जुन बखत मदन पुरस्कार हत्याउन सफल भएको ‘स्रष्टा र साहित्य’ प्रकाशित भई जनसमक्ष आयो, यस अन्तर्वार्तासँग सम्बद्ध फिस्टे साहित्यकार श्रीमान् गोतामेजी साहित्यको गर्भमा नै हुनुहुन्थ्यो । उहाँको उदय भएको पनि वषौँ बिते, ‘स्रष्टा र साहित्य’ पाराको अर्को ग्रन्थ निस्कने कुनै चाँजापाँचो देखिएन । फाइँफुट्टीराज भनाउँदो बज्जियेलाई होटेलमा लगी हर्खेको बाबुको सराद्धे ख्वाएसरह भुँडी फुटिन्जेल डिनर घिचाउँदा पनि एउटा बहिर्वार्ता लेखिदिन अझै पनि भोलि–भोलि भनी घुस माग्दै छ । आफ्नो हात–खुट्टा सद्दे छउन्जेल फाइँफुट्टीराजको चाकडी किन गरुँ भनी आफ्नो अभिनन्दनग्रन्थ आफैं प्रस्तुत गर्दैछु–

लामो कद, एकोहोरो जीउ, भैंसीका झैं ट्वाल्ल परेका आँखा, ठुस्स परेको मुखचन्द्र, झुसझुसे दारी भएको चायाँ परेको गाला, कालो फ्रेमवाल चश्मा चौबीसे घण्टा लगाउनुपर्ने, ठस्सावाल र स्वनामधन्य एवं दमैं–कामीको झैं मिजास भएका व्यङ्ग्यकार श्रीमान् गोतामेजीसँग दर्शनभेट पाउने कुप्रवृत्ति उदाएमा पुरनो भन्सारस्थित सार्वजनिक शौचालयको बायाँपट्टि पर्ने, नरकका टोल–छिमेकीहरूलार्य नाक छोप्न बाध्य गराउने एवं नरकको राजधानी कुम्भीपाक भन्ने शहरलाई समेत लाज र ‘पुराणस्थान’ भन्ने उपनाम भएको घर मूलढोकभित्र पसी अँध्यारो छिँडीमा उभ्भेर (टाउको ठाडो गरेर उभियो भने दलिनलाई म्वाइँ खाई टुटिल्को आर्जन गर्नुपर्नेछ । योगमुद्रामा गोडा पन्ध्रेक पटक नाभिदेखिको बल झिकेर उहाँको शुभनामको उच्चारण गरिसकेपछि मात्र ‘माथि पाल्नोस्’ भन्ने नारीकण्ठबाट निःसृत घोक्रे स्वरलहरी श्रवण गर्न पाइन्छ भन्ने बेहोरा चाकडी गराउन पल्केका फाइँफुट्टीराज र तिनका शाखासन्तान सबैलाई थाहा छ ।

पाकोपोखल्ड्याङ । गोतामेको निवास–स्थान । शब्दद्वारा अभिव्यक्त गर्न नसकिने पाराको एउटा फोहोर कोठा । एउटा कुनामा गोतामेजीको ओछ्यान । त्यसको लगत्तै उहाँकी अङ्कशायिनीको शøया देखिन्छ । त्यो देखावटी ओछ्यान मात्र हो, सुत्न चाहिँ ती दुवै प्राणी एउटै आटमा सुत्छन् तर बाहिरबाट पदार्पण गर्नेहरूको आँखामा छारो हाल्न जगेडा ओछ्यान ओछ्याइएको छ । त्यसको प्रमाण के भने माघ महिनामा म उनको घरमा जाँदा पनि एउटा सिरकभन्दा त्यस कोठामा बढी मैले अरू कुनै ओढ्ने देखिनँ । अनि मूतका टाटा स्पष्ट देखिने र डुङडुङती गनाउने गोडा चारएक ससाना लम्पट आकारका डसनाहरूमा उहाँका उत्तराधिकारीहरू प्रगाढ निद्रामा मस्त थिए । जेठी चाहिँ छोरी यसरी घुमिरहेकी थिई कि मियाँ तानसेन जिउँदै रहेका भए उससँग राग सिक्न आउँथे, होलान् । ओछ्यानसँगै जोरिएको एउटा झ्यालको पेटीमा स्टोभमाथि चियाको केतली बफाइरहेको । एउटा मुठी चिनी र अर्कोतिर एक चिम्ती धुलो चिया । खुट्टापट्टिको भित्री ढोकाको संघारमा भरिनै आँटेको एउटा आल्मुनिको कोपरा र तान्चिनको लोटामा पानी । दुई वटा जीर्णप्रायः झुल । झुलको सप्कोलाई मास्तिर सिउरी महान् व्यङ्ग्यकारजी ‘साहित्य सज्जित– ईशान कोणको तना काई परेको रातो रिबन, वायव्यको तना बुटजुत्ताको फित्ता, (यस कोणको नाम भुसुक्कै बिर्सें) खिप चुँडेको कम्मरपेटी । झुलको कलात्मक शृङ्कारले उहाँकी श्रीमतीको एब्स्ट्र्याक्सन कलाप्रतिको असीम श्रद्धा र काममा मर्यादित रूपमा उपयोग गरिन्छ । त्यस सेफ जसलाई अचेल मेचको गोतामे रद्दी पत्रिकाका पाताहरूको सदुपयोग गर्दै किराना दोकानको निम्ति कागजको थैलो (थोँगा)को उत्पादन गर्नमा व्यस्त हुनुहुन्थ्यो ।

