लौ, के त आदि संस्कृति । धेरै आयातन हसुरेको काले र काली संस्कृति अहिले परिवारभित्र थुपुक्क लुकेको छ । जत्रोसुकै मर्यादामा रहेको छोरो चाहे प्रधानमन्त्रीमा उक्लिए पनि कालेले गर्यो प्रगतिभन्दा हाँसोबाट नै अनुमोदन होइजाला । हाम्री काली पुगी त्यहाँ भन्दा पत्नीको भुइँमा खुट्टी नटेकिएको यो फुटेका आँखाले दृष्टिगोचर गर्न नै भ्याउँछ नै । लौ हो त केटाले सक्यो नि भनिदिँदा दौंतरीको ममता सम्झेर जत्रो मान्छे पनि मुसुक्क मुस्काइदिन्छन् । के त हामीलाई माया गरेको हो त ? भन्दा नेताको आशाको व्यारोमीटर सर्लक्कै उकालो चढेको यो फुटेको बल्ड्याङ्ग्राको बाध्यता बनेर आइदिन्छ । तर यी संस्कृतिको आकार खिइएको पक्कै हो तर ताली संस्कृतिको बेग्लै शान जमेको छ । जुवाको झिँगे दाउदेखि राष्ट्रपतिको किरियासभा (शपथग्रहण) मा समेत यसको चुरिफुरी औधी हेर्नलायक हुन्छ । तुलसीको मोठमा डङ्रङ्ग हुँदा पनि ताली पड्किएको आवाजले आँखा उघ्रिएको प्रसङ्गले यसको महत्वलाई कम आक्नु मूर्खता मात्र होइन विवशता पनि हो ।

तालीको धज्जी उडाएर मजाक गर्दैमा अब तालीको बिदाइ हुने कुरा सोच्नु पश्चिमबाट सूर्य उदाएको सपना देख्नुजत्तिकै असम्भव होला । ताली संस्कृतिलाई मुन्ट्याउने हतारमा कोही हुनुहुन्छ भने त्यो तपाईंंको दिवास्वप्ना मात्र हुनेछ । बरु तालीको बन्ध्याकरणमा पुग्नुभन्दा जनसंख्या घटाउनुमा बुद्धिबाकस खोलियो भने एक्लो भएर वा जमात, हुल, बगाल फुटेर योमाथि राज गर्नु लिँडेबुद्धिमा बरु चमक थपिएला कि ! तालीको वर्गीकरणमा पुग्दा यो छोराहरू भिन्न बसेका बाबुआमाको हालत हुन सक्ला । फेरि जस्तोसुकै विषयवस्तुलाई वर्गीकरण गर्न खोज्दा अप्ठेरोमा झुण्डिन के बेर ? धार्मिक बगाल, बौद्धिक हुल, मुन्द्रेहरूको वरियात कुलको दिवालीमा समेत बाइबाइ पाउने वर्गीकरणको खाता खोल्दा बस्तीको पर्खाल पनि नेप्टिन के बेर लाग्ला र ।

तपाईं पचाउनु हुन्छ भने वर्गीकरणको झिँजो यसरी बिसाउँदा पो जाती हुन्थ्यो कि ? स्वाभाविक ताली, अस्वाभाविक ताली, यान्त्रिक ताली, भागशान्ति ताली, रस नास्ती ताली आदि आदि । भित्री चित्तको घैंटो पोखिनु स्वाभाविक तालीको सिन्दूर घस्दा केही बोक्रिँदैन । समयको भेलमा बल्ड्याङ्ग्रा टोढ्क्याउँदै दिने ताली अस्वाभाविकको बुईं चढेर आएको भन्दा मेरो शत्रुको पनि टुपी हल्लिँदैन । पूर्व नियोजित जाँतोमा कृत्रिमताको सातु पिँध्नु यान्त्रिक ताली भन्दै पन्छिऔं टनटन नै खतम । मेरोमा बजाइहाल्यो के गरौं त ? पैंचो के अब बज्दछ भागशान्ति ताली ।

