कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनु परिरहेछ । खानु के छ र उही पनि यो महँगीको चुरोट न हो ? आफ्नो रगत–पसिनाको पच्चीस प्रतिशत आम्दानीलाई डाँडो कटाउनु छ र जीउ बिगार्नु छ । ताडिफ ! तैपनि म खाई नै रहेछु ।

नेपालमा प्रत्येक मालको भाउ छिनमा तोला, छिनमा मासा भइरहन्छ । त्यसदिन सुनेँ, चुरोटको भाउ धरहराको टुप्पोमा चढ्यो । आफू त भइयो पुड्के, हात पनि लामा भएनन् । धरहराको टुप्पोमा पुग्ने त के, हेर्दै पनि पछारिने डर । पेट काटी, गाँस काटी गर्ज टार्दैछु ।

मैले तृप्तिका साथ चुरोट खान पाइनँ । मलाई बिताएको छ, यो खै खै ले पो त ! म देख्तछु नेपालमा मान्छे प्रायः सलाई किन्दैनन् । खै खैमै निर्भर भएर चुरोट खान्छन् । चुरोट सल्काएर म ढोकाबाहिर पुग्न पाउन्नँ, अधिकारीहरूसँग जागिर माग्नेहरूले लित्ति कसेझैँ यिनले मलाई पित्तपानी छदाएर छाड्छन् । ‘खै खै’ आफ्नो चुरोट सल्काउन हात बढाउँदै भनिहाल्छन् । एक मन त लाग्छ भनिदिऊँ दिन्न, के तिम्रो मुखमा आगो झोस्न तिम्रो पुर्खाले मलाई बिर्ता दिएर राखेका हुन् ? तर किन हो, भन्न अलि मुख फुक्तैन । दिन्छु म थपक्क आफ्नो सल्किएको चुरोट ।

भएन के ! नाथेले जोर्दैखेरि नै ठ्वास्स पारेर जोर्छ उसको चुरोटसँग मेरो चुरोटलाई । सके मेरो चुरोटको घाँटी भाँचिएला, सके कम्मर भाँचिएला । नभए पनि भुँडी त फुटालि नै दिन्छ । म हेरिरहेको हुन्छु, सल्काउने क्रियामा ऊ गाला फुलाएर खलाँती चलाइरहेको हुन्छ । अन्तमा चुरोट मेरो हातमा फर्कन्छ, तर नेप्टिएर, चेप्टिएर बेकामको भएर बिलकुल हिजोआजको ख्याउटे वनस्पति नेताजस्तो भएर ।
वनस्पति नेताको उपमा सुन्दा तपाईंंलाई आश्चर्य लाग्ला, स्वाभाविक पनि छ किनकि भाँडिएको राजनीति भएको देशमा नेता दुई थरीका हुन्छन् भन्ने तपाईंंलाई थाहा छैन होला । अब यसको पनि केही खुलस्त दिइहाल्छु । छोटकरीमा भन्छु– चोखा घिउको पछाडि दूध, दही र नौनीको इतिहास भएझैँ चोखा नेताको पनि पछाडि यस्तै इतिहास हुन्छ । घाँसघुसबाट मेसिनद्वारा तत्कालै बनाइने कृत्रिम घिउलाई वनस्पति भनिन्छ । वनस्पति नेतालाई पनि तपाईंं यस्तै सम्झनोस् ।