‘चियाको पानी उम्ल्यो कि ? हेर बज्यै’ मेरो स्वागतार्थ आफ्नो ओछ्यानको तन्ना मिलाई दुवै हातले लुङ्गीको गाँठो कस्दै गोतामेजी उभिनुभयो । ‘नमस्ते’ पर्खने उहाँको पुरानो सोमतदेखि म परिचित रहेकोले पहिले मैले नै नमस्ते गरेँ । उहाँले यतिन्जेलमा हाम्रो सामु श्रीमती गोतामे जसलाई बाह्रै महिना बाह्रै साल रुघा लागिरहेको हुन्छ, ले चियाको गिलाँस ठ्यास्स ठस्काउनुभयो । उहाँ आधुनिक पाहुनादेखि आजित भइसक्नुभएको छ । फर्सीको झोल जस्तो चियाको चुस्की लिँदै म झटपट विषयवस्तुमा हामफालिहालेँ ।

‘साँच्चि, तपाईंं यति चाँडो कसरी यति विध्न प्रसिद्ध हुनुभयो ?’
‘प्रसिद्धि पाउन पुर्पुरोमा लेखिनु पर्दैन, न त यसको निम्ति मिहिनेत नै गर्नुपर्दछ । यो त व्यक्तिगत शिल्पमा आधारित छ, अर्कोलाई गाली गरी आफू ठूलो हुने शिल्प झैं एउटा गाडाका दुई पाङ्ग्रा हुन् ।’

‘इन्ष्ट्रेरिङ, भन्दै म ओछ्यानलाई सामन्ती लेखककहाँको कउच ठानेर बुर्लुक्क उफ्रिएँ तर चारपाटेमुनि विराजमान भएका उपियाँहरूले मलाई थामथुप पारे । उपियाँले डसेको ठाउँमा कन्याउँदै मैले अर्को प्रश्नरूपी गोली पड्काएँ, ‘साँच्चि, तपाईंं साहित्यतिर कसरी आउनुभयो ?’

‘म साहित्यतिर आएको होइन, साहित्य नै मकहाँ आएको । मभन्दा पनि पटमूर्खहरूका रचना पत्रपत्रिकाहरूमा ससम्मान छापिएको देखेर ममा स्वाभिमान जाग्यो । यसैबीच २०२५ साल माघे संक्रान्तिको कुरो हो, भँडारखालमा एउटा पिकनिक आयोजित गरिएको थियो । त्यसै दिन मैले जात फालेँ र साहित्य सिर्जना गर्ने प्रेरणा ग्रहण गरेँ । मेरा विद्धान् साहित्यिक मित्रहरूले मलाई बेस्मारी जाँड धोकाए । घर फर्किँदा जाँडकै सुरमा एउटा रचना तयार गरी श्रीमतीलार्य सुनाएँ, निक्कै प्रशंसा गरिन् । त्यसपछि सरसापट, ऐँचोपैँचो र मर्दापर्दा भरथेग गर्ने एउटा सम्पादककहाँ गएर धर्ना कसी रचना छपाउन लगाएँ, त्यस बेलादेखि नेपाली साहित्यलाई मैले जे जति रिन बोकाएको छु त्यो कसलाई पो थाहा छैन र ?’