नेपालका नेतादेखि तीनका मलामीसम्मलाई कुन ताली दिऊँ तपाईंंको खोपडीको जाँतेपीङ घुम्यो होला । वृद्धभत्ताको समेत कमिसन हसुर्ने हाम्रा टाठाबाठा डेटएक्सपायर नेता/नेतृलाई एक हातले पैताला ढोकेर ताली बिसाउनु गज्जब हुन्थ्यो कि ? मेरा चिप्ल्याइ जीवनमा गरुङ्गा गरुङ्गा छन् । संविधानसभाको दोस्रो निर्वाचनमा एक नेतालाई विकासक्षेत्रको पूरै सिटम सिफारिस भयो रे । कुरा सुन्दा अचम्म मात्र हैन कुखुराको भालेले मानेको उदेकभन्दा माथि नै पर्ला ।

म जिरीख्याम्चेको भुत्ते गिदी सर्लक्कै उम्लियो । कस्ता लबस्तराहरूको मुलुक बन्यो यो । अरू दुईखुट्टे नै नभएको जस्तो । कृष्णजीलाई सारा १६ हजार गोपिनीले पिछा गरेझैं एक बुख्याँचो कुर्लियो । तिमी जहिल्यै किन असफलताको पगरी गुथ्छौ भन्ने भेउ बल्लबल्ल भेट्टाएँ । राजनीतिको खेती गर्नेले भूतकालपट्टि फर्कनै हुन्न । भविष्यत् काल पढ्ने हो क्या उल्लू ? उनी मपट्टि त बेसरी पो खनिए । मैले जीहजुरीको शब्दमाला तुन्दै भनेँ त्यसो भए व्याकरणबाट नै हुत्याइ दिउँ त भूतकाललाई ? उनी फेरि तातो तेलमा मेथी मुठ्याउँदाको हालतमा ओर्लिए । लाटा, मास्टरी पेशामा धनन्जय बिसाउने इरादा भए भूतकाल पढाउ, नभए भविष्यलाई स्वागत गर । विगतको पुच्छर नाप्नेहरू कोही उचाइमा पुगेका छन् ? उनले त्यसघडीलाई तारानाथको वक्ताहरूको कुनोको स्वाद चखाए । उल्लू, बदमास, एकलकाटे, तोरीलाहुरे गद्दु, पाजी सम्झना भएको यति मात्र हो । अरू सम्झन सकेको भए टपरी नै भरिन्थ्यो होला । तर भुत्ते दिमागले बोहोतो भर्नेसम्मको गाली पाएँ । त्यो दिन मिलाएर ताली नठोकेको भए अझै हालत कासी पुग्थ्यो । तालीले नै परिस्थिति र झमेलालाई सुनौलीबाट फर्काइदियो ।

कुरा कोट्याउँदै जाँदा तालीको सन्दर्भको अर्को बेलिविस्तारले तपाईं छक्क मात्र हैन चकित नै पर्नुहुन्छ । म कुनै समय आफूले भोट हालेको नेतासँग दक्षमाथि महादेव पक्ष खनिएझैं खनिएको थिएँ । म रहेको गा.वि.स. को सचिवको नेता पनि उही थियो ।