अँ त चुरोट मेरो हातमा आउँछ, बिलकुल हिजोआजको ख्याउटे बनस्पति नेताजस्तो भएर । मलाई झोक त चल्छ, त्यस ठुटोलाई त्यहीँ मिल्काइदिऊँ । तर देख्छु– चुरोट प्रायः सिङ्गै नै छ, फेरि मेरो धित पनि कहाँ मरेको हुन्छ र ! यो लिनुदिनुमा मेरो त्यो चुरोट नमरे पनि अधमरो चाहिँ त भएकै हुन्छ ! यो ध्यान राख्नुहोला । मेरो चुरोट एउटा मै जस्तो गरिब जातको हुन्छ । गरिब चुरोट होस् या मान्छे, झोसाइमा परेपछि झरिलो रहन सक्तो रहेनछ । मैले त्यस मधौरु चुरोटलाई जगाउन मृतसञ्जीवनी मन्त्र फुकेझैँ एक जोरदार फुक फोक्सोदेखि लुँड्याएर झिकी फुक्नुपर्छ । खरानी–सरानी झर्छन् र अनि चुरोटलाई दुई ओठले च्यापी बडो तल्लीन भैकन गर्न थाल्नु पर्नेछ– “सुइँ फु, सुइँ फु ।” तपाईंं त्यहाँ हुनुभए देख्नु हुनेछ मेरो यस क्रियामा मेरा दुई ओठका अन्तरबाट राल चुहिरहेछ, नाकबाट पानी बगिरहेछ र चिम्लिएका आँखाका कोस–कोस चिसा छन् । बिस्तार बिस्तार मेरो चुरोटमा प्राणको सञ्चार हुँदै आउँछ । धुवाँ बुङ्ग भएपछि यसो हेर्छु चुरोट त कानु भएको । यत्तिकैमा पछाडिबाट कसैले साइनु लगाएर डाक्छ “ए दाइ !” यसो हेर्छु अपरिचित व्यक्ति हात तन्काउँदै भन्छ ‘खै खै’, अनि त मेरो ब्रह्माण्ड खजमजिन्छ । तपाईंं नपरेको मान्छे भन्नुहोला” यस्तालाई जक्ख्याउनु पर्छ ।” भो बाबा ! म चेतबाबा काशी भइसकेको छु यस्तासँग । सुन्नुहुन्छ ?

त्यस दिन ठिक यस्तै काण्डमा परी असिना र पसिना गरेर मधौरु चुरोटलाई के जगाइसकेको मात्र थिएँ, पछाडिबाट एउटाले भन्यो ‘खै खै’ मैले भनिहालेँ “सरम छाडा ! मागी–मागी छोराको बिहे । चुरोट खान सक्छौ त सलाई किन्न सक्तैनौ ?” मैले सारासँगको रिस त्यसैमाथि झारेँ । मान्छे त्यो पनि चर्को रहेछ । हान्ने राँगाको आँखाले मलाई हेर्न थाल्यो । म प्रायः रन्कँदै रन्कन्न रन्केपछि थन्कन पनि थन्कन्न । मैले यो देखी झन् आगो हुँदै भनेँ– “के हेर्छौ निलुँला झैँ ? गहतको झोलमा जात फाल्ने जातका हौ तिमी ।”

यसपछि झिमिक्क भएथ्यो, हेर्छु त चित्, म त त्यहीँ भुइँमा । बाटो हिँड्नेले छेक–थुन गरेर पो, नत्र त त्यस दिन मेरो मोक्षप्राप्ति हुने थियो । बाफ रे बाफ ! त्यसपछि पनि सात दिनसम्म मेरो कम्मर दुखिरह्यो । त्यसैले अब म ‘खै खै’ लाई उपेक्षा गर्न सक्तिनँ । के गरूँ ? निर्धो मान्छे ! ‘खै खै’ सुन्यो कि झटपट म दिइहाल्छु । झोक नचल्ने त कहाँ हो र !

अँ, अनि मेरो ब्रह्माण्ड खजमजियो । हुर्र पारेर फ्याँकिदिएँ ठुटोलाई सात हातपछाडि र फर्कंदै नफर्की बढेँ अगाडि सरासर । पैसा परेको माल यसरी अकार्थमा फ्याँक्नु पर्दा मलाई पनि थक्क–थक्क लागेर आउँछ । मन भन्छ– “टिप् फर्केर र तान तान दुई–चार सर्को ।” सडकमा यताउति पल्याकपुलुक मान्छे हुर्छु । मुन्टो बिस्तार बिस्तार फर्काउँदै कर्के आँखा यसो चुरोट फ्याँकेतिर लाउँछु तर देख्छु, त्यही मान्छे ठुटो टिपेर चुरोट सल्काइ रहेछ । अनि म झन् छिटो छिटो पाइला चाल्छु ।

यस दृश्यले हो वा धित नमार्नाले हो मेरो चुरोट खाने तलतल झनझन बढ्दै आउँछ । झिक्छु एउटा चुरोट खल्तीबाट, क्वार्र सलाई कोर्छु र थाल्छु सल्काउन । देख्छु, मेरो दायाँ बायाँ अरू दुइै टाउका पनि चुरोट लिएर सल्काउने प्रतीक्षामा छन् । लाग्छ मलाई दुबै टाउकालाई समातेर त्यहीँ ठ्याङ्ग पारिदिउँ तर सम्झना हुन्छ फेरि त्यस दिनको त्यो कम्मरतोड जात्रा । अनि झोसिदिन्छु दुबैको चुरोटमा सलाई र लाग्छु म आफ्नो बाटो ।

अब चुरोटलाई मुठीभित्र लुकाएर तान्दै म बडो सतर्कताका साथ अगाडि बढ्न थालेको हुन्छु तर जति गरी मुख टम्म पार्दा पनि धुवाँ चाहिँ त नाकको फोहराबाट निस्कि हाल्दो रहेछ बाहिर । यत्तिकैमा चुरोट खार्ई आउने जानेका प्रतीक्षामा कुन बेलादेखि पेटीमा कुरेर बसेको मान्छे चिच्याएर उठेछ– “ए दाइ ! पख्नोस् ए दाइ ! पख्नोस् ।” तपाईंं भए सायद उपेक्षा गरेर हिँड्न पनि सक्नु हुँदो हो तर थाहा पाइहाल्नु भएको छ म त मार खाइसकेको मान्छे । टक्क अडिन्छु म त्यहीँ, मानौँ दगुरिरहेको कारमा एक्सिडेन्ट हुनलाग्दा एक्कासि घ्याच्च फुटब्रेक लागेझैँ । ऊ आइपुग्छ, आदान प्रदान चल्छ अनि फेरि बढ्छु म अगाडि झन् सतर्क हुँदै । देख्छु – पर सडकमा एकजना मान्छे नसल्केको चुरोट हातमा लिएर मलाई लक्ष्य गरी पर्खिरहेछ । पहिले त मलाई केही सुझ्दैन । अनि लगत्तै गिदीमा एउटा जुक्तिको स्फुरण हुन्छ । तत्कालै अनि म गर्दछु ‘एवाउट टर्न’ र ‘लेफराइट मार्च’ विपरीत दिशातिर । त्यसलाई यसरी जिल्ल्याउन सकेकोमा मलाई खुसी लाग्छ तर लाग्छ पछाडिबाट त्यसले मलाई भनिरहेछ– “पर्खी–पर्खी” सायद ऊ मलाई भेट्टाउन आइ पनि रहेछ । इच्छा भए तापनि पछाडि फर्केर हेर्दिनँ । छिटो–छिटो कदम चाल्दै म सोच्न थाल्छु– “व्यर्थै फर्कें, सल्काउनै दिएर आफ्नो गन्तव्य दिशातिर गएको भए के हुन्थ्यो ? मेरो बेइमानीमा त्यो अवश्य पनि झोक्कियो, अब भेट्टायो भने ? उफ् ! फेरि उठापटकी ।” म अब दगुर्न थादल्छु । दम फुलेर आउँछ । केही छिनमै असिनापसिना हुन्छु, केही लाग्दैन । म फेरि सोच्छु । “भो बाबा बरु माफि मागुँला दगुर्न त सक्दिनँ अब ।” टक्क अडिन्छु । धड्किँदो हृदयले डराई–डराई पछाडि फर्केर हेर्छु । मेरो भ्रम थियो, ऊ आएकै थिएन । अब मलाई झन् बढ्ता थकाइ लागेको जस्तो हुन्छ । चुरोट तान्न खोज्छु, दम फुलेको खोकी लागेर आउँछ । थाकेको शरीरलाई अनि सडकछेउको विजुलीको लठ्ठामा टेकाउँछु । मनमा बडो दिग्दारी उठ्दछ । म प्रायः विचार शून्य नै बनेर कतिबेर यस्तो बस्दो हुँ यदि कसैले यसै बेला ‘खै खै’ नभन्दो हो त । मैले त्यस मान्छेको अनुहारसम्म पनि नहेरी ठुटो भएको हात बढाइदिएँ उसतिर । मलाई थाहा हुन्छ ऊ आफ्नो चुरोट सल्काउँछ । अनि फर्काउन पनि खोज्छ ठुटोलाई । तर मलाई किन हो कुन्नि त्यो ठुटो फ्याँकिदिन उसलाई इसारा गर्दछु । ऊ जिल्ल नै परिरहन्छ । म पनि झर्केर भन्छु– “हरे ! हरे जाऊ न अब”, ऊ त्यस ठुटोलाई त्यहीँ जुत्ताले किच्छ र अगाडि बढ्छ । अनि म मुन्टो उठाएर हेर्छु, ऊ मलाई फर्की–फर्की हेर्दैछ ।

म सधैं दुई पैसे चुरोट खाने मान्छे, असल चुरोटमा भ्रष्टाचार पनि हुन्छ भन्ने त त्यस दिन पो थाहा पाएँ । त्यस दिन मेरो एक जना खाइहाल्दा मित्रले मलाई एउटा असल चुरोट दिएका थिए । खुब चल्तीका भलाद्मीहरू भेटिने सडकमा पुगेर त्यसलाई सल्काएँ । गम्म बास्ना आयो । मैले सोचेँ– “मेरो दायाँबायाँ हिँडेका भलाद्मीहरूको नाममा पनि सायद त्यो बास्ना आउने धुवाँ घुस्दो हो । मलाई आफ्नो व्यक्तित्व त्यस बेला अलि उठेको जस्तो लाग्यो । म झ्याल–झ्यालमा आँखा तान्दै हिँड्न थालेँ । यत्तिकैमा ढ्याम्म म कसैसँग जुध्न पुगेँ । “सरी”– मैले भनँे तर मलाई लाज लागिरहेको थियो र डर पनि । साँच्चै अब त्यसले मलाई हपार्छ । तर मेरो आशाको विपरीत ऊ भन्छ – ‘खै खै’ । मैले चुपचाप आफ्नो त्यो असल चुरोटको ठुटो दिएँ । दिनुभन्दा अघि मैले हेरिराखेको थिएँ –मेरो ठुटो अन्दाजी तिन अङ्गुल मात्र बाँकी थियो । म त त्यसै जिल्ल भै दङ्ग भएँ । यसरी असल चुरोट सल्काउनेले अनजानमै तान्दो रहेछ भन्ने पहिले मलाई कहाँ थाहा थियो र ? एक मन त लाग्यो अब यो नखाऊँ । तर त्यो असल चुरोट थियो खाइदिएँ मैले त । सात सालअगाडि भए जातै गएको ।

म एउटा साधारण मान्छे । दिनको सात पटक मैले हाट–बजार गर्न हिँड्नु पर्छ । तर यी ‘खै खै’ का सन्तानले मलाई एक मिनेटको बाटोमा बिस मिनेट लगाइ दिन्छन् –मानूँ म कुनै धुपौरे हुँ, मानूँ म कुनै नेपाली आहानको काशी जाने कुकुर हुँ, जसले कदम–कदममा जल चढाउनु अनिवार्य छ । यसरी समयको दुरूपयोग त कसरी सहने ?

तपार्इंं भन्नुहोला— “सडकमा नखा” । सम्भव छ यो ? फेरि अम्मल भनेको वस्तु यस्तो हुन्छ कि जहाँ, जुन ठाउँमा निषेध हुन्छ त्यहीँ नै यसको तलतल बढ्ता लाग्छ । फेरि तपार्इंंलाई थाहा छँदैछ, निषेध–निषेध नमान्ने प्रजातन्त्रवादीमध्येको म पनि एक हुँ । देख्नु भएको छैन– देशमा प्रजातन्त्र आउनासाथ हनुमानढोकामा इन्द्रजात्रामा राजाले गद्दी बस्ने चौतारोमा निषेध पन्छाई राजाधिकार मान्ने हामीहरू टेक्न पुगेका ?

पहिले त सडकमा मात्र किन यी ‘खै खै’ का जात जहाँ पनि हुन्छन् । सिनेमा, होटल र यस्तै अरू सार्वजनिक ठाउँमा त यी झन् धावा नै पो बोल्दछन् । यिनलाई पहिले नै चिनी वा जानिराख्न यिनको कोही त्यस्तो श्रेणी वा जात पनि त हुँदैन । राणाशाहीका अन्तिम दिनका जासुस झैँ यी प्रत्येक जात, प्रत्येक श्रेणीमा पाइन्छन् । बगलको भलादमीलाई तपार्इंंले एउटा भद्र व्यक्ति सम्झि राख्नु भएको हुन्छ तर त्यही पनि भइदिन्छ ‘खै खै’ को जात । चुरोट सल्काई फुर्र धुवाँ छाड्न पाएको हुन्न महादेवका जटाबाट प्रेत पैदा भइ हाल्छन् यी त्यहीँ ।

यसैले अब त म भन्छु— धिक्कारै होस् यी ‘खै खै’ हरूलाई । यिनले आत्मनिर्भर बन्न किन नजानेका ? सम्झाऊँ, शिक्षा दिऊँ, उल्टै झन् चित् भइन्छ, गुरु मान्ने त कता–कता ! बाजेले मागी–मागी नै ‘गोरखा’ सल्काए, बाबुले यही चालाले ‘माइ डार्लिङ्ग’ उडाए । प्रजातन्त्र आइसक्यो, त्यही पनि यी मागी–मागी नै ‘मोटर’ तानिरहेछन् र ‘कैंची’ चलाइ रहेछन् ।

म कुन औधीको चुरोट खाने मान्छे– यो पनि म तपार्इंलाई भनिदिइ हालुँ । त्यस दिन सरकारले सगर्व रेडियो फुक्यो– “मुद्रा विनिमय दर नियन्त्रणका लागि चुरोटको आयातमा पचास प्रतिशत कमी गरिन्छ ।” दुर्भाग्यको कुरो, बिजुलीमा भोल्टेज त्यसै बेला कम भएछ । चुरोटका व्यापारीहरूले सुनेछन् । ‘पैठारी भइ सकेका सर्वजातका चुरोट भोलि सुन हुन्छन् ।’ अनि त के थियो, मैले बजारमा चुरोटको दर्शन पाउन त नास्तिकले भगवान्को दर्शन पाउनु जत्तिकै गाह्रो भयो । म त फत्र्याक–फत्र्याक त्यो दिन चुरोट खान नपाएर । अनेक स्तुति, गान, पुजा, पाठ, व्रत, उपासना आदिको प्रभावबाट चुरोट भवानीले बजारमा फेरि प्रकट भएर दर्शन दिनुभयो, तर डेढा भाउ धारण गरेर । मैले सोचेँ, जे हुन्छ असलैका निम्ति हुन्छ । होस् न बिसको तिस, केही धन्दा छैन । मुद्रा विनिमय दर नियन्त्रणमा आएपछि अरू थोक त सस्तो भैहाल्छ नि । यस खण्डमा चुरोटले जति मोटो भाउ धारण गरे पनि जाबो चुरोट खान गाहारो पर्ने छैन । यस्तै आशाले म रोज सराफी कहाँ पुगेर मुद्राको विनिमय दर सोध्न थालेँ । मैले त्यो सराफी यति इमानदार पाएँ कि चार महिनासम्म लगातार उसले भाउ एकदेखि दुई गरेन । म ठान्दैै थिएँ– मुद्रा विनिमय दर नियन्त्रित भयो ।

त्यस दिन बजारमा फेरि चुरोट तिसको बिस भएको देखेँ । सुने, पैठारीको कटौती नीति फेरि रहेन । मलाई सारै अफसोस लाग्यो । पाँच माना भाउमा चामल खाउँला भनेको अभागीलाई के हुन्थ्यो ?

अब फेरि उही पुरानै ढर्रामा म चल्न थालेको छु । माग्ने ‘खै खै’ पनि छदैछन् । दिनहुँ राती घरमा हिसाब गर्छु समयको दुरूपयोग कति भएछ ? त्यस दिन झ्वाट्ट मनमा आयो म साइकलमा हिँड्ने किन नगरूँ ? अनि डेढ सयमा एउटा सेकेन्ड ह्यान्ड साइकल पनि किन्दछु । नहडबडाउनुहोस् यो कथा पनि म कुनै दिन भन्ने नै छु । अँ, त त्यस दिन म एउटा चुरोट च्यापेर त्यस दिन आवश्यकता नभएको त्यस साइकलमा चुइँ–चुइँ गर्दै तोडले गइरहेको हुन्छु । यत्तिकैमा देख्छु, चिठी तार आदिको खात लिएको मेरो परिचित पोस्टम्यान १५ हात टाढैदेखि मलाई अड्ने इसारा गर्दै आइ रहेछ । मेरो मनमा झ्वास्स हुन्छ, रेन्जर्स चिठ्टाको पहिलो इनाम । तार आएको छ । खुल्ने दिन पनि त अस्ति थियो । पक्का पनि हो । साधारण चिठी भए साइकलबाट ओर्लने थिइनँ । ऊ आइपुग्छ । म पनि साइकलबाट उत्रेको हुन्छु । ‘के हँ ? तार !’ म अत्तालिँदै सोध्छु ।

ऊ भन्छ– ‘हैन हजुर । ‘खै खै’, बक्स्योस् ।’ देख्छु उसको हातमा निभेको ठुटो चुरोट छ । अनि मेरो मुखबाट एक्कासि निस्कन्छ ‘धत्तेरिका !’

‘खै–खै’ हास्यव्यङ्ग्य सङ्ग्रहको शीर्ष निबन्ध