‘तपाईंं धेरैजसो जाँड–रक्सीबारे नै लेख्नुहुन्छ, किन ?’ म उहाँको आन्द्रा–भुँडी खोतल्ने सुरमा थिएँ ।
‘हो, जाँड नै मेरो पथप्रदर्शक हो, त्यसैले म जाँडको घ्याम्पोमा डुम्न चाहन्छु, बहुसंख्यक साहित्यकारहरू चाहन्छन् । तर हिजोआज गाँजा र चरेसको समेत चस्का लागेकोले अम्मलमा झैं साहित्यमा पनि नयाँ नयाँ प्रयोग गर्दैछु ।’ तर भर्खर रचना गर्न लाग्नुभएको एउटा कविताको पहिलो पाउ पाठ गर्दै उहाँ गर्जन थाल्नुभयो–
बेलबटम, बेलबटम, बेलबटम, बेलबटम,
आधुनिककताको यही नै हो तिकडम
कि त कविलाई हुन्छ क्यान्सर
कि हुन्छ पाठकहरूको खेल खत्तम

उहाँलाई अर्को हरफ पाठ गर्ने कष्ठ नदिई प्रशंसाभावमा विभोर हुँदै मैले भनेँ, ‘वन्डरफुल ! एक्सेलेन्ट ! आधुनिक कविताको रचना गर्दा समेत छन्दको मर्यादा भङ्ग नगर्नु तपाईंंको, वैशिष्ट्य हो ।’ उहाँ मक्ख पर्नुभयो र मौकाको फाइदा उठाई मैले अर्को प्रश्न ठोकिहालेँ, ‘प्रज्ञा–प्रतिष्ठानको र मदन–पुस्कार गुठीबारे केही गुनासो र आलोचना सुन्ने मेरो साह्रै घिडघिडो थियो, कृतार्थ गरिदिनुहुन्छ कि ?’

‘अवश्य, तपाईंंका यी तपाईंंका, यी रैथाने र साहित्यक भनाउँदा प्रश्नहरूले गर्दा अन्तर्वार्ता दिने मेरो मुड नै बिलाइसकेको थियो । अन्यथा यो मुडमा त म २४सैं घन्टा रहन्छु ।’ अनि वीर–रसको कविता पाट गरेझैं उहाँ भन्न थाल्नुभयो, ‘हेर्नाेस्, म तटस्थ मान्छे । मलाई ‘मद पुरस्कार’ पनि चाहिएको छ र प्रज्ञा–प्रतिष्ठानमा यथायोग्य पद पनि चाहिएको भयो । यी दुई थोक मैले नपाउन्जेल म साहित्यिक रूपले सन्तुष्ट हुन सक्तिनँ, तसर्थ प्रसङ्ग आउनासाथ सम्बन्धित संस्थाको र त्यसमाथि पनि त्यससँग सम्बन्धित व्यक्तिविशेषको उछित्तो गरी खोइरो खन्नमा म कदापि पछि हट्नेछैन, र यो नै मेरो साहित्यिक दृढ संकल्प हो ।’

‘मानिसमा इख र सर्पमा बिख नभए काम पनि त के लाग्यो र ?’ बल्दो आगोमा यो अर्ती चाहिँ मेरो सानो घिउ थपाइ थियो । मैले दिएको अर्तीको प्रतिक्रिया उहाँले जाहेर गर्न नपाउँदै मैले अर्को दनक कसिहालेँ, ‘तपाईंंको लेख्ने मुड र शैली ?’

‘ख्वाक्क’ खोकेर खकारलाई प्रेमपूर्वक मुखभित्र नै सञ्चि राखी उहाँले जवाफ दिनुभयो, ‘चुरोट र चिया पाए जहिले पनि लेख्ने मुड आउँछ । शैलीको हकमा भने मेरो शैलीसँग शैलीको शैली मिल्दछ ।’ र मेरो आँखा छल्ने असफल प्रयत्न गर्दै पूर्वसञ्चित खकारलाई घुटुक्क उदरस्थ गरी चुरोटको खोजीमा उहाँले आफ्नो तकिया पल्टाउनुभयो तर चुरोटको सट्टा त्यहाँ कपाल च्याप्ने काँटा, साँचोको झुत्तो बाहेक अरू थियो नै के र ? स्थितिको गम्भीरतालाई ढाकछोप गर्दै मैरे आफ्नो बगालीबाट एउटा चुरोट झिकेर तेस्र्याएँ र उहाँलाई धूप दिने काम सम्पन्न गरेँ । यत्तिकैमा कोठाभरि दुर्गन्ध व्याप्त भयो– व्यङ्ग्यकारज्यूका कनिष्ठ पुत्रले ओछ्यानमै सुतीसुती हाम्रो वार्तालापप्रति व्यङ्ग्य गरेछन् । गोतामेनी बज्यै आएर भविष्यका कर्णधारलाई लछारपछार पार्दै बिटुलिएको ओछ्यान समेत उठाएर बाहिर लग्नुभयो । मुक्तिको सास फेर्दै अर्को प्रश्न गरिहालेँ, ‘साहित्य केका लागि ?’

