भूमिका प्रसङ्ग
आज बडो अप्ठेरो छ, कारण होम सुवेदीले होम सुवेदीकै परिचय वा नागबेली उतार्नु पर्ने खण्ड परेको छ । त्यसले गर्दा उसलाई अलिकति सङ्कोच, अलिकति लाज र अलिकति अप्ठेरो पनि परिरहेको छ । तैपनि भैरव पुरस्कार गुठीको अनुरोभ आएपछि आफ्नो नालीबेली आफैँ नउतारी धर पाएन । धर नपाएको कारणले यो होम सुवेदीकै नालीबेली धस्काउन थाल्दै छ । यसमा अन्यथा लिनु आवश्यक छैन ।

परिचय र स्वभाव 
होम सुवेदीको स्वभाव पहिले युवाकलमा पनि नकारात्मक दिशातिरको थिएन । आज पनि उक्त स्वभावमा कुनै नयाँपन फेरिएको छैन, सन्तुलित छ, शिष्ट र मर्यादित छ । युवाकालको उत्ताउलो बेलामा समेत उनले कहिल्यै पनि उपध्र्र्याहा हुने अवसर पाएनन्, उत्ताउलिने अवसर पाएनन् इत्रिने र छिल्लिने मौका पाएनन् । यद्यपि यो अवसर युवाहरूले पाउनै पर्छ भन्ने कुरा यस सन्दर्भको आशय होइन । उनले कसैसँग कहिल्यै झगडा गरेनन् र कहिल्यै दुर्वाच्य बोलेनन् । सानैदेखि दुःख पाएका कारणले उनी सानैदेखि खारिने दिशातिर उन्मुख हुन पुगेका छन् । यसैले उनमा सानै समयदेखि अनुशासन र उदारताका गुणहरूको प्रवेश भएका देखिन्छन् । उनमा रहेका उदारताका गुणहरूमध्ये आफ्नो संचय कोषको रकम निकालेर किनिएको बहुमूल्य जग्गा जमीन र आफ्नो अंशको सम्पूर्ण भाग आफ्ना दाजु भाइहरूले ससम्मान भोगचलन र विक्रिवितरण गर्दा कुनै किचलो नगरी निस्पृह भई छोडिदिएकोबाट पनि उनमा रहेको उदारतायुक्त स्वभावको उदाहरण मिल्न सक्छ । कतिपयले लाछीपन भन्न रुचाए पनि परिवारमा कलह वा झगडा गर्नुभन्दा पैतृक अंशलाई नै त्याग गर्नु उनमा रहेको उदारता नै भन्न मिल्ने विषय हो । आफ्ना पसिनाले कमाएको स्वच्छ कमाइमा जीविका गरिरहेका झापाको पुछार भद्रपुरमा जीवनको उत्ताराद्र्धतिर लागेर जीवनलाई खपत गरिरहेका नेपालको तथाकथित बुद्धिजीवी वर्गका बगालमा दरिने एक स्वतन्त्र व्यक्तिका रूपमा उनको परिचय हुन्छ । आफूले आफ्नो यो भन्दा बढी नालीबेली लगाउनु भनेको सुहाउँदिलो पनि कुरा होइन ।

विषय विस्तार
होम सुवेदीले जीवनमा अधययनका लागी ठूलाठूला हन्डर खाएका छन् । कालिम्पोङ, वनारस र काठमाडौँ उनका कार्यक्षेत्र हुन् । दर्शन विषय लिई संस्कृत भाषामा शास्त्रीसम्म पढेपछि संस्कृत विषयलाई छाडेर नेपाली विषयतिर उनी लागेका हुन् । स्वआर्जनको खर्चमा उत्तरमाध्यमासम्म बनारसबाट अध्ययन गरी उच्च अध्ययन नेपालबाट गरेका हुन् । २०२४ साल भाद्रमा पिताजीबाट भा.रु. १० आना बाटाखर्च दिनु बाहेक उनले पढाइका नाममा पैतृक लिएका छैनन्, पाएका छैनन्, खाएका छैनन् । आफ्ना बहुबलले, मेहनत र इमान्दारिताको बलमा उनको र उनका परिवारको जीविका चलेको छ । खानलाउन सुरुबुरु पुगेको छ । छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् । छोरी ज्वाइँसहित अस्टे«लियामा छिन् । छोरालाई इन्जिनियर बनाइसकेका छन् । यसैले आफ्नै बाहुबलले बडो श्रम, मेहनत र इमानदारिताको बलमा उनको र उनको परिवारको जीविका चलेको छ, खान सुरुबरु पुगेको छ । झापामा बसेका कारणले कतै खेतीपाती पनि होला भन्ने सोचाइ नराखे हुन्छ । दाजुभाइले छाडिहाले भने केही पाउने ठाउँसम्म भने छ । पाप गरेका छैनन् । त्यसैले तीर्थबर्त गर्ने उनको सोच छैन । भगवान्माथि आस्था बोके पनि भगवान्लाई साक्षी राखेर पाखण्डीहरूको पाखण्ड पखाल्ने थलोतिर जाने उनको रुचि छैन । संयोगवश त्यस्तो स्थानमा पुगियो भने स्वच्छ मनले तिनको सश्रद्धा मनन गर्नुबाहेक उनी कसैलाई देखाउने धर्म गर्दैनन् ।

