लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे । त्यसो नभएर लाटो र सोझोको अलगअलग अर्थ लाग्छ भने म त्यही अलगअलग अर्थ लाग्ने मान्छे । प्रस्टसँग भन्नु पर्दा म लाटो पनि सोझो पनि । त्यसैले सोझो कुरा जान्दिन, बाङ्गो कुरा मान्दिन । अनि यसैमा महाभारत । न कसैको साथ लिएर हुन्छ, न कसैलाई हात दिएर हुन्छ । अनि परेन फसाद ! सधैं लाटाको लाटै सोझाको सोझै । यस्तो प्रसङ्ग कसरी आयो भनेर तपाईं अलमलिनु होला । अर्थ न बर्थको कुरो एकैचोटि कोट्ट्याएपछि नअलमलिनु पनि किन ? स्वाभाविकै हो, जो पनि अलमलिन्छ ।

कुरो के भने नि टाकटुक यसोउसो बोल्दाबोल्दै पनि मलाई धेरैले ‘यो मान्छे लाटो छ’ भनेको आफ्नै कानले सुनेको छु । त्यस्तै कसैले सोझो त कसैले हुती नभएको भत्र पनि भ्याएका छन् । तर मैले यसलाई अन्यथा लिएको छैन । अगाडि आइपुगेको दुनु आफूतिर सोझ्याउन नसकेपछि यस्ता उपाधि कति पाइन्छन् कति । सुनेर सुनिने भए म यतिखेर धौलागिरीभन्दा मोटो भइसक्थेँ, तर सुनेको जति उडाइदिने भएकाले आजका मितिसम्म जस्ताको तस्तै छु । लुखुरलुखुर हिँडिरहेकै छु । आफ्नै पेट चाउरिनेबाहेक लाटो र सोझो हुनुले अरुको बिमाख त्यत्तिविधि हुँदोे रहेनछ । त्यसो भनेर तपाईं पनि लाटो वा सोझो हुने कसरतमा लाग्नु होला । तर झुक्किएर पनि त्यस्तो नगर्नुस् । यदि त्यस्तो कसरतमा लाग्न थाल्नु भयो भने परचक्रीले केही नगरे पनि घरचक्रीले तपाईंलाई बसिखान दिँदैनन् । अनि परेन फसाद ! चौबीस घन्टाको दिनरातमा छब्बीस घन्टाको चिन्ता । हुन पनि हो नि चलनचल्ती अनुसार चलेर धमिलोमा धकेलिन नसकेपछि यस्तो चिन्ताको ठेकदार अरु कोही खोज्नै पर्दैन । बिनाप्रतिस्पर्धा सधैं आफ्नै हातमा डाडुपन्यू ।

मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’ माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न पर्नेबित्तिकै म अलमलिन्छु । ‘भारत’ माने ‘भारत’ किन भएन ? ‘नेपाल’ माने ‘नेपाल’ हुने ‘इन्डिया’ माने ‘भारत’ कसरी हुने ? ‘इन्डिया’ माने त ‘इन्डिया’ पो हुनु पर्ने होइन र ? अनि दिमाग चक्कराउन थाल्छ । अझै ‘अस्ट्रेलिया’ माने ‘अस्ट्रेलिया’, ‘मोरक्को’ माने ‘मोरक्को’, ‘पोल्यान्ड’ माने पोल्यान्ड, ‘हङ्गेरी’ माने ‘हङ्गेरी’, ‘स्वीटजरल्यान्ड’ माने ‘स्वीटजरल्यान्ड’, ‘थाइल्यान्ड’ माने ‘थाइल्यान्ड’ भनेर पढ्दापढ्दै बीचमा ‘इङ्गल्यान्ड’ माने ‘बेलायत’ आउनेबित्तिकै यो के हो ! भनेर म तीन छक पर्न थाल्छु । यसै त लाटो र सोझोको उपाधि आफ्नै मात्र पेवा भइराखेका बेलामा यस्ता कुरा अरुलाई सोध्ने आँट पनि कसरी गर्नू ? अनि सधैभरि लाटो हुनुको विकल्प रहेन, न त सोझो हुनुकै ।

