कसको बाबु ठूलो ?
‘निलम ! आज घरबाट चिठी आएको रहेछ । बुबा ज्यादै बिरामी हुनुहुन्छ रे ! दशैँ मान्न पनि हुने, बुबालाई हेर्न पनि हुने, भोलि घर जानुप¥यो । सके तिमी पनि हिँड, नभए म मात्रै भए पनि जान्छु ।’ विमलले श्रीमतीसँग भन्यो ।
‘आ ! पर्वतसम्म कसरी जाने ? कुस्माबाट पनि ३÷४ घण्टा हिँड्नुपर्ने रहेछ । म त जान्न । तिमी पनि नजाऊ । म यहाँ एक्लै बस्न सक्तिन ।’
‘तिम्रा दाइ–भाउज्यू यहाँ हुनुहुन्छ त्यहीँ बस । म दशैंपछि तुरुन्तै आउँछु ।’
‘हुन्न म दाइकहाँ पनि बस्दिन, घर पनि जान सक्तिन । तिम्रो बुबालाई केही हुन्न, सञ्चो भइहाल्छ । तिमी पनि नजाऊ ।’ विमल केही बोल्न सकेन, कुनै निश्चय नगरी सुत्यो ।
अर्को दिन बिहान निलमको माइती उदयपुरबाट चिठी आयो । ‘बुबालाई राम्रो सञ्चो छैन, सकभर दशैंमा आए हुने थियो’ भन्ने लेखिएको रहेछ । निलमले रुँदै भनी–
‘बुबालाई सञ्चो छैन भनेको रहेछ । चाँडो खाना खाएर उदयपुर जाऊँ ।’
‘कुस्माबाट तीन घण्टाको बाटो हिँडेर घर जान नसक्ने मान्छे, गाईघाटबाट ९÷१० घण्टा हिँडेर माइत कसरी जान्छ्यौ ?’
‘बुबा बिरामी भएपछि नहिँडेर भयो त ?’
‘तिम्रो बुबाभन्दा मेरो बुबा बढी सिरियस हुनुहुन्छ । तिमी उदयपुर जाऊ म घर जान्छु ।’
‘त्यो कुरा नगर । म एक्लै जान सक्छु ? दिनभर हिँड्नु पर्छ । तिमी पनि हिँड । तिम्रो बुबालाई केही हुन्न ।’
‘बिरामी भएको बाबुलाई हेर्न नगएर ससुराली जाँदा समाजले के भन्ला ? विचार गर त !’
‘कसले के भन्छ ? चिठी आएन भनिदेऊ न ।’
‘हुलाकबाट पठाएको चिठी भए पो आएन भन्नु । मान्छेले ल्याएर हातैमा दिएको चिठी कसरी आएन भन्ने ?’
‘जे भन्ने भन, तर तिमी मसितै जानुपर्छ । नभए मलाई मायाँ मार्नुपर्छ ।’
श्रीमतीको धम्कीले विमल हच्क्यो । केही बोल्न सकेन । केही बेर विचार गरेपछि ससुराली नै जाने निश्चय गर्यो ।
धुमबाराही, काठमाडौं