होम सुवेदीको साहित्यिक कार्यको पक्को आरम्भ २०३० सालदेखि नै भएको हो । उनको वास्तविक लेखनको आरम्भ निबन्ध विधाबाट भएको हो र त्यसमा पनि हास्यव्यङ्ग्य निबन्धबाटै भएको हो । उनको वास्तविक लेखन हो– ‘ढाडो’ (२०३१) हो जुन स्वर्गीय जीवनकुमार शर्मा उपनाममा प्रकाशित छ । त्यसपछि ‘आरती’, ‘प्रतिनिधि’, ‘रूपरेखा’, ‘आकर्षित’, ‘गोरखापत्र’ आदि पत्रिकाहरूमा उनका रचनाहरू प्रकाशन हुन थालेका हुन् । विशेष गरी हास्यव्यङ्ग्यतिर उनी आकर्षित हुनुको कारण चाहिँ २०३१ सालको आरम्भमा कौवा प्रकाशनले गरेको पहिलो राष्ट्रिय हास्यव्यङ्ग्य साहित्यतिरको आक्रर्षण भनेको १. वासुदेव शर्मा लुइँटेल, २. भैरव अर्याल, ३. रामकुमार पाण्डे, ४. दाताराम शर्मा, ५. बलम अर्थात् बालमुकन्ददेव पाण्डे आदिको निकटा र सम्पर्क हो । यिनमध्ये लामो समयसम्म वासुदेव लुइँटेलको सान्निध्यले उनलाई झर्रोपनमा माया मोह हुन पुगेको हो । उनमा रहेको ठेट नेपाली बोलचाल, खरो बानीवबहोरा, हक्की स्वाभावको विकास पनि ‘भिमसेनपाती’कै कारणकै प्रभाव हो । ‘दस औतार’ कारणका साथ पनि सुवेदीको लामो मित्रता रहेको थियो । हास्यव्यङ्ग्यमा बौद्धिक स्तरीयताको समाविष्टता, तार्किकता र उच्चताको प्रवेश ‘जयभुँडी’का लेखक भैरव अर्यालको प्रेरणालाई उनी मान्दछन् । हास्यको चमत्कारिक प्रयोगको स्रोत बलराम र श्याम गोतामेको प्रभाव हो भन्ने उनको ठनाइ छ । हास्यव्यङ्ग्यमा भावनात्मकताको मिश्रण दाताराम शर्मा, रामकुमार पाण्डे र लीलाध्वज थापाबाट हो भन्ने उनकै ठम्याइ छ । यसै गरी उनका हास्यव्यङ्ग्य रचनाहरूमा हल्काफुल्का छिचरोपन पनि हुने गर्दछ । यसको प्रभाव लीलाध्वज थापा र रामकुमार पाण्डे (दुबैसँग सुवेदीको ५, ६ वर्षसम्म लगातार जस्तो भेटघाट हुने गरेको थियो) माथि जान्छ भन्ने उनको तर्क देखिन्छ । खास गरेर होम सुवेदी नेपालका सुप्रसिद्ध हास्यव्यङ्ग्य साहित्यकारहरूको सान्निध्यबाट प्रभावित एक हास्यव्यङ्ग्यकारको नाम हो । तर दुर्भाग्य वासुदेव शर्मा, दाताराम शर्मा, भैरव अर्याल, श्याम गोतामे, बालमुकुन्ददेव पाण्डे, लीलाध्वज थापा, रामकुमार पाण्डे जस्ता हस्तीहरूको प्रभावबाट जन्मिएको होम हास्यव्यङ्ग्य साहित्यका अर्का दुई महारथीमध्ये केशवराज पिँडाली र श्रीधर खनालका साथ भने सम्पर्क कम भएको बुझिन्छ । केशवराज पिँडालीसँग सामान्य चिनाजानी बाहेक उनको सङ्गत भएको थिएन किनभने पिँडालीमा भैरवको तुलनामा नवप्रतिभाहरूलाई प्रोत्साहन गर्ने, माया गर्ने स्वाभाव उनले कम पाएका थिए । यसैले गोपमा भैरवजीसँग मात्रै उनको घनिष्टता थियो । भैरव अर्यालसँगको निकटता उनले भैरव अर्यालको लेख ‘हास्यव्यङग्य एक : नालीवेली’ (ज्ञानविज्ञानको दिशा पुस्तकमा सङ्कलित) लाई सुवेदीले पटकपटक भैरवजीकै सामु साफी गर्दादेखिको हो । उनले यो लेखलाई भैरव अर्याल सामु कुर्सीमै बसेर गोरखापत्र संस्थानमा ३ पटकसम्म साफी गरेका थिए । त्यसपछि भैरवजीको सान्निध्य भैरवजीले गोकर्णमा सदाका लागि जलसमाधि लिनुअघिसम्म रहेको थियो । आज ती भैरव अर्याल स्मृतिमा मात्र छन्– केही भकभकाउने, सेता दौरा सुरुवाल र कालो कोट, कालो जुत्ता, कालो भादगाँउले टोपी लगाउने, चुरोट खाइरहने र गोरखापत्र संस्थानदेखि सहिदगेटसम्म पैदल हिँडेर जोरपाटीको साझा बस चढेर घर जाने भैरव अर्याल आज होम सुवेदीका स्मृतिमा झलझली छन् । तिनैका नाममा स्थापित गुठीले होम सुवेदी अर्थात् मलाई यो पालि पुरस्कृत गरेकामा मेरो स्मृतिभरि अहिले भैरव अर्याल मात्र छन्, गुठीमाथि सुवेदी कृतज्ञ छन् । भैरवजीलाई अल्पायुमै जीवनबाट विसर्जित हुनुपर्ने स्थिति पैदा गर्नेहरूमाथि भैरव जागेको देख्ने इच्छा अधुरै रहेको सुवेदीको सोच छ ।