झण्डै १० वर्षदेखि ५÷७ ओटा पिण्ड खाएका व्यक्तिको नामबाट वृद्धभत्ता आफैंले सही गर्दै बजाएको पत्ता पाएँ । एक दिन सचिव महोदयलाई सुधार्ने कोशीश गर्दा त बत्तिसी नै पो झन्डै उडेन । अब पर्खी भन्दै सचिवकै माहिलाबाबुको सुपुत्रलाई साँघु बनाएँ । हाम्रा नेता थिए ‘बुर्लुक्कदत्त’ । एउटै पार्टी भए पनि सचिवको महिलाबाबुको छोरासँग अंशबण्डाको अलिकति खिचलो थियो । नभए किन मौका मिल्थ्यो र । उनले मसँग जाँदा भन्न चाहिँ बुझेरै भनेका थिए । आज तपाईंं उसैलाई ताली ठोकेर फर्कनु हुन्छ । मैले दृढोक्ति पोखेँ । आज म वारको पार गर्दछु । नेतासँग कुरोकन्योको बिटो फुक्यो । भ्रष्ट चरित्रलाई ढाडस दिनुहुन्छ भने म छैन । उनले भएभरको जुक्तिबुद्धिको आविष्कार गरे । म लच्चिकएको नदेखेपछि भने उसले कहिलेदेखि त्यो मदमासी गर्न थाल्यो थाहा पाउनुभयो ? मैले अबचाहिँ मियोमा आए भन्ठान्दै ५ वर्षदेखि बिन्ती बिसाएँ । तपाईंंले र अरूले थाहा पाएको एकै समयमा हो कि फरक–फरक समय हो । मैले थाहा पाएको ३ वर्षपछि अरूले भेउ पाए हजुर ।

त्यसो भए तीन वर्षको वृद्धभत्ता तपाईंंले पनि तिर्नुपर्दछ । भ्रष्टाचार गरेको कुरा तीन वर्षसम्म किन गुपचुप । सञ्जनले त भेउ पाएको दिनबाट विरोधयात्रा तय गर्दछ । उल्टो पो आइलागे ममाथि । अब मैले पो उम्कनुपर्ने भयो, हत्तपत्त ताली ठोक्न खोज्दा साथीको तिघ्रामा पो ठटाउन पुगेछु । उनी फेरि जङ्गिए, हेर्नुहोस् तपाईंं नेता हुन खोज्नु भएको रहेछ मैले बुझेँ । मैले कसरी भनी प्रश्न गर्दा जो एक हातले ताली ठोक्छ त्यो नेता हुने लक्षण हो । संसदमा देखेर तपाईंंले त्यसो गर्नुभएको हो । सभासदले एक हातले ताली ठोकेको देखेर तपाईंंमा पनि त्यही रोगले सताएको होला । हेर्नुहोस् हामी कार्यकर्तालाई नेता हुन दिँदैनौं । नेता हुने लक्षण ताली ठोकाइबाट चिनिहालिन्छ । एक हातले ताली जसले बजाउँछ उसको उपचारको खोजी भइहाल्छ । मसँगै गएका साथीले गफको सिलसिलामा उनै नेताको तिघ्रामा के ठटाएका थिए । नेता महोदय उनीसँगै फेरि कुर्लिए ।

अस्ति मात्रै म दुई हातले ताली बजाउन थाल्छु ‘एम्बेसीमा’ छोराको एम.बी.बी.एस.को चाँजो मिलाइदिनुस् भनेको बिर्सनु भयो ? उनी साथीसँग कड्किए पछि हामी दुवै हातले एकैचोटि ताली बजाउन पुगेपछि बल्ल रातो मुख लगाउँदै नेता महोदयको द्वारबाट फुत्किन पाइयो । त्यस दिनबाट युवराज नयाँघरेले किन एक हातको ताली लेखे बल्ल पो गोबरगणेश बुद्धिमा १० रेक्टरस्केलको भूकम्पीय धक्का घुस्यो । नेताको घोडेलात हजम गरेपछि तालीको महत्ता बल्ल पो बोध हुन थाल्यो । भूतकाललाई बिर्सिँदा मास्टरी पेशा नै गायब । बरु तालीचाहिँ मिलाएर बजाउनु प¥यो भन्दै बिहान बिहान ‘ॐ नमो भगवते बासुदेवाय’ को वैदिक मन्त्रोचारणपश्चात ताली ठोक्ने योगासन आरम्भ भयो । यसपालिको सोह्र श्राद्धमा ससुराको नजरमा म अब्वल ज्वाइँमा दरिएँ । बूढा श्राद्धको आसनमा जमेको बेला झिनो अपनावायुको कसरतमा पनि ताली ठोकेको थिएँ मैले । सासूबज्यै पनि त्यो दिनबाट मसँग औधी रिझिन थाल्नु भयो । घोप्टिएर धुपौरोमा आगो खन्याउन लाग्दा सासूबज्यैले सानोतिनो बेलुन चर्किएको आवाज सार्वजनिक गर्नु भएपछि एकैचोटि ताली ठोकेको थिएँ । अघिपछि भन्दा चार कोसा बढी मालभोग रिकापीमा सजिएको देख्या साँढुभाइ र साँढुदाजुहरूको नयन फुर्लुक्क तर्केको थियो ।

हुन त निर्णय दिन नसक्नु नालायकीपनको उदाहरण पक्कै हो । उज्यालो र अँध्यारोको एकमुष्ट अभिव्यक्ति दिन हो । दिनमा आधा उज्यालोको अंश र आधा अँध्यारो हुन्छ नै । बचाइ जीवन र मृत्युबीचको अनिश्चित धरातल हो । बचाइमा पनि जीवन र मृत्यु दुवै तप्काको कुस्ताकुस्ती छिपेकै हुन्छ । पात जीवित छँदा हरियो र संघर्षबाट भाग्दा पहेँलो कालो छिर्बिरे बनी अभिव्यक्तिन्छ । अब घोत्लियौं पातले नेतृत्व गर्न सकुन्जेल हरियो बनिरहने र नसक्दा अरू रङको नेतृत्ववरण गर्नुपर्ने बाध्यकारी प्राकृतिक नियम भएजस्तै उत्तर र प्रश्नमा पनि सायद यही नियम लागू होला । उत्तरले नेतृत्व दिन भ्याउन्जेल प्रश्न ओझेलमा बस्ने र उत्तर कमजोर बन्नासाथ प्रश्नले उत्तरलाई ओझेलमा पार्ने । तर यी कहिल्यै मिल्छ नहुने जो बलियो छ ऊ अग्रणी मोर्चामा र जो दुब्लो निम्छरो छ ऊ रक्षात्मक अवस्थामा विराजमान हुने काइदा यो त्यहाँ लुकेको देखियो त ? आधुनिक मानवका डेढअक्कली तर्कले यो अप्ठ्यारो पारेको होलाजस्तो म लाटोबुङ्गोलाई लागेको छ । किनकि भाषा साधन छउञ्जेल अन्य चीजबस्तुको महत्ता ज्यादा थियो । आज आएर भाषा त कतै साध्य त बनेको छैन ? भाषाका निमित्त अरू भौतिक वस्तु जन्मिएका हुन् । कतै हामी भ्रममा त छैनौं ? हामीले धेरै काम पारदर्शी बनाउँदै जाँदा प्रश्नसँगै उत्तर पनि मिलिहाल्ने वातावरण खोइ त ? युधिष्ठिर भोलि आऊँ भन्नासाथ भीमसेनले घण्ट बजाई महोत्सव गरी युधिष्ठिरलाई तात्तातो उत्तररूपी पुष्टकारी खुवाए । बाह्रको २, हातमा लाग्यो एक भनेजस्तै प्रश्न उठ्ने सम्भावना हेरी उत्तर त्यसैमा ‘अटेच’ गरिदिने वातावरण भए किन फसाद निम्तिन्थ्यो त ? अब त्यसो नगरौं उत्तरलाई धेरै पर्खनु नपर्ने र उत्तरसँगै प्रश्न जन्मिहाल्ने गरी उत्तर नदिऊँ सायद तपाईं हाम्रो लँगौंटीमा कहिल्यै चम्कना ढिम्किँदैन कि ?

सिन्धुपाल्चोक