‘दुई छाक मस्त खान पाउनेहरूको भनाइलाई मान्ने हो भने यो समाजको निम्ति हो तर म चाहिँ समाजभन्दा पेटलाई बढी महत्व दिने हुँदा एउटा आँखाले मदन पुरस्कार र अर्को आँखाले प्रज्ञाप्रतिष्ठानलाई हेर्दै धर्ना कसेर बसेको छु । कहिलेकाहिँ त मेरो पनि देवकोटाको नै गति हुन्छ कि भन्ने त्रास छ । तसर्थ मेरो निम्ति साहित्य ‘पेट’ को लागि नै हो ।’

मैले प्रश्नरूपी प्रक्षेप्यास्त्र फेरि प्रक्षेपित गरेँ, ‘तपाईंंलाई मन पर्ने व्यङ्ग्यकारहरू ?’
‘मैले अघि नै भनिसकेँ, म तटस्थ मान्छे एकदमै गुटविहनि । व्यङ्ग्यकारहरूमा सर्वश्रेष्ठ चाहिँ म नै हुँ, मपछाडि गोडा चारएक सिकारुहरूको नाउँ आउँछ, तर सगोत्रीको नाउँ लिएर म आफ्ना साहित्यिक जजमानहरूको सङ्ख्या घटाउन चाहन्न ।’

उहाँको भनाइको उदात्तताबाट मलाई अर्को प्रश्न पनि सोधूँ सोधूँ भन्ने सकसक लागेर अयो, ‘तपाईंंका कृतिहरूमध्ये सर्वश्रेष्ठ चाहिँ कुन हो ?’

उहाँले घोषणा गर्नुभयो, ‘मेरा तीन ग्रन्थहरू प्रकाशमा आएका छन् । एउटाको नाम ‘मपाईं’ र अर्कोको नाम हो ‘जदौ’, तेस्रो गन्थ हो ‘कायनवाचा’ । ‘मपाईं’ भन्ने किताप छाप्ने प्रकाशकको अनुहार किताप छाप्न बेहोरेको खच असुलउपर नभई सुकीटाट भइसकेको र शहरको घर बेची वर्षैपिच्छे काँठमा जग्गा किनी घर बनाउँछन् । ‘जदौ’ भन्ने अर्को किताप चाहिँ स्वास्नीको सुत्केरी खर्च टार्न लेखेको र त्यसमा धेरैजसो कीर्ते काम भएकोले त्यसमा प्रकाशकलाई रू. २००।– मा बेची सर्वाधिकार नै राजीनामा गरी रजिष्ट्रेसन समेत पास भइसकेको छ । तेस्रो चाहिँको लोकप्रियता त त्यसको नाउँले नै बताइहाल्छ । तपाईंंलाई सुटुक्क भन्छु– यी सब कितापको दाम त्यति महँगो छैन तर कितापको साहित्यिक मूल्य भने तीन कौडीको पनि छैन । सबैजसो पुस्तकका भूमिका लेख्ने ठेकेदारहरूले के देखेर त्यति राम्रो भूकिा लेखे कुन्नि ? त्यो जवाफ दिने काम भूमिका–लेखकको हो ।’
‘तपाईंं कसका कृतिहरू बढी मन पराउनुहुन्छ ?

उहाँले जङ्गिदै भन्नुभयो, ‘म बाहेक यो देशमा लेखक भन्न सुहाउने अरू को छ ? तपाईंँ पनि क्या ‘बाख्री हाँस्या’ जस्तो प्रश्न सोध्नुहुन्छ । म नै सर्वश्रेष्ठ लेखक हुँ, मैले अहिलेसम्म जे लेखेँ र भविष्यमा जे लेख्नेछु ती नै मेरा मन परेका कृति हुनेछन् । अरू भारेभुरेहरूले लेखेको कृतिलाई म मन पराउन्न ।’
‘धन्यवाद’, भन्दै म उठेँ र टाप सकिहालेँ ।
किनभने यत्रो अन्तर्वार्ता दिएपछि पारिश्रमिकको निम्ति मेरो कठालो समाउलान् कि भन्ने डरले मेरो सातो उड्न लागिसकेको थियो । कारण के भने पारिश्रमिक नलिई एक धर्को पनि नकोर्ने द्रव्यपिशाच लेखकमा उनी दरिएका छन् ।

‘मपाइँ’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट