छउञ्जेल मात्तियो ।
सकिएपछि आत्तियो ।
हुँदा, शहरमा जग्गा बङ्गला,
नहुँदा सडकछाप हरिकङ्गाल ।

उहिबेला पुर्खाको सम्पत्ति थियो
मिलेको नयाँ दम्पत्ती थियो
कुनै सम्पत्ति बुढीले माइत कुदाएपछि,
बाँकी बुढाले जुवामा उडाएपछि
टुँडिखेल बोलाउँदा मित्र भाग्छ टङ्गाल,
संसारमा यस्ता पनि जन्म्याछन्, कङ्गाल ।

कहिले गर्छ ऋणको आस
कहिले गर्छ अट्टहास
कहिले बन्छ अर्काको दास
कहिले बनायो आफ्नै उठिबास
अर्काको देखेर मुर्मुरिन्छन् भित्रभित्र,
यस्तै छन् हाम्रा हरिकङ्गाल मित्र ।

काम गर्न भनेपछि धुरुक्कै रुने,
जुवातास भनेपछि हुरुक्कै हुने
बुढो भइसक्यो मित्र कहिले हो चेत्ने ?
घरमा आए स्वास्नीले खेद्ने,
ससुराली गए सासूले लखेट्ने ।

काम, कम्पनी र काठमाण्डु देखेको छैन
डल्लीको भट्टीबाहेक अन्त टेकेको छैन
अनुहारभरि टाटैटाटा शरिरभरि निलडाम
दुनियाँको कुटाइ खायो, घैँटोमा लागेन
कति खायो झटारो, कति खायो चड्कन,
जति चड्कन खाए पनि पोल्याछैन धड्कन ।

छोरो भर्नामा छ अस्पताल गङ्गालाल,
बाउ, भट्टिको उधारोले भा’छ कङ्गाल
दुनियाको ऋण खाएर गरे यिनले विचित्र,
जन्मेदेखिनै स्वभाव यस्तै हरिकङ्गाल मित्र ।

चारघरे, नुवाकोट