हास्य व्यङ्ग्यसम्बन्धी सोच 
साहित्यमा हास्य भनेको नौ रसमध्ये एक रस हो । यसका साथ नेपाली साहित्यमा व्यङ्ग्य पनि जोडिएर आउने गरेको छ । वास्तवमा हास्यका साथ व्यङ्ग्य हुनैपर्ने अनिवार्यता छैन । हास्यसँग व्यङ्ग्य नजिकै मात्र छ । अरु केही होइन । हास्यव्यङ्ग्य विधा भन्न थालिएको छ । साहित्यका सन्दर्भमा यो भनाइ गलत हो । व्यङ्ग्य भनेको जुनसुकै विधामा अन्तगर्भित भएर आउन सक्छ । हास्य पनि जुनसुकै विधामा उत्पन्न हुन सक्छ । यी विधा होइनन् । विधा त कथा कविता निबन्धहरू मात्र हुन् । भङ्गिभणिति, उक्तिवैचित्र्यता आदिबाट अभिव्यञ्जित अर्थबाट व्यङ्ग्य जन्मन्छ भने चारित्रिक कमी र कमजोरी, विकृति र विरोधाभासहरूबाट हास्य जन्मन सक्छ । आजभोली यी दुवै निकै नजिकै छन् । यसैले यिनलाई हास्यव्यङ्ग्य भन्न थालिएको छ ।

होम सुवेदीको साहित्यकर्म र व्यङ्ग्यधर्म पनि यही परिधिमा निर्मित छ । उनको हास्यव्यङ्ग्य कथा, कविता, निबन्धमा फिजिएको छ । समाजका विविध विकृति र विसङ्गतिमाथि उनको कलम खरो भएर चलेको छ । उनले २०४० देखि २०५० सालसम्म झापाको ‘युगज्ञान’ साप्ताहिकमा निरन्तर रूपमा हास्यव्यङ्ग्य लेखेको देखिन्छ । हाल भने समयसमयमा मात्र उनी यस पक्षमा कलम चलाउँछन् । आज संसारमै हास्यव्यङ्ग्य लेख्यको रूपमा भन्दा बढी श्रव्य र दृश्य रूपमा फिंजिन पुगेकोले लेखन रूपमा कमी आएको उनको ठम्याइ छ । चिरन्तन, सर्वकालिक तथा स्थायित्वका आधारमा हेर्दा वर्तमान सस्ता हास्य र व्यङ्ग्य सामग्रीहरूको स्थान अल्पकालीन मात्र हो भन्ने भुल्नुहुन्न भन्ने सुवेदीको ठहर निकै उच्च रहेको मान्न सकिन्छ । यसै गरी दीर्घजीवी तथा सर्वकालीन हास्यव्यङ्ग्य अटल भएर अघि बढिरहेको कुरा बिर्सनुहुन्न भन्ने पनि उनको सोच छ । ‘काल विभाजन’ ‘पात्र परिचय’ ‘पाहाको प्रेम प्रसङ्ग’ ‘संयोग’ कथाले प्रष्ट्याएका छन् ।

भद्रपुर, झापा