एक पटकको कुरा हो– कैलाश पर्वतमा बस्दा बस्दा पार्वतीले दिक्क भएर आफ्ना पतिदेव शिवसँग मर्त्यलोकतिर घुम्न जाने इच्छा व्यक्त गरिछन् । गाँजा, भाङ र धतुरोले लठ्ठ भएका सन्काहा शिवजीले पार्वतीको प्रस्तावलाई तुरुन्तै स्वीकार गरेछन् । अब उनीहरू जोगी जोगिनीको भेष धारण गरेर मत्र्यमण्डल अन्तर्गतको नेपाल भन्ने देशतिर झरेछन् । झरी बर्खा, घाम पानी केही नभनी उनीहरू यत्रतत्र घुम्न थालेछन् । घुम्दा घुम्दा ज्यादै थकित भएर साँझ परेपछि उनीहरू एउटा पिपलको चौतारोमा पुगेछन् । शिवजीलाई भाङ धतुरो बेसरी लागेको हुँदा तुरून्तै निद्रा परेछ र उनी त्यही चौतारोमा ढल्किएर घुर्न थालेछन् । बिलखबन्दमा परेकी पार्वती भने पतिदेवको नजिकै बसिछन् । रात पनि गहिरिदै गयो । त्यत्तिकै पार्वती उङ्दै र झुल्दै रात सर्लक्क बितेछ । कुखुराका भाले कराउन थाले तै पनि शिवजीको निद्रा खुलेनछ ।

बिहान उज्यालो भैसकेपछि चौतारो आसपासका किसानहरू खेतिपातीका काममा निस्किएछन् । बल्लतल्ल शिव झल्याँस्स भएर ब्युँझिँदा त दस बजिसकेको रहेछ । गाउँ छेउको चौतारोमा अनौठो खालका जोगी र जोगिनीलाई देखेर एकजना किसानले श्रद्धापूर्वक आफ्ना घरमा लिएर गएछन् । उनीहरूको सेवा सत्कार गर्दै खानपिन गराएछन् । भान्सा उठ्न नपाउँदै किसानकी पत्नीलाई सुत्केरी व्यथाले च्याप्न थालेछ । पार्वती स्वयम् पनि महिला भएकी हुँदा ती किसान पत्नीको पीडाले उनलाई समेत चिन्तित पारेछ । उनले शिवजीलाई विनम्र भावमा बिन्ती गरिछन्– “स्वामि, बच्चा जन्माउन महिला र पुरूष दुवैको भूमिका बराबरी हुन्छ तर महिलाले नै पेटमा बच्चा राख्नु पर्ने, व्यथा पनि महिलालाई लाग्नु पर्ने, यो त साह्रै अन्याय भयो । त्यसकारण महिलाले बच्चा पेटमा राखेपछि सुतकेरी हुने बेलामा व्यथा चाहिँ पुरुषलाई लाग्ने परिबन्द मिलाइदिए कमसेकम बच्चा जन्माउने पीडा दुवैले अनुभव गर्ने थिए । महिलालाई अलिकति भए पनि राहत हुने थियो ।”

पार्वतीको यस्तो कुरा सुनेर शिवजीले भनेछन्– “प्रिय पार्वती, यस्तो कुरा नगर । प्रकृतिले जसलाई जे दिएको छ । त्यही हुन्छ । प्रकृतिले दिएको कुराभन्दा बाहिर जान खोज्दा अनर्थ हुन सक्छ ।”

शिवजीको जवाफ पछि पनि पार्वतीले जिद्धी गर्न छोडिनछिन् । “हैन स्वामि, कम्तीमा पनि व्यथा लाग्ने कुरा चाहिँ पुरुषलाई नै लाग्ने प्रपञ्च मिलाई बक्सियोस् । हजुरले चाहेपछि नहुने के पो छ र ?”

पार्वतीको जिद्धीबाट हार खाएका शिवले “लौ त लौ तथास्तु !” भनि दिएछन् । शिवको तथास्तु हुनासाथ ती किसान पत्नीको व्यथा कम हुन थाल्यो । तर अनर्थको कुरा त के भयो भने उनका पति किसानलाई व्यथा नलागी बारीमा हलो जोतिरहेको हलीलाई पो सुत्केरी व्यथाले च्याप्न थालेछ । ऊ बारीमै फत्र्याक फत्र्याक गर्न लागेछ । यस्तो किन भयो, सुत्केरी व्यथा लागेकी महिलाका पतिलाई लाग्नु पर्ने व्यथा आफ्नो घरमा राखिएको हलीलाई लागेको चाल पाएपछि पार्वतीले ध्यानदृष्टिले विचार गरिछन् । कुरा गडबड भएको थाहा पाएर “लौ यस्तो कुराले त गोपनीयता भङ्ग हुने, घर भाँडिने, सामाजिक मर्यादामा गम्भीर आँच आउने सम्भावना पो रहेछ ।” त्यसपछि हत्तनपत्त पार्वतीले शिवजीसँग भनिछन्– “हैन, प्रभु ! यो त बित्याँसै पर्ने रहेछ । त्यसैले यो प्रपञ्च तुरून्तै फिर्ता लिई बक्सियोस् ।”

पार्वतीको यस्तो कुरा सुनेर महादेव खित्काका छाड्दै हा... हा.. हा... हाँसेछन् । अनि भनेछन्– “देख्यौ त प्रिय, प्रकृतिले जसलाई जे दिएको छ, त्यो विपरित जाने दुस्साहस कसैले गर्नु हुँदैन । कसैले गरिहाल्यो भने मर्त्यलोकमा ठूलो बिपत्ति आइ पर्छ ।”

यस घटनापछि मर्त्यलोकमा अब कहिल्यै पनि लोग्नेमान्छेलाई सुत्केरी व्यथा नलागेर महिलालाई मात्र लाग्न थालेको हो भन्ने भनाइ छ । तपाइँ पत्याए पत्याउनोस्, नपत्याए नपत्याउनोस्, कुरो यै हो बुझे भैगो ।

जामुने, तनहुँ, हाल : म्हेपी काठमाडौं