म पनि उहिलेको थर्ड डिभिजने एसएलसीवाला । आफूलाई कम सम्झने कुरै भएन । बुर्लुकबुर्लुक भँगेरा उफ्रेजस्तो उफ्रेर हिँड्थेँ । जागिर खाने धोको आफूभन्दा पनि जेठो थियो । पास गरेको एसएलसी मात्रै । त्यो पनि पटके । तैपनि भुइँमा खुट्टा थिएन । शहरका साइनबोर्डहरू यसो नियाल्दै हिँड्थेँ । ठाउँठाउँमा देख्थेँ– ‘नेशनल ट्रेडिङ लिमिटेडको अधिकृत बिक्रेता’, ‘कृषि सामग्री संस्थानको अधिकृत बिक्रेता’, ‘बाँसबारी छालाजुत्ता कारखानाको अधिकृत बिक्रेता’ वा यस्तै यस्तै अधिकृत बिक्रेता । सहायक बिक्रेता कहीँ भेटिन्नथ्यो । संस्थानहरूका यत्रोविधि अधिकृतै अधिकृत बिक्रिमा हुँदो आफू भने एसएलसी मात्रै । सहायकस्तरको योग्यता । मुखबाट र्याल चुहिन्थ्यो । अनि लाग्थ्यो– ‘धत्तेरिका, यतिखेर बी.ए. मात्र पास हुन सकेको भए पनि यत्राविधि संस्थानका अधिकृत रोजीरोजी किन्न पाइन्थ्यो । कति पो जान्थ्यो होला र ? अधिकृतमा जागिर खान आउने मान्छे नभएरै यसरी बिक्रीमा राखिएको त होला नि भन्ने मेरो एकतर्फी ठोकुवा थियो । कुरो सम्झिँदा अहिले पनि हाँसो उठ्छ । अनि, आफैंले आफैंलाई भन्छु– ‘धत् लाटा, तँ त सानोमा पनि उस्तै रहिछस् ।’

यी त केटाकेटीका कुरा भए । उहिलेका कुरा खुइले । तर कुरा खुइलिएर के गर्नू ? बुद्धि जस्ताको तस्तै छ । खुइलिएको छैन । शहरका साइनबोर्ड नियाल्ने नानीदेखिको बानी अहिलेसम्म छुटेको छैन । हुन त यी साइनबोर्ड हेर्नकै लागि राखिएका हुन् । पढाउनकै लागि राखिएका हुन् । उद्देश्य भने विज्ञापन । कुराको जानकारी । तर अर्थको अनर्थ अर्थात् मानेको अमाने लाग्ने विज्ञापन देखेपछि भने मलाई अहिले पनि भाउन्न हुन्छ ।

यसरी हेर्दैमा भाउन्निने अचेलको एउटा विज्ञापन हो– ‘बाजेको सेकुवा ।’ केही वर्र्ष यता ‘बाजेको सेकुवा’ लेखेका यस्ता विज्ञापनी साइनबोर्ड शहरका ठाउँठाउँमा देख्न पाइन्छ । लाग्छ– खसीको सेकुवा, कुखुराको सेकुवा, बङगुर, बँदेल, हाँस आदिइत्यादिको सेकुवाले अघाएका सेकुवाप्रेमीहरू आजभोलि बाजेको सेकुवा खान निकै पल्केका छन् ।

यस्तो साइनबोर्ड देख्न थालेपछि म भने आफैं रनभुल्लमा पर्न थालेको छु । कसैलाई सोध्ने आँट पनि गरेको छैन । लेखाइमा कुनै गडबडी छैन । प्रस्टैसँग लेखेको छ– ‘बाजेको सेकुवा ।’ झुक्किनु पर्ने कारण छैन । यसो अगाडि गयो भने गन्ध (खानेका लागि सुगन्ध) पनि कस्तो कस्तो आउँछ । सोध्न पनि के सोध्नू ? मभन्दा लाटाले पनि बुझ्ने कुरो खसीको सेकुवा भनेका ठाउँमा खसीको सेकुवा पाएजस्तै ‘बाजेको सेकुवा’ भनेका ठाउँमा ‘बाजेको सेकुवा’ पाइन्छ । अरुथोक पाइने कुरै भएन । अनि सोध्नु पर्ने कुरो पो के रह्यो र ?

मान्छेमा आत्मविश्वास नभएपछि एउटै कुरामा ऊ अडिन सक्तैन । आत्मविश्वास नै नभएपछि कसको के लाग्छ ? म पनि त्यही वर्गमा परेँ । अनि एकदिन यस्तो खसखस मनमा पाल्नभन्दा कसैलाई सोध्नु बेस भन्ने निर्णयमा पुगेँ । तर सोध्ने कसलाई ? जो कोहीलाई सोध्ने हिम्मत भएन । त्यहीँबाट खाएर निस्कनेलाई पनि कसरी सोध्नू ? ‘तपाईंले के खाएर आउनु भो ?’ भनेर सोधूँ भने ‘म जेसुकै खाऊँ तँलाई के मतलब ?’ भन्ला । नयाँ नेपालका मान्छे न हुन् । कहिलेसम्मलाई हो ? छोइसक्नु कोही छैनन् । ‘तपाईंले बाजेको सेकुवा खाएर आउनु भा’हो ?’ भनेर सोधूँ भने ‘के भनिस् रे ?’ भनेर बङ्गारा खुस्कने गरी गालामा चड्काउला भत्रे डर ।

म निकै दोमनमा परेँ । तै त्यही छेउमा झट्ट एउटा पुरानो साथी भेटियो । दस कक्षासम्म सँगै पढेको । संयोगले म पटके एसएलसी, ऊ अन्डर एसएलसी । पाठ्यक्रमका कुरा भए मैले उसलाई सोध्न डराउनु पथ्र्यो । तर मैले सोध्न खोजेको कुरो त्यस्तो थिएन । त्यसैले सोधिहालेँ– ‘वई, त्यो ‘बाजेको सेकुवा’ भनेर लेखेको ठाउँमा के पाइन्छ हँ ?’

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उसले भन्यो– ‘धत् ग्वाँजे लाटा ! ‘बाजेको सेकुवा’ भनेका ठाउँमा के पाइन्छ ? ‘बाजेको सेकुवा’ पाइन्छ नि ।’ ‘कि तैँले त्यहाँभित्र जेरीस्वारी, पुरीतरकारी पाइन्छ भन्ठान्याछस् ? मूर्ख कहीँको, यस्तो पनि सोध्ने हो ?’

लाटो र सोझो त थिएँ थिएँ, यति सोध्नाले लाटाको अगाडि ‘ग्वाँजे’ विशेषण र मूर्खको थप उपाधि पनि मैलाई आइलाग्यो । यसरी तीनतीनवटा उपाधि पाइसकेपछि मेरो त उपाधिमा ‘ह्याट्रिक’ भो भन्ने सम्झेर झन् दङ परेँ । त्यसैले बढी बोल्नेतिर नलागी खरखरती आफ्नो बाटो लागेँ ।

मनको खसखस न हो, अर्काले हप्काउँदैमा के मेटिन्थ्यो ? मेटिएन । एकदिन ‘बाजे’ को मैले जानेबुझेभन्दा अरु केही बढी अर्थ पनि र’छ कि ? भनेर नेपाली शब्दकोश पल्टाएँ । त्यहाँ पनि मैले जानेभन्दा बढी केही रहेनछ– ‘आमा वा बाबुका बाबु’, ‘ससुरो’, ‘ब्राम्हणलाई आदर जनाउन प्रयोग गरिने शब्द ।’ बस् । सेकुवाको अर्थ हेर्नै परेन जोसुकैलाई थाहा छ ।

म अब झन् रन्थनिन थालेँ । निन्द्रा अनिन्द्रा जतिखेर पनि मेरो मनमा त्यही घुमिरहन थाल्यो । ‘बाजेको सेकुवा !’ ‘बाजेको सेकुवा !!’ तर पछिपछि भएपछि आफैंले आफैंलाई गाली गर्दै सम्झाउन थालेँ । ‘धत् लाटा ! जरायोदेखि खरायोसम्म, बङ्गुरदेखि सुङगुरसम्म, बट्टाईदेखि लट्टाईसम्म पाइने यत्रो शहरमा यसो कतैकतै ‘बाजेको सेकुवा’ पाउनु कुन अनौठो भो र ?’

कुरो अझै टुङ्गिएको छैन । एकदिन यसो घुम्दै जाँदा संसद्भवन अगाडि उभिन पुगेछु । मुलुकको संविधान बन्दै गरेको नेपाली मात्रको पवित्र भूमि । मनमनै प्रणाम गरेँ । म उभिएछेउबाट अलिक पर एउटा कोठाभित्र भरखरै गधापच्चीसी नाघेजस्ता देखिने दुईचारजना ठिटाठिटीबीच निकै चर्काचर्की बहस भइरहेको देखेँ । सुनेँ– ‘उही ‘बाजेको सेकुवा’ का कुरा ।’ अनि– मलाई मात्र होइन, अनौठा कुरा सबैलाई अनौठै लाग्ने रहेछ । म मात्र लाटो भनेको त यी पनि लाटै रहेछन् जस्तो लाग्यो ।

अगाडि केके कुरामा बहस भइसकेको थियो मैले चाल पाइन । भरखर पुगेको मान्छेले अगाडिका कुरा चाल पाउने कुरो पनि भएन । नसुनेका कुरामा जथाभावी अनुमान पनि किन लगाउनू ? तर सुनेका कुरा भने गर्नै पर्छ । चर्काचर्कीमा उपस्थित मध्ये एउटा केटो निकै जोसका लागि औँला ठड्याएर कुर्लंर्दै भन्दै थियो– ‘बाजे हो, अब तिम्रा दिन गए । अब तिम्रा (बाजेको) सेकुवा मात्र होइन भुटन, छोयला, फ्राई, कचिला, मम सबै बन्छ । पख न मुलुकको नयाँ संविधान त लेखिसकियोस्, अनि चाल पाउँछौ । आज ‘बाजेको सेकुवा’ देख्दा आत्तिनेहरूले भोलि ‘बाजेको भुटन’, ‘बाजेको छोयला’, ‘बाजेको कचिला’, ‘बाजेको मम’, आदिइत्यादि सबै देख्न पाउनेछौ । यतिखेर राज्यका हर्ताकर्ता भएर सत्रतिर नाचिहिँड्दा त स्वेच्छाले सेकुवा बन्न थालेका तिमीहरूको राज्यबिहीन भएपछि के हबिगत होला ? हेर्दै गरन ।

कुरो सुन्दा मेरो पनि आङ जुरुङ्ग भयो । अनि, ‘त्यसरी कुलिर्ने मान्छे को रहेछ ?’ भनेर खुसुक्क सोधखोज गरेँ । मुलुकको संविधान लेख्ने ठूलो मान्छे त त्यही पो रहेछ ! त्यस्तो ठूलो मान्छेसँग म जस्तो लाटाले भेटेर वादविवाद गर्ने कुरो आउँदैआएन । त्यसमाथि ऊ कोठाभित्र, म बाहिर । नबोलीकन लुखुरलुखुर आफ्नो बाटो लागेँ । तर यति सुनिसकेपछि म एकमनले ढुक्क भने भएँ । कमसेकम सबैका लागि स्वादिष्ट जनप्रिय छोयला–कचिलामा त बिकिने भइयो । त्यसै त खेर जाने भइएन नि ! यो पनि बाजेहरूका लागि फाइदाकै कुरा हो !!

काठमाडौं
(समकालिन साहित्य डटकमबाट)