खै केल्लाई अचम्म भन्ने ? त्यो पानीको माछो पानी बिना एकैछिन पनि बाँच्न सक्दैन । पानीमै बस्ने पानीनै खाने । पानीनै उसको घर । दशकौँ सम्म कुरमा लुकेर ठूलो बनेको माछो अहिले स्वतन्त्र भएर ठूलो नदीमा हेलिदै आफ्नो सेतो सुकिलो ढाड उफ्रेर देखाइरहेको थियो । पानीमाथि सेतो ढाड पिर्लिक पिर्लिक पारेर मत्स्य न्यायको रबाफ दिएर हिँडेकोमा अरु रैथाने माछाहरू उनको जीवनशैली र स्वभाबदेखेर मुखामुख गरिरहन्थे । थरका पण्डितलाई नपढेपनि पण्डित भन्नुपरेझैँ ठूलो माछोलाई सर भन्ने परम्परा बसेको हुनाले उसलाई सबैमाछाले बिनापदका सर भन्ने गर्थे । आफू छिटै सर हुन पाएकोमा त्यो सर माछोमा स्वाभिमान बढ्दै गयो । दुईचारवर्ष पहिले त्यस नदीभरका अन्य माछाहरूलाई नवोधित सरले सोधेछ ‘लौ भनो भाइहो यो नदीमा मभन्दा ठूलो को छ ?’

डरले हो कि करले हो ‘तपाइँ नै ठूलो भैहाल्नु भो नि’ भनिदिएछन् अरु माछाले । अनि त उनको कद कहाँपुग्यो कहाँ !

अरु माछाका ज्यान सानो भए पनि ज्ञान सानो हुन्न भन्ने कुरो त्यो सर माछोलाई कमै थाहा रहेछ । मलाई ठूलो मान्ने भुरा (साना माछा) हरूले मलाई मानिरहेछन् भन्ने घमण्ड लागिरहदो रहेछ उसलाई ।
ठूलो माछो भएकोले उसलाई बल्छी निल्न, धागो काट्न, जाल छेड्न पनि त्यति गाह्रो थिएन । उसले अरुका नियम पनि त्यति मान्दैन थ्यो । खुलेआम त्यो नदीमा कहिले भ्यागगुतो, कहिले गँगटो त कहिले सर (माछो) बनेर सयर गथ्र्यो । बिभिन्न आवाजमा कराउँथ्यो पनि । उभयचर देखिन हो कि समाबेसी बन्न हो ऊ भ्यागुताको आवाजमा बढी कराउने गथ्र्यो । सायद भ्यागुतालाई जाल हान्दैनन् भनेर पनि होला भ्यागुते आवाज र व्यवहार गरेको ।

एकपटक उसले लौ सक्छौ भने मलाई जाल हालेर थुन्न सक । म जस्तै कडा जाल पनि तोडेर निस्कन सक्छु । उसको त्यो घमण्ड त्यति गतिलो थिएन । राम्ररी आफूलाई आत्ममूल्याङ्कन गरेर बोलिएको जस्तो पनि थिएन । अन्य माछाले उसलाई वचनबद्ध गराए । अरु शरीरका साना भए पनि बुद्धिका ठूला थिए । उनीहरूले सर्वसहमतिमा मत्स्यन्यायको तुलो कुनै स्थलचर प्रणीलाई दिएर नदीभित्र बसे । स्थलचरले जाल पानीमा फिजा¥यो । हजारौँ प्वालबाट सबैजसो माछा छिरेर पानीमाथि डुल्न थाले । तर त्यो सधँै गुप्त कुनो कुरमा हुर्केको ठूलो सर जालबाट बाहिर निस्कन सकेन । बलियो शरीरले मात्र जाल तोड्न नसकिने रहेछ भन्ने कुरो बल्ल थाहा भो । जालमै जेलियो जालभित्रैबाट पानीमा हेलियो । उसका आधा साथीहरू उभयचर बनेर पाखामै बसेर तमासा हेरिरहेका थिउ ।

त्यो माछोलाई लागेको थियो मेरो घरनै पानी हो । घरभित्र बसेपछि मलाई कसले छेक्न सक्छ ? परिस्थिति अर्कै बन्यो । आफू बस्ने घर सानासाना प्वालबाट पनि सुलुलु छिरिरहेको छ तर आफूभने छिर्न सकेन । उसले अनौठो मान्यो । घर छिरेको ठाउँबाट घरभित्र बस्ने सर किन छिर्न सकेन ? उसलाई यो पनि बोध भयो । हात्तीभन्दा त पुच्छर पो ठूलो भएर छिर्न नसक्ने रहेछ !

जस्तो भए पनि तोड्न सक्छु भनेर आफैँले हाल्न लगाएको जालभित्र आफैँ जेलिदा अरुले जाल हाले, झेला गरे, मलाई मात्र फन्दामा पारे भनेर एक्लै अलापेको सुन्दा त त्यही जालबाट छिर्न सकेका आफ्ना सहयोगी अन्य भुरा माछा पनि जालझेल भयो भनौँ कि रमाइलो खेल भयो भनौँ भन्दै आफ्नो पक्षको सर घोर्ले माछोलाई जाल बाहिरबाट सुमसुम्याइरहेको देख्दा अरु माछा खित्का छोड्नु स्वभाविकै थियो ! आफैँले रचेको चक्रव्युहमा आफैँ फस्दा अरुलाई दोष दिनु युद्ध नियम भित्र पर्दैन भन्ने कुरा सबैलाई चेतना भया ।

ट्याङ्ला, कीर्